दोस्रो चरणको निर्वाचन भएका ३३४ मध्ये ३०४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा केही स्थानमा अनपेक्षित नतिजा आउँदा उमेदवार अचम्मित भए भने कतिपय ठाउँमा झिनो मतान्तरले पराजित हुँदा निकटतम प्रतिद्धन्द्वीले पछुतो माने ।
सबैभन्दा रोचक त झापाको कमल गाउँपालिकामा एमालेका अध्यक्ष उमेदवार मेनुका काफ्ले र कांग्रेस उमेदवार हकुमसिंह राईले समान ८ हजार २७५ मत ल्याए ।
जनताले दिएको मत बराबर भएपनि निर्वाचन ऐनअनुसार गोलाप्रथाबाट एमाले उमेदवार मेनुका विजयी घोषित भइन् । उनी जनताको मतका अलवा भाग्य जाँच गर्दा समेत विजयी भइन् ।
त्यसैगरी अछामको चौरपाटी गाउँपालिकामा एमाले उमेदावर हर्कबहादुर साउद १ मतले अध्यक्ष हुन सफल भए । सुरुदेखि नै निकै प्रतिस्पर्धा भइरहेको चौरपाटीमा अन्तिम २ भोट गणना हुन बाँकी छँदा समेत कसले जित्ला भन्ने हुटहुटी नै रह्यो । तर
अन्ततः कांग्रेस उमेदवार भीम साउदले ३१३७ अर्थात् एमाले उमेदवारले भन्दा १ मत मात्रै कम ल्याउँदा पराजित भए ।
त्यस्तै, प्रदेश नं १ अन्तर्गतको चिशंखुगढी गाउँपालिकामा चिशंखुगढी गाउँपालिकामा माओवादी उमेदवार निशान्त शर्मा एमाले उमेदवार भीमबहादु्र थापामगरले भन्दा ३ मत बढी ल्याउँदै गाउँपालिका अध्यक्ष चुनिए । उनले १९०६ मत ल्याउँदा एमाले उमेदवार थापाले १९०३ मत ल्याए ।
उता, भोजपुरको राप्रससाद राई गाउँपालिकामा अधिकांश समय अग्रता लिइरहेका माओवादी उमेदवार चरणबहादुर राई ८ मतले पराजित भए । उनले सुरुमा २-३ सयको मतले अग्रता लिए ।
तर, अन्तिममा ८ मत ल्याउन नसक्दा २ हजार ३५६ मत ल्याएका एमाले उमेदवारभन्दा ८ मत अर्थात् २ हजार ३५८ मत ल्याउँदा पराजित हुन पुगे ।
त्यसैगरी २० मत कमले पराजित हुने अरु ६ जना तथा ५० मतले पराजित हुने १० भन्दा बढी छन् ।
अहिलेसम्म नतिजा प्राप्त तहमा अग्रता लिइरहेको एमालेले चिठ्ठादेखि कम मतले विजयी हुनेमा पनि अगाडि देखिएर भाग्यमानीसमेत सावित भएको छ ।



