कास्कीमा तिहारको अवसरमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर राती १० बजेसम्म मात्र देउसी भैलो नाचगान गर्न आदेश दिएको हो ।
तिहारको पूर्वसन्ध्यामा आदेश जारी गर्दै प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भूईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग र निकासी, ओसारपोसार नगर्न भनेको छ । प्रशासनले मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न र भीडभाडजन्य गतिविधि गरी समाजमा शान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न अनुरोध गरेको छ ।
देउसी भैलो कार्यक्रम सार्वजनिक यातायात र जनजीवनलाई असर नपर्ने गरी मर्यादित,अनुशासित रूपमा सञ्चालन गर्न गराउन आग्रह समेत गरिएको छ ।



