राजपाको नामबाट हुने गतिविधिले मात्र तराई मधेसलाई अस्थिर राख्ने सामथ्र्य गुमाएपछि नेपालस्थित भारतीय दूतावास नयाँ संयन्त्र निर्माणमा जुटेको छ । बुधवार कांग्रेस, माओवादी र राजपाका केही नेताको संयुक्त बैठक लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर संयन्त्र गठन र अवका कदमबारे छलफल गरेको हो ।
बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंह, माओवादीका तर्फबाट शहरी विकास मन्त्री रहेका प्रभु साह सहभागि थिए भने राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनील झा र शरदसिंह भण्डारी सामेल थिए । राजपालाई देखाएर अव तराई मधेसको प्रतिनिधित्व दावी गर्न नसकिने भएकाले कांग्रेस, माओवादी र अन्य दलका नेताहरुसमेत रहेको संयन्त्र बनाउनु आवश्यक रहेको बैठकले निश्कर्ष निकालेको सहभागि एक नेताले वताए । तराईबाट प्रतिनिधित्व गर्ने एमालेका नेतालाई पनि बैठकमा सहभागि गराउने प्रयास गरिए पनि सो प्रयास असफल भएको थियो ।
यस्तो संयन्त्र निर्माणको नेतृत्व कांग्रेस सांसद अमरेशले गर्ने र त्यसमा सकेसम्म सबै दललाई अटाउने समझदारी उनीहरुले गरेका थिए । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्न राजपाले मात्रै नसकेको र त्यसका लागि कांग्रेसका तराईमा सांसद र केन्द्रीय सदस्यहरुले मुख्य भूमिका खेलेको स्मरण गर्दै छलफलमा अवका कदमहरुमा राजपाले ‘स्टेप’ लिन नसकेका विषयमा कांग्रेस र माओवादीको संयन्त्रलाई पनि प्रयोग गर्ने समझदारी उनीहरुले गरेका थिए ।
उक्त संयन्त्रमा लागि कांग्रेस नेता बिमलेन्द्र निधिको पनि सहभागिता हुने भनिए पनि निधि प्रत्यक्ष रुपमा नभएर अप्रत्यक्ष रुपमा मात्रै सहभागि हुने टुंग्याइएको छ । असार १४ गते नै तोकिएको प्रदेश नम्बर २ को स्थानीय चुनाव असोजमा पुर्याउन निधिले कांग्रेस संयन्त्रलाई प्रयोग गरेकोप्रति बैठकमा खुसी ब्यक्त गरिएको थियो । बुधवार बेलुकी सवा नौ बजे सुरु भएको बैठकमा ‘मधेस आन्दोलन’ उठाउन राजपा एक्लैले नसक्ने भएको भन्दै कांग्रेस सांसद सिंहले विषय प्रवेश गराएको सहभागि नेताले वताए ।
सिंहले संविधान जारी गर्ने बेला पनि मधेस आन्दोलन उठ्ने सम्भावना नदेखिएपछि मधेसी मोर्चाको मात्रै भर नपरी आफू कैलालीको टीकापुरमा पुगेर आन्दोलनको आव्हान गरेको र त्यसपछि संविधान विरोधी आन्दोलन उठेको स्मरण गरेका थिए । कैलालीको टीकापुरमा ०७२ भदौ ७ गते नरसंहार हुनुअघि मधेसी मोर्चाले आयोजना गरेको सभामा कांग्रेस नेता सिंह मुख्य वक्ता थिए । उनीहरुले राज्य विरुद्ध घरेलु हतियार लिएर जाइलाग्न आव्हान गरेपछि टीकापुर नरसंहार भएको थियो । त्यस हिंसात्मक घटनापछि तराईका अन्य जिल्लामा राज्य मधेस विरोधी रहेको प्रचार गर्दै आन्दोलन गरिएको थियो ।
टीकापुर घटना, दुई वर्ष अगाडि भारतले गरेको नाकाबन्दी लगायतका विषयमा पनि समीक्षा गरिएको सो बैठकमा असोज २ गते हुने स्थानीय चुनावमा आवश्यक आर्थिक स्रोत उपलब्ध गराउन उनीहरुले भारतीय राजदूतलाई आग्रह गरेका थिए । भारतीय राजदूत मञ्जिवसिंह पुरीले भने राजपाले भाग नलिए पनि स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावी नतिजा प्रभावित पार्न कांग्रेस र माओवादीका नेताहरुलाई सहयोग गरेको वताएका थिए । उनले अव हुने चुनावमा आफूहरुले गर्ने सहयोग एमाले विरुद्ध एकमुष्ट रुपमा हुने आश्वासन दिएका थिए ।
तराईमा राजपा, कांग्रेस र माओवादीको जनाधार कमजोर बन्दै गएको र दुई वर्ष अघिदेखि एमालेलाई मधेस विरोधी भनी गरिएको प्रचार अव काम नलाग्ने अवस्थामा पुगेको उनीहरुले निश्कर्ष निकालेका थिए । ‘टीकापुर वा सप्तरीमा भएकोजस्तो घटना फेरि गरेर एमालेलाई मुछ्न सके मात्रै हो नत्र अव एमाले मधेस विरोधी भनेर पत्याउने अवस्था रहेन’ विगतको समीक्षा गर्दै कांग्रेस सांसद अमरेश सिंहले भने, ‘मधेसी समुदायको रगत तात्ने केही घटना आवश्यक छ, नत्र एमालेसँग सकिंदैन ।’ त्यसका लागि आवश्यक आर्थिक स्रोत र सुरक्षा प्रवन्ध चाहिने उनीहरुको निश्कर्ष थियो । तराईमा हिंसात्मक घटना गराउनेको सुरक्षा हुनेमा आश्वस्त रहन सिंहले आग्रह गरेका थिए ।
‘टीकापुरमा हामीले जे गर्यौं, तिनको सुरक्षा राज्यले नै लिइसक्यो, क्षति भएका साथीहरुलाई राज्यबाटै क्षतिपूर्ति भराईएको छ’ अमरेशको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेको गठबन्धन मधेसमा हुने कामको सुरक्षा यही गठबन्धन सरकारले गर्छ ।’
तराई मधेसमा अस्तित्वको संकट नै झेल्ने अवस्थामा पुगेको राजपाका दोस्रो तहका नेता एमालेसँग सम्बन्ध सुधार गर्न सक्रिय रहेका बेला त्यसलाई रोक्न पनि दूतावासले संयन्त्र बनाउन थालेको हो । भारतीय दूतावासले एमालेका मधेसी मुलका नेताहरुलाई पार्टी छाड्न दवाव दिनेसम्मको रणनीति अपनाएको छ । तर, एमालेका कुनै पनि तहका कार्यकर्ताले त्यसलाई अस्वीकार गर्दै आएका छन् । बरु राजपाको नेतृत्व तहमा रहेको ठूलै समुहले एमाले प्रवेश गर्ने तयारी गरेको छ ।



