नेपाली सेनाको एमआई–१७ हेलिकप्टर विमानस्थलमा अवतरण गऱ्यो । रनवेबाट गुडेर एप्रोन (यात्रु ओराल्ने र चढाउने ठाउँ) तर्फ आउँदै गरेको हेलिकप्टरको पछिपछि एउटा सेतो कुकुर दौडिदै आइपुग्यो । एप्रोनमा पुगेपछि हेलिकप्टरले इन्जिन बन्द गऱ्यो । केहीबेर विमानको वरिपरी घुमेको कुकुर केही पर गएर सुस्तायो ।
यात्रु ओरालिसकेपछि हेलिकप्टर उडनका लागि फेरी तयार भयो । पंखा घुम्दासम्म उक्त कुकुर विमान गुड्ने बाटोमै निर्धक्क सुतिरहेको थियो । जब कुकुरतिर सोझिएर हेलिकप्टर गुड्न थाल्यो । कुकुर एक्कासि आत्तियो र रनवेमा दौडिन थाल्यो । कुकुरकै पछिपछि गुडेको हेलिकप्टर एप्रोनबाट दायाँ मोडिएर टेकअफ गर्याे । कुकुर भने बायाँतर्फको रनवेमा दौडिरहेको थियो । बझाङको देवल विमानस्थलमा देखिएको यो दृश्यको ख्याल न त्यहाँ उपस्थित सुरक्षाकर्मीले गरे । न त विमानका चालक दलले नै । संयोगले कुकुर बाँयातर्फ गयो, कुनै अप्रिय घटना भएन ।
सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै संवेदनशील र उच्च सुरक्षा सर्तकता हुनुपर्ने बझाङ विमानस्थलमा भने यस्ता दृश्य दिनहुँजसो देखिने गरेका छन् । विमान उडान र अवतरण भइरहेकै समयमा मानिस र पशु चौपायाहरुको ओहोरदोहोर बढ्न थालेपछि विमानस्थलमा सुरक्षा जोखिम हुने भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।
जयपृथ्वी नगरपालिकावडा नं, ९ देवलमा रहेको विमानस्थलमा लगाइएको तारबार काटेर स्थानिय बासिन्दा र पशु चौपायाहरु रनवेमा नै हिँडडुल गर्न थालेपछि जोखिम बढेको विमानस्थलका कर्मचारी तथा विमान सेवा प्रदायकहरुले बताएका छन् । विमानस्थल बन्द भएको बेला आफ्नो खेतबारीमा जानको लागि यहाँका स्थानीयले ठाउँठाउँमा तारबार काटेर बाटो बनाएको र सो बाटो अहिले पनि प्रयोग गर्दै आएकोले दुर्घटनाको जोखिम बढेको हो ।
विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीको लापरबाहीका कारण पनि हवाई सुरक्षा जोखिम बढ्न थालेको विमान सेवा प्रदायकहरुको गुनासो छ । उच्च सुरक्षा सर्तकता हुनुपर्ने ठाउँमा सुरक्षाकर्मीहरुको लापरबाहीले गर्दा जोखिमपूर्ण तरिकाले उडान भर्नु परिरहेको उनीहरुको भनाई छ । ‘सुरक्षाकर्मीहरुको लापरबाहीले गर्दा पनि जोखिम बढेको छ ।’ समिट एयरका कर्मचारी हिक्मत सिंहले भने, ‘कुनै दिन त जहाज उड्ने बेलासम्म पनि प्रहरी एयरर्पाेटमा आइदिँदैनन् । यात्रुको लगेज सुरक्षा जाँच नै नगरिकन पनि विमान उडाएका छौं ।’ उनले थुप्रै पटक विमान उडान अवतरण भइरहेको बेलामा रनवेमा कुकुर बिरालाहरु प्रवेश गरेको बताए ।



