बाँकेमा खुल्ला कारागार बनेको दुई वर्ष भइसक्यो । तर अहिलेसम्म कैदी बस्न पाएका छैनन् ।
गनापुरमा ३७ कोठे खुल्ला कारागार बनेको छ । भवन बनेर तयार भएको दुई वर्ष हुँदासमेत कारागार विभागले त्यहाँ कैदी बस्ने व्यवस्था मिलाउन सकेको छैन । दुई तिहाई कैद भुक्तान गरिसकेका कैदीलाई खुल्ला कारागारमा राख्ने अवधारणा अन्तर्गत देशकै पहिलो खुल्ला कारागार बाँकेमा बनेको हो ।
कारागार विभागले खुल्ला कारागार त बनायो । तर त्यसलाई सञ्चालनका लागि कार्यविधि नबनाउँदा अहिलेसम्म खुल्ला कारागार अलपत्र अवस्थामा छ । दुई तिहाई कैद भुक्तान गरेका कैदीलाई खुल्ला कारागारमा राखिन्छ । ती कैदीले दिनभरी अन्यत्र काम गर्ने र साँझ खुल्ला कारागारमा आएर बस्ने भनिएको छ । खुल्ला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदामा यस्तो उल्लेख छ ।
तर कार्यविधिले पूर्णता पाइसकेको छैन । कार्यविधिमा केही थपघट भए सुझाव दिनका लागि बाँके कारागारमा पनि पठाइएको छ । बाँकेका जेलर रामकुमार सोनकरले आधा दर्जन बुँदाहरु सुझावको रुपमा पठाएका छन् । दुई तिहाई कैद भुक्तान भएका र खुल्ला कारागारमा बस्न चाहने जुनसुकै मुद्दाका कैदीलाई त्यहाँ पठाउने हो कि के हो ? स्पष्ट पार्न भनिएको छ ।
खुल्ला कारागारमा बस्ने कैदीले दिनभरी अन्यत्र काम गर्न पाउने भनिएको छ । त्यसरी काम गर्न जाँदा र फर्किँदा उसको सुरक्षाको जिम्मेवारी कसको हुने उल्लेख गर्नु पर्ने सुझाव दिइएको छ ।
बाँकेका जेलर सोनकरले कार्यविधि बनेर सुझावहरु थप्ने काम भइरहेकाले वैशाखदेखि खुल्ला कारागार सञ्चालनमा आउने बताए । उनले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुल्ला कारागारमा राखिने जानकारी दिए ।
देशभरकै कारागारमा कैदी बन्दीको चाप बढी छ । बाँके कारागारमा ८ सय १५ जना कैदी बन्दी छन् । साढे तीन सय क्षमताको कारागारमा आठ सय बढी कैदी बन्दीलाई कोचेर राखिएको छ । खुल्ला कारागार भएको अवस्थामा जिल्ला कारागारमा केही खुकुलो हुने सम्भावना छ ।
बाँकेकै नौबस्तामा क्षेत्रीय कारागार बनिरहेको छ । एक हजार पाँच सय बढी कैदी बन्दीलाई राख्ने क्षेत्रीय कारागार तीन महिनाभित्र सञ्चालन गर्ने तयारी भएको छ । आठवटा ब्लक रहेको क्षेत्रीय कारागारमा चारवटा ब्लकको काम अन्तिम चरणमा पुगेको जेलर सोनकरले जानकारी दिए ।
‘चारवटा ब्लकमा अब मार्बल र काठको काम बाँकी छ’, जेलर सोनकरले भने, ‘तीन महिनाभित्र पूरै काम सकिन्छ । त्यहाँ कैदी बन्दी राख्छौँ ।’
कारागार विभागले देशका विभिन्न ठाउँमा कारागार बनाइरहेको छ । ती सबैको काम समयमै हुन सकिरहेको छैन ।
बाँकेको दुईवटा कारागारको अवस्थाले पनि त्यस्तो देखाइरहेको छ । अधिकारीहरुले बनाउन थालिएको सबै कारागार सम्पन्न हुँदा कैदी बन्दीलाई कोचाकोचमा राख्नु पर्ने बाध्यताको अन्त्य हुने बताएका छन् ।



