
आगामी असोज २ गते प्रदेश नं. २ अन्तर्गतका जिल्लाहरुमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले भाद्र १ गते देखि लागू हुने गरी निर्वाचन आचार संहिता लागू गर्ने निर्णय गरेको छ ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तर्जुमा गरेको निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ व्यक्ति÷संस्था तथा पदाधिकारीलाई आचारसंहिता लगाएको हो ।

क—कसलाई लाग्छ आचारसंहिता ?
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) स्थानीय निकाय÷तह,
(ग) स्थानीय निकाय÷तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ञ) निजी तथा गैरसरकारी संस्था,
(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति ।
यसैबीच आचारसंहिता उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति अर्थात भदौ २१ गते लागू हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।



