महोत्तरी जिल्लामा चुनावी चहलपहलले तीव्रता पाएको छ। असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले आफ्ना गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल बढेको हो।

अहिले सबै राजनीतिक दल चुनावी तयारीका भेला, बैठक र उम्मेदवार चयनको रस्साकस्सीमा जुटेका छन्। दुई नम्बर प्रदेशमा स्थानीय निर्वाचन घोषणा भएपछि आएको बाढी र डुबानबाट पीडा खेपिरहेका सर्वसाधारण अहिले चुनावी टिका÷टिप्पणीमा सरिक भएका छन्।

पूर्वघोषित चुनावको तालिकाले गर्दा बाढी र डुबानबीच नै राजनीतिक दलका नेता, कार्यकर्ता जनताको सहानुभूति पाउन राहत वितरणका कार्यक्रम लिएर बाढी, डुबान प्रभावित बस्तीमा पुगेका देखिएका छन्। ‘चुनाव नपरेको भए आउँथे, आउँदैनथे?’ साउन मसान्तयताको बाढीले घर छाप्रा भत्काएको जिल्लाको भङ्गाहा नगरपालिका–२ बखरी मुसहरीटोलका मदन सादाले भने, ‘जे होस्, हामी बाढीले डुबेका बेला दलका नेता, कार्यकत्र्ता आएका छन्, कमसेकम हामीले भोगेको पीडा त उनीहरुले आँखाभरि देखे नि त।’ अब चुनावबाट निर्वाचित हुने प्रतिनिधिले यो दुःखको निवारणमा भूमिका खेल्ने बाढीपीडित सर्वसाधारणले आस संगालेका छन्।

सर्वोच्च अदालतको पछिल्लो आदेशले १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह कायम भएको जिल्लामा चुनावी चहलपहलले गति लिनमा राजपा नेपालको चुनावमा सरिक हुने निर्णय महत्वपूर्ण बनेको आम बुद्धिजीवी बताउँछन्।

‘सरकार र निर्वाचन आयोगले चुनावको घोषणा गरे पनि राजपाले के गछर्न् भन्ने संसय थियो’ राजनीतिक विश्लेषक तथा जिल्लाका वरिष्ठ पत्रकार कृष्णचन्द्र झाले भने, ‘अब आम सर्वसाधारणमा चुनाव हुन्छ भन्ने विश्वास जागेको छ र यसले चुनावी उत्साह बढाएको छ।’

चुनावको दिन नजिकिँदै आएसँगै राजनीतिक दलहरु उम्मेदवारको छिनोफानो र अन्य तयारीमा जुटेका छन्। स्थानीय तहको चुनावका लागि उम्मेदवारको निर्णय गरिसकेको नेपाली कांग्रेसले बाढी–डुबान प्रभावित बस्तीमा राहत, उद्धार कार्यक्रमसँगै चुनावी प्रचार भइरहेको जनाएको छ। उम्मेदवारबारे यसअघि नै निर्णय भइसकेकाले आफ्नो सम्पूर्ण पार्टी घोषित उम्मेदवारलाई लिएर योजनाबद्ध चुनावी प्रचारमा लागिसकेको कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले बताए।

उम्मेदवारका नाम घोषणा हुन बाँकी रहेका केही स्थानीय तहका नाम आगामी बुधबारसम्म सार्वजनिक हुने सभापति रायको भनाइ छ। जिल्लामा नेकपा एमाले पनि बाढी डुबान बस्तीमा राहत, उद्धारका कार्यक्रमसँगै चुनावी प्रचारमा जुटेका छन्।

पार्टीले जिल्लाका सबैजसो स्थानीय तहका उम्मेदवारबारे निर्णय गरिसकेको र ती नाम भदौ दोस्रो साताभित्रै पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिने उम्मेदवार छनोट कार्यदलका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य सरोजकुमार यादवले जानकारी दिए।

‘सबै उम्मेदवार स्थानीय तहबाट सिफारिस भई आएका नामभित्रैका परेका छन्’ नेता यादवले भने, ‘जिल्लामा उम्मेदवारको नाम छनोटमा कुनै ठूलो किचोला छैन, प्रदेशभित्रका सबै जिल्लाका उम्मेदवारको नाम एकसाथ घोषणा गरिने कार्यक्रम बनाइएकाले नाम सार्वजनिक गर्ने कार्यमा केही ढिलाइ मात्र भएको हो।’

यसैगरी नेकपा माओवादी केन्द्रले पनि चुनाव सम्बन्धी प्रचारप्रसारका काम योजनाबद्ध रुपले अघि बढाएको छ। चुनावमा प्रतिस्पर्धाका लागि जिल्लाका १५ वटै स्थानीय तहका उम्मेदवारको निर्णय भइसके पनि चुनावी तालमेलको सम्भावनालाई मध्यनजर गर्दै नाम सार्वजनिक नगरिएको सो पार्टीले जनाएको छ।

‘हाम्रा सबै स्थानीय तहका पार्टी कमिटी चुनावमा परिचालित भइसकेका छन्’ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीप्रसाद ढुंगानाले भने, ‘चुनावमा तालमेलका कुरा पनि छन्, त्यसैले नाम सार्वजनिक गर्न हतार नगरिएको हो।’ नेकपा माओवादी केन्द्रले पनि भदौ दोस्रो साताभित्रै उम्मेदवारका नाम सार्वजनिक भइसक्ने जनाएको छ।

यता राजपा नेपालले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेसंगै निर्वाचन तयारीमा रहेका सबै दललाई उत्साहित बनाएको छ।

निर्वाचनमा सरिक हुने निर्णय गरेको राजपा अहिले उम्मेदवार छनोटबारे गम्भीर छलफलमा जुटेको छ। ‘मुद्दा एउटै भए पनि फरक÷फरक दलमा आवद्ध भएका नेता कार्यकर्ता अहिले एउटै पार्टीमा आवद्ध छौंँ,’ राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका संयोजक अभिराम शर्माले भने, ‘उम्मेदवारबारे लामो छलफल स्वभाविक नै हो, हामी पार्टीभित्रबाट सर्वसम्मत उम्मेदवार छानेर चाडै नाम सार्वजनिक गर्ने तयारीमा छौं।’ जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार चयनको प्रक्रिया बढाउन केन्द्रीय पर्यवेक्षकले काम गरिरहेको सो पार्टीले जनाएको छ।

यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दिनहुँ जिल्लामा आयोजित प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा सरिक भइरहेका छन्। जिल्लाका १५ वटै स्थानीय तहमा चुनाव लड्ने तयारीका साथ अघि बढेको सो दलका जिल्ला अध्यक्ष रामनरेश राय यादवले बताए। यद्यपि आफ्ना मुद्दाबारे समान धारणा राखेका दलसँग चुनावी तालमेलको कुरालाई खुला राखिएको सो पार्टीले जनाएको छ।

यसबाहेक नयाँ शक्ति पार्टी नेपाल र नेकपा संयुक्त संयुक्त प्यानल बनाएर चुनावमा जाने तयारीमा देखिएका छन्। आसन्न स्थानीय निर्वाचनमा दुबै दलको संयुक्त प्यानल चुनाव लड्ने सहमति गरिएको दुबै पार्टीका जिल्ला नेतृत्वले पुष्टि गरेका छन्। अहिलेसम्म दुई दलबीच मात्र सहमति भएको भए पनि राजनीतिक मुद्दामा समान धारणा भएका अन्य दलसँग पनि चुनावी तालमेलबारे सघन छलफल भइरहेको नयाँ शक्ति पार्टी नेपालका नेता तेजप्रसाद अधिकारीको भनाइ छ।

यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, दलित जनजाति पार्टी र भर्खरै राप्रपाबाट विभाजित राप्रपा प्रजातान्त्रिकले पनि आसन्न स्थानीय निर्वाचनमा दलगत तयारी अघि बढाएका छन्।

दलहरुको आन्तरिक तयारी तीव्र रुपमा बढे बीच नै जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्। निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचन तालिकाअनुसारका सबै काम स्थानीय तहमा सञ्चालित निर्वाचन अधिकृतको कार्यालयले सम्पादन गर्न थालेको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिए।

चुनावबारे चौतर्फी चासो र दलका गतिविधिले आम जनतामा चुनावी उत्साह बढ्दै गइरहेको जिल्ला निर्वाचन अधिकारी रायको भनाइ छ।

असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि यही भदौ २१ उम्मेदवारले मनोनयनपत्र दाखिला गर्नु पर्ने तालिका यसअघि नै निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah