
९ कार्तिक,हेटौंडा। अनेरास्ववियु र अखिल (क्रान्तिकारी)का नेताहरुले एकअर्कामा एमाले र माओवादीको चुनाव चिन्ह अंकित झण्डा साटासाट गरेका छन्। राष्ट्रिय स्तरमा वाम तालमेल भए लगत्तै एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रीय निकट अखिल(क्रान्तिकारी) देशब्यापी रुपमा संयुक्त भेला वैठकमा जुटेका छन् ।
आइतबार मकवानपुरको हेटौंडामा आयोजित संयुक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विजय गौतमले अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष पौडेललाई गोलाकार भित्रको हंसिया हथौड़ा अंकित झण्डा हस्तान्तरण गरे। यस्तै सोही कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश वर्तौलाले क्रान्तिकारीका जिल्ला अध्यक्ष दिनेस सुवेदीलाई सुर्य अंकित झण्डा हस्तान्तरण गरेका थिए।
भेलामा अनेरास्ववियुका उपाध्यक्ष वर्तौलाले वाम एकता इतिहासको अपरिहार्य आवश्यकता भएको वताए। त्यस्तै क्रान्तिकारी उपाध्यक्ष गौतमले संविधानमा लिपिवद्ध शिक्षा,स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनका लागि वाम गठवन्धनलाई जिताउनुपर्ने जिकिर गरे। भेलाले दुबै संगठनका जिल्ला अध्यक्ष प्रमुख रहने गरी ११०१ सदस्यीय संयुक्त बाम बिध्यार्थी निर्वाचन परिचालन समिति गठन गरेको छ ।



