अर्जुनधारा।
शंकाले लंका जलाउँछ भन्ने उखानै छ । झापाको अर्जुनधारा नगरपालिकामा पनि शनिवार त्यस्तै भयो । अर्जुनधारा–१ सिस्नेबगर टोलका २३ वर्षीय दिनेश गहतराज भनिने दिनेश गहतेले शंकाकै भरमा १८ वर्षीया श्रीमती योनिताहाङ लिम्बूको हत्या गरे ।
इलामको माङ्सेवुङ्ग–४ निवासी योनिताहाङसँग गत वर्षको फागुनमा गहतेले फोनमा चिनजान भएकै भरमा प्रेम विवाह गरेका थिए । १५ दिन अघि पाँच महिनाको गर्भ खेर गएर उनी घरमै आराम गरिरहेकी थिइन् । शनिवार साँझ खाटमा आराम गरिरहेकी योनिताहाङलाई गहतेले सामान्य विवादमा खुर्पा प्रहार गरेका थिए । विवादको कारण थियो वारम्वार योनिताहाङलाई केटाको फोन आइरहनु ।
शनिवार पनि योनिताहाङलाई केटाकै फोन आएको थियो । फोन आएपछि गहतेले योनिताहाङलाई कस्को फोन आएको भन्दै खेरेका थिए । फोनकै विषयमा विवाद हुँदा उनले योनिताहाङको घाँटीको बायाँ भागमा खुर्पा प्रहार गरे । खुर्पा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । गहतेले शंकाकै भरमा आवेगमा आएर श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
गहतेका बाबु टंक र आमा चन्द्रमाया शनिवार घर नजिकै पराल राख्दै थिए । घरको भुँइतलाको खाटमा आराम गरिरहेकी योनिताहाङ र दिनेशबीच केहीवेर अघिदेखि सामान्य विवाद हुँदै थियो । उनका वुवा टंकले भने– ‘योनिताहाङ एक्कासी चिच्याएकी थिइन्, के भएछ भनेर हामी त्यहाँ पुग्दा योनिताहाङ रक्ताम्मे थिइन्, बुहारीलाई रक्ताम्मे देखेपछि हामी चिच्यायौं ।’ योनिताहाङमाथि खुर्पा प्रहार भएपछि हो–हल्ला भयो । योनिताहाङ खाटमा छट्पटी रहेकी थिइन्– स्थानीय चक्र तामाङले भने – हामीले तत्कालै प्रहरीलाई खबर ग¥यौं, एम्बुलेन्स बोलाउने तरखर गर्दागर्दै योनिताहाङ छट्पटाउन छाडिन् ।’
यता श्रीमतीको हत्यामा संलग्न गहतेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । श्रीमतीको हत्यापछि पक्राउ परेका गहतेले आफूले श्रीमतीलाई बढी शंका गरेका कारण हत्या गरेको बताएका छन् । उनले श्रीमतीलाई अनावश्यक रुपमा शंका गरेकाले कसैको फोन आउँदा केटाकै फोन आएको झैं लाग्ने र आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा गहतेले बताएको प्रहरीले जनाएको छ । योनिताहाङको हत्यापछि उनका बुबा दिलकुमार लिम्बूले गहतेविरुद्ध किटानी जाहेरी दिएका छन् ।



