मेहदी हसन यतिबेला टिचिङ अस्पताल, सर्जरी हाई केयर बेड नं. ४४९ मा छन्। उनको अनुहारमा पीडा र छटपटी देखिन्छ। म अस्पतालको वार्ड प्रवेश गर्दा छेउमा उनकी बहिनी रोइरहेकी थिइन्। यो दुःखद अवस्थामा रहेका व्यक्तिसँग कहाँबाट कुरा सुरु गर्ने? कसरी प्रश्न गर्ने?

उनको हात र खुट्टाको विभिन्न भागमा कोतारिएको छ। छाती, घाँटी, टाउकोमा चोटपटक लागेको छ। मैले सावधानीपूर्वक कुराकानी सुरु गर्न खाजेँ।

२९ वर्षीय हसनले विस्तारै मुख खोले, ‘म कसरी बाँचेँ विश्वासै भइरहेको छैन। म त्यो घटना सम्झन पनि सक्दिनँ।’ उनको बोली यति मधुरो थियो कि मलाई बुझ्न धेरै ध्यान केन्द्रित गर्नुपर्यो।
नेपाल घुमफिरका लागि परिवारसँग नेपाल आएका उनलाई यो सब सपनाजस्तो लागिरहेको रहेछ।

हसनकी बहिनी एनीले फेसबुकमा पाेष्ट गरेकाे तस्विर

महेदी हसन आफ्नी श्रीमती, बहिनी, ज्वाइँ र उनका छोरा विदा मनाउन नेपाल आउँदा सोमबार दिउँसो युएस बंगला एयरलाइन्स बीएस २११ उडान दुर्घटनामा परेका थिए। उनकी श्रीमती सायदा कमरुनहार स्वारना र बहिनी एआयमुन नहर एनी सकुशल छन्। ‘अहिले सँगै पढेका सहपाठी र आफन्तहरु भेट्न आइरहनु भएको छ। सान्त्वना मिलिरहेको छ’, भित्तातर्फ टोलाउँदै उनले भने, ‘म त्यो घटना कसरी भयो, के भयो केही भन्न सक्ने स्थितिमै छैन।’

छेउको बेडमा उनकी बहिनी आँखाभरि आँसु पारेर रुँदै थिइन्। त्यहाँ उनलाई सम्हालने कोही थिएनन्। उनी बोल्न सक्ने अवस्थामै थिइनन्। उनका पति एफएच प्रायक र ३ वर्षीय छोरा टमारा प्राइनमोइको अवस्था अझै अज्ञात छ। काठमाडौं उड्नु अघि परिवारसहितको फोटो उनले फेसबुकमा पोष्ट गरेकी रहिछन्। अहिले त्यो सम्झेर उनी भक्कानिरहेकी छिन्।
‘बहिनीका श्रीमान् र छोराको अझै अत्तोपत्तो छैन’, मेहदी हसनले सुनाए।

हसनका नेपाली डाक्टर साथी पनि रहेछन्। म त्यहीँ रहँदा आइपुगे डा.दिलीप चन्द्र साहु। उनले पनि बंगलादेशमै पढेका रहेछन्। हसनभन्दा दुई ब्याच मात्र सिनियर। ‘भेटघाट गरेँ, अवस्था सामान्य नै रहेछ। उनीहरु परीक्षा सिद्याएर नेपाल घुम्न आइरहेका थिए। परिवारसहित यस्तो घटना घट्न पुग्यो।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै शव त्रिवि शिक्षण अस्पतालमै राखेको छ। शव आएको डा.दीलिपलाई थाहा भइसकेको रहेछ। ‘तर कुन शव कसको हो भनेर चिन्ह मुस्किल छ।’

ट्राभल एजेन्सीमा काम गर्ने किशोर थापा कामको शिलशिलामा बंगलादेश गएका थिए। फर्किने क्रममा उनी पनि दुर्घटनामा परेर अस्पतालमा छन्। आफन्त र डाक्टरबाट घेरिएका उनको टाउको, खुट्टा र घाँटीमा गहिरो चोट देखियो। उनी रहेको बेडमा पुग्दा उनी बोल्न सक्ने स्थितिमा थिएनन्। छेउमा रहेका मामा योगेन्द्र कुमार राईसँग मैले केही बुझ्न चाहेँ। ‘यस्तो होला भन्ने कसले पो सोचेको थियो र आखिर जे हुनु भइहाल्यो उनको अब चाँडै अवस्था ठिक होस् भन्ने चाहना हो’, उनले भने। अहिले उनलाइए ग्राण्डी रेफर गरिएको छ। उनी खतरामुक्त छन्।

इमरजेन्सी कक्षको छेवैमा एक महिलाको चित्कार सुनिइरहेको थियो। उनी करिब ४–५ जना आफन्तद्वारा घेरिएकी थिइन्। शोकमा परेका आफन्तहरुले जसोतसो उनलाई सम्हाल्न कोसिस गरिरहेका थिए। पति वियोगले उनी होशमा थिइनन्।

मानिसहरुको भीडमा अर्को करुण स्वर सुनियो। छेउमा पुग्दा सुरुमा मसँग कुरा गर्ने आँट थिएन। छेवमा रहेर मैले यताउता आँखा दौडाएँ। मलाई थाहा छ आफ्नो मान्छे गुमाउँदाको पीडा कस्तो हुन्छ। प्रियजन गुमाउँदाको पीडा कस्तो हुन्छ।

मेरै मम्मी उमेरकी महिला डाँको छोडेर रुँदै थिइन् उनलाई सम्हाल्न खोज्दै थिए उनका एक छोरा। मृतक सजना देवकोटा दिदी रहिछन् उनी। उनी भावविह्वल अवस्थामा थिइन्। ‘सानिमा विदा मनाउन साथीहरुसँग घुमघाम गर्न बंग्लादेश गएकी थिइन्। फर्किंदा यस्तो घटना भयो’ सजनाका भाइले सुनाए।

हेर्दाहेर्दै ३ जनाको मृत्यु
डा.बोधीराज गौतम केएससी अस्पतालका चिकित्सक हुन्। युएस बंगलाको उडान एसबी २११ उडान दुर्घटनाका धेरै घाइते सुरुमा काठमाडौं मेडिकल अस्पताल पुर्याइए। कस्तो थियो बिरामीको अवस्था? ‘धेरैको जलेको, कत्ति ठाउँमा काटिएको, हातखुट्टा भाँचिएको, त्यस्तो अवस्था थियो। मैले हेर्दाहेर्दै ३ जना घाइतेको मृत्यु भयो।’

हिजो विमान दुर्घटना लगत्तै काठमाडौं मेडिकल कलेज परिसरमा थामिनसक्नु भिड थियो। कोही मृत्यु भएकाे पुष्टि भएका आफन्तहरु रुँदै थिए। एकातिर आफ्ना मान्छे परे कि भनेर बुझ्न आउने थिए। कोहीले विभिन्न अस्पताल चहारेर पनि भेटाउन सकिरहेका थिएनन्।

डाक्टर बनेर फर्किने मेडिकलका विद्यार्थीका सपना क्षणभरमै भताभुंग भएका छन्। सायदै मृत्युसँग नडराउने व्यक्ति कोही होला। कोहीले आफ्नो एक्लो छोरो गुमाएका छन् भने कोही आफ्नो अबोध बालक छोडेर संसारबाट बिदा भएका छन्। युएस बंगला एयरलाइन्सकाे बीएस २११ दुर्घटनाका घाइते र मृतकका अाफन्तकाे विह्वल अवस्था देखेपछि मलाइ लाग्याे: शब्दकाे सञ्चारमा सीमितता छ, त्याे पीडा जस्ताकाे त्यस्तै उतार्न कठीन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah