प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता निकै बढेको छ । उहाँको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली बिहानदेखि रातिसम्मै विभिन्न कार्यक्रम, भेटघाट तथा अध्ययनमा व्यस्त हुने गर्नुभएको छ ।
बिहान, दिउँसो र साँझको समय नमिलेपछि एमालेको राजनीतिक मुखपत्र नवयुगको टोलीलाई उहाँले मध्यरातमा अन्तर्वार्ता दिनुभएको छ ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई तथा विभागका सूर्य थापा र विष्णु रिजालले प्रधानमन्त्रीसँग सोमबार मध्यरातमा अन्तर्वार्ता लिएका हुन् । राति ११ बजेर ३६ मिनेटदेखि १ बजेर १० मिनेटसम्म आफूहरुले प्रधानमन्त्रीसँग कुरा गरेको भट्टराईले फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
कुराकानी सुरु गर्दा गुड इभिनिंग प्रधानमन्त्रीज्यू भन्दा ओली मुसुक्क हाँस्नुभएको र छुट्ने बेलामा गुड डे भन्दा छक्क पर्नुभएको भट्टराईले उल्लेख गर्नुभएको छ ।
पत्रकार एवं एमाले प्रचार विभागका सूर्य थापाले अढाई दशक लामो आफ्नो पत्रकारिता अनुभगवमा मध्यराति लिएको यो पहिलो अन्तर्वार्ता भन्नुभएको छ ।
यस्तै प्रचार विभागका अर्का सदस्य विष्णु रिजालले मध्यरातमा प्रधानमन्त्री ओलीले आफ्ना कयौं सपना, योजना र लक्ष्यहरु सुनाउनुभएको जानकारी दिनुभएको छ ।
-उज्यालो अनलाइन बाट



