पाँचथर, १५ पुस । पाँचथरको फिदिममा आजदेखि आठौँ अन्तर्राष्ट्रिय टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी सुरुआत गरेको छ ।
फिदिम उच्च माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा हिमकस्तुरी युथ क्लब सिरहालाई १–० ले पराजित गर्दै फिदिम स्पोर्टिङले नतिजा आफ्नो पक्षमा पारेको हो । फिदिम स्पोर्टिङका लागि खेलको दोस्रो हाफको २७औँ मिनेटमा साजन राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । खेलको म्यान अफ् दि म्याच पनि साजन नै बने ।
हिमकस्तुरीका डिफेन्डरले डि एरियाभित्र हेन्ड गरेपछि साजनको पेनाल्टी प्रहार गोलरक्षक सबनम चौधरीले बचाए पनि बल पूर्णरुपमा नियन्त्रण गर्न नसक्दा पुनःसाजनले नै जाली चुमाए । खेलको अन्तिम समयमा डि एरियाभित्र हेन्ड गर्नु नै हिमकस्तुरीले नतिजा फिदिम स्पोर्टिङलाई सुम्पिने कारण बन्यो ।
घरेलु दर्शकको साथ पाएको फिदिम स्पोर्टिङले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न नसक्दा समर्थकमा केही निरासा समेत छाएको थियो । तुलनात्मक रुपमा फिदिम स्पोर्टिङभन्दा कम समय बललाई आफ्नो नियन्त्रणमा राखेको हिमकस्तुरीले गोल गर्ने वातावरण खासै सिर्जना गर्न सकेन । खेलको दोस्रो हाफमा जर्सी नम्बर १३ सुशील यादवले डि एरियाभित्र सुन्दर अवसर पाए पनि गोल गर्न सकेनन् ।
प्रतियोगिताको दोस्रो खेल शनिबार अपराह्न ३ बजेदेखि साइनो स्पोर्टिङ क्लब मोरङ ११ र डिफेन्डिङ च्याम्पियन कर्णसिं सोनाम स्मृति क्लब ताप्लेजुङबीच हुने आयोजक संस्थाका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटन सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले गर्नुभएको थियो ।



