काठमाडौं । अहिले खास चर्चाको विषय बनेको छः अनशन । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि भन्दै १५ औं अनशन बसेको २७ औं दिनसम्म आइपुग्दा यो विषय चर्चाको उत्कर्षमा पुगेको छ । केसीले २०६९ सालदेखि सुरु गरेको अनशन श्रृङ्खलाकाबीचमा धेरैले धेरै थरी माग राखेर धेरै पटक अनशन बसे । आफ्नो छोराको हत्यारालाई कारबाही हुनु पर्छ भन्दै गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पतीको आमरण अनसशनले तुलनात्मक रुपमा बढी चर्चा पायो, तर केसीको जति होइन । अनशन चर्चा उत्कर्षमा पुगिरहँदा यसको औचित्य र इतिहासबारे बुझ्न आवश्यक छ ।
अनशन के हो ?
कुनै पनि विषयमा विरोध या फरक मत जनाउने अहिंसात्मक तरिका हो, अनशन । सरकारी निर्णय, नयाँ नीतिनियमको कार्यान्वयन वा पुरानाको संशोधनलगायतका विषय तथा त्यसमाथि पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत दबाब दिने चलन छ ।
विश्वका चर्चित १२ अनशन
१. इरोम चाणु शर्मिलाको अनशनः १० बर्ष
सन् २००० मा भारतको मनिपुरमा एक वर्षभन्दा लामो समय चलेको सरकारविरोधी आन्दोलनमा सेनाको गोली लागेर १० जना सर्वसाधारणको मृत्यु भएपछि इरोम चाणु शर्मिला नामकी महिलाल त्यसविरुद्ध १० वर्ष अनशन बसेकी थिइन् । यो विश्व इतिहासको सबैभन्दा लामो अनशन हो ।
२. भगवत सिंहको अनशनः ११६ दिन
भारतीय स्वतन्त्रता संग्राममा सहभागी हुँदा हत्या आरोपमा जेल परेका भगवत सिंहले जेलभित्रै ११६ दिन अनशसन बसेका थिए ।
३. प्यालेस्टाइनी पत्रकार मोहम्मद अल–किकको अनशनः ९६दिन
प्यालेस्टाइनी पत्रकार मोहम्मद अल–किकले इस्लामी अतिवादी संगठन हमासमा संलग्न रहेको भन्ने आरोपका कारण जेल परेको विरोधमा ९६ दिन आमरण अनशन बसेका थिए ।
४. बबी स्यान्ड्ससहितको आइरिस सामुहिक अनशनः ६६ दिन
सन् १९८१ मा आयरल्यान्ड रिपब्लिकको एक टापुमा रहेको कारागारका कैदीहरूले पाँच वर्ष लामो विरोध र संघर्षपछि अमरण अनशन सुरु गरे । उनीहरु ६६ दिन अनशन बसे ।
५. क्यालिफोर्नियाका कैदीहरुको सामूहिक अनशनः ५९ दिन
क्यालिफोर्नियाको पेलिकन वे स्टेट प्रिजनका २९ हजार कैदीले एकान्त कारावासको विरोध गर्दै सन् २०१३ मा ५९ दिन सामूहिक आमरण अनशन गरेका थिए ।
६. सोलाङ फर्नेक्सको अनशनः ४० दिन
सन् १९३४ मा फ्रन्सका राजनीतिज्ञ सोलाङ फर्नेक्सले महिला अधिकारको माग राख्दै ४० दिन आमरण अनशन बसेकी थिइन् ।
७. चाभेजको अनशनः ३६ दिन
अमेरिकी नागरिक सिजर चाभेजले आफू गाउँबाट विस्थापित भएपछि कृषि मजदुरको हितका लागि भन्दै ३६ दिन आमरण बसेका थिए । उनले पछि तीनपटकसम्म नोबेल शान्ति पुरस्कारका लागि छनोट पनि भए ।
८. प्यालेस्टाइनी कैदीको अनशनः ३० दिन
सन् २०१२ मा दुई हजार प्यालेस्टाइनी कैदीले इजरायली जनताको तानाशाही प्रवृत्ति र राष्ट्र प्रमुखको विरुद्धमा ३० दिन सामूहिक बसे । यो आमरण अनशनको इतिहासमा दोस्रो ठूलो थियो ।
९. गान्धीको अनशन
बेलायती साम्राज्यवादविरुद्ध भारतीय स्वतन्त्रता संग्रमका अभियन्ता महात्मा गान्धी २१ दिन अनशन बसे । उनी १९२४मा उक्त अनशन बसेका थिए । यस्तै, सन् १९३२ मा दलितका लागि छुट्टै मतदान केन्द्र बनाइएपछि उनी फेरि पाँच दिन अनशन बसेका थिए । सन् १९४३ मा उनले ‘भारत छोडो’ आन्दोलनकै क्रममा पनि ब्रिटिस सरकारलाई थप दबाब दिन जेलभित्रै अनशन सुरु गरेका थिए । उनले पटकपटक अनशन बसेको इतिहास छ ।
१०. बिपी कोइरालाको अनशनः २९ दिन
प्रजातान्त्रिक नेता बिपी कोइराला २००५ सालमा राणा शासनको विरुद्द २९ दिन अनशन बसेका थिए ।
११. द्वन्द्वपीडित अधिकारी दम्पतीको अनशन
गोरखाका द्वन्द्वपीडित अधिकारी दम्पती नन्द्रप्रसाद र गंगामायाको अनशन पनि विश्वमा चर्चित छ । तीन सय २९ दिन अनशन बसेपछि नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो । कुल तीन सय २ दिन अनशन बसेकी गंगामायाले गत असार २९ गते अनशन तोडेकी हुन् ।
र, १२. गोविन्द केसीको अनसन
चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको अनशन जारी छ । उनी अहिले १५ औं पटक अनशन बसिरहेका छन् । बिहीबार उनको १५ औं अनसशनको २७ औं दिन भएको छ ।
नेपाली पत्र बाट



