काठमाडौं- संवैधानिक परिषद्‌को आज बस्ने भनिएको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक अर्को मितिसमेत तय नगरी स्थगित भएको हो। परिषद्‌ सदस्य विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि आजै सिंगापुर जाने भएकाले परिषद्‌को बैठक स्थगित गरिएको बताइएको छ।

यसअघि प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि आज बस्ने बैठकले नयाँ प्रधानन्यायधीश सिफारिस गर्ने अपेक्षा थियो।

नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्‌ बैठकले दुई जनाको रोस्टर पठाइसकेको छ। सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणाको नाम संवैधानिक परिषद्‌मा छ। उनीहरुमध्ये एकलाई सुनुवाइका लागि परिषद्‌ले सिफारिस गर्नेछ। उनीहरु मध्ये मिश्र वरिष्ठ भएकाले उनको नाम भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस हुने सम्भावना छ।

यस्तै, ६ महिनादेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि आजै बस्ने भनिउको संवैधानिक परिषद्को बैठकले सिफारिस गर्ने अनुमान थियो।

परिषद्‌ले प्रधानन्यायधीश र आयोगको प्रमुख आयुक्त नियुक्तिको एजेन्डा राखेरै सदस्यलाई बैठकमा सहभागी हुन पत्राचार गरेको थियो।

दीप बस्यातले गत फागुन १ मा अवकाश पाएयता आयोग कार्यवहाक प्रमुख आयुक्तका भरमा चल्दै आएको छ। आयोगका आयुक्त नवीन घिमिरे वरिष्ठताका आधारमा कार्यबहाक प्रमुख आयुक्त छन्।

अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र हालका कार्यवाहक प्रमुख आयुक्त नविन घिमिरेलाई प्रमुख दाबेदार मानिएको छ।

त्यस्तै, वरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्रकिसोर क्षेत्रीको पनि नाम चर्चामा छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्री र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ।

संवैधानिक परिषद्‌मा सर्वसम्वत निर्णय गर्ने परम्परा रहेकाले विपक्षी दललाई समेत मनाएर निर्णय गर्नुपर्ने हुन्छ। त्यसैले कांग्रेस सभापित देउवा नै उपचारका लागि सिंगापुर जाने भएपछि बैठक स्थगित गरिएको हो।नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय