अफरोज अर्पण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार नेपालस्थित हिन्दू शक्ति पीठहरुको दर्शन गरिरहँदा प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी पनि नेपाली तीर्थाटनमा निस्कनुभएको छ । प्रधानमन्त्री मोदी र अध्यक्ष गान्धीको नेपाली हिन्दू तिर्थाटनलाई धेरैले भारतको आगामी लोकसभा निर्वाचनसँग जोडेर हेरेका छन् ।
१७ वर्षसम्म भारतीय प्रधानमन्त्री नेपाल नआइरहेका बेला नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुभयो । यसपछि भने बर्षेनिजस्तो नेपालको भ्रमण गरिरहेका प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलनमा भाग लिन समेतगरी चार पटक नेपाल भ्रमण गरिसक्नुभएको छ । केही महिना अघि मात्रै जनकपुर र मुक्तिनाथको तीर्थयात्रा गरेका प्रधानमन्त्री मोदीले बिमस्टेकका बेला काठमाडौं आउँदा पनि शुक्रबार पशुपतिनाथको दर्शन गर्नुभयो ।
संयोग, प्रधानमन्त्री मोदीले नेपालको तीर्थाटन गरिरहेकै बेला भारतीय प्रतिपक्षी दल, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी पनि काठमाडौं नै आइपुग्नुभयो । अन्तिम समयमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रद्ध भएपनि मुक्तिनाथको दर्शन गर्ने कार्यतालिका रद्ध भइसकेको छैन ।
शुक्रबार साँझ प्रधानमन्त्री मोदी स्वदेश फर्किरहँदा अध्यक्ष गान्धी भने काठमाडौंमा नै बास बस्नुभयो । शनिबार भने कैलाश मानसरोवरको यात्रामा गान्धी निस्किनुभएको छ । कैलाश यात्रापछि मुक्तिनाथको दर्शन गर्ने तालिका रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय राजनीतिका महत्वपूर्ण यी शीर्ष नेताहरुको नेपाली तीर्थाटनलाई धेरैले भारतको आसन्न निर्वाचनसँग जोडेर विश्लेषण गरेका छन् । विश्लेषणअनुसार हिन्दू मत तान्न भारतीय नेताहरु नेपालको हिन्दू धामहरुको दर्शन गरिरहेका छन् ।
तर, प्रधानमन्त्री मोदी र अध्यक्ष गान्धीले भने आ–आफ्नै तर्क पेश गर्नुभएको छ । हिन्दू मतको बलबाटै प्रधानमन्त्री निर्वाचित मोदीले नेपालसँग सम्बन्धलाई जोडेर तीर्थाटन गरिरहेका छन् । नेपालका महत्वपूर्ण हिन्दू धाम दर्शनको प्रचार गरेर भारतीय हिन्दू मत मोदीले तान्ने रणनीति बनाएको अड्कलसहित अध्यक्ष गान्धी दुई हप्ते कैलाश यात्रामा निस्किनुभएको छ ।
तर, धार्मिक कार्यमा खासै रुचि नराख्ने गान्धीले अचानक दुई हप्ता लामो तिर्थाटन गर्नुलाई धेरैले हिन्दू मतकै रणनीति मानेका छन् । भारतीय कंग्रेसले गत अप्रिलमा हवाई दुर्घटनाबाट जोगिएका अध्यक्ष गान्धीले कैशाल सरोवर यात्राको निर्णय लिएको जनाएको छ । दिल्लीबाट कर्नाटकको निर्वाचन क्षेत्रमा जाने क्रममा अध्यक्ष गान्धी उडेको विमान ठूलो दुर्घटनाबाट बचेको थियो ।
प्रधानमन्त्री मोदी चार पटक नेपाल आउनु भयो । मुक्तिनाथ, जनकपुर पुग्नु भएको छ । तर अहिलेसम्म लुम्बिनी जाने रहर गर्नु भएको छैन । यसले पनि पुष्टि गर्छ कि, हिन्दू मतमै मोदीको ध्यान छ ।



