काठमाडौं । २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) आवेदन यही असोज १७ गतेबाट खुल्ने भएको छ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।
सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई(डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।
तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।



