काठमाडौं। मलेशियामा नेपाली कामदारलाई अब फाइदै फाइदा हुने भएको छ। मलेशियामा काम गर्ने विभिन्न देशका कामदारमाथि मानव तस्करी तथा ठगी बढेको भन्दै मलेशिया सरकारले विदेशी कामदारलाई निजी कम्पनी वा दलालहरु मार्फत भित्र्याउने प्रकृया खारेज गर्ने निर्णय गरेपछि नेपाली कामदारलाई फाइदा हुने भएको हो।
मलेशियामा थुप्रै नेपाली कामदाररु भिसा प्रोसेसिङ, स्वास्थ्य परीक्षण, बायोमेट्रिक्स लगायतका शिर्षकमा ठगिँदै आएकोले श्रम मन्त्री गोकर्ण विष्टले गत जेठ २ गतेदेखि मलेशिया कामदार पठाउन रोक लगाएका थिए।
मलेशियामा विदेशी कामदारका लागि १ सय भन्दा बढी आउटसोर्सेस कम्पनीले काम गर्दै आएकोमा मानव तस्करी, ठगी जस्ता समस्या बढेपछि मलेशियाको मानव संसाधन मन्त्रालयले आफैंले सम्पूर्ण विदेशी कामदार निजी रोजगार एजेन्सी (पीएइ) को माध्यमबाट भित्र्याउने तयारी गरिरहेकोले यसबाट नेपाली कामदारलाई थप फाइदा हुने भएको हो।
वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक दिलिपकुमार चापागाईँले मलेशियासँग कातिक १२ गते एमओयूको सम्झौता पत्रमा हस्ताक्षर भएपछि सोही आधारमा नेपाली कामदारले मलेशियामा सेवा सुविधा पाउने भएकाले पहिले जस्तो ठगीनुनपर्ने बताए। उनले मलेशियाले पनि विदेशी कामदारलाई सरकारी तवरबाट नै सुरक्षित ढंगबाट काममा लगाउने व्यबस्था गरे नेपाली कामदारका लागि निकै फाइदा पुग्ने बताए।
मलेशिया सरकारले विदेशी कामदारलाई निजी कम्पनी वा दलालहरु मार्फत भित्र्याउने प्रकृया खारेज गर्ने निर्णय गरेपछि नेपाली कामदारलाई फाइदा हुने भएको हो
विभागका अनुसार मलेशियामा नेपाली कामदारहरु ठगिँदै आएका थुप्रै उजुरीहरु आउने गरेका छन्। पाँच महिनादेखि नेपाली कामदार मलेशिया पठाउन रोक लगाएपनि पहिले मलेशिया पुगेर अलपत्र परेका वा नेपालमै पनि मलेशिया जाने प्रकृयाको क्रममा थुप्रै ठगिएका युवाको उजुरी आउने गरेको विभागले जनाएको छ।
वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष रोहण गुरुङले पनि मलेशिया सरकारले तत्काल छलफलका क्रममा रहेको निणर्यले नेपाली कामदारलाई निकै फाइदा पुग्ने बताएका छन्। उनले भने, ‘मलेशियामा नेपाली कामदार निजी कम्पनी वा एजेन्टमार्फत विभिन्न शिर्षकमा ठगिँदै आएका थिए। अब मलेशिया सरकारले नै सबै काम गर्ने भएपछि नेपाली कामदारहरु पनि थप सुरक्षित हुन सक्छन्।’
गुरुङले मलेशिया सरकारको निर्णय सकारत्मक भएको भन्दै नेपाली कामदारहरुले यो भन्दा अगाडि सप्लाई कम्पनीमार्फत पाउँदै आएको रोजगारी,तलब लगाएत सेवा सुविधामा सप्लाइ कम्पनीले कटौती गर्दै आएको लागत सरकारी तवरबाट कम लाग्ने हुँदा नेपाली कामदारलाई फाइदै फाइदा भएको बताए। मानव संसाधन मन्त्रालयको तवरबाट मलेशियामा विदेशी कामदार सम्बन्धी व्यवस्था गरिँदा नेपाली कामदार निकै लाभान्वित हुने श्रम विज्ञहरुको भनाइ छ।
हाल नेपाली कामदार नेपाल र मलेशिया दुवै तर्फका आउटसोर्स कम्पनी तथा एजेन्टबाट ठगिँदै आएका छन्। यही अवस्थाको अन्त्य गर्न नेपालले नेपाली कामदार मलेशिया पठाउन बन्द गरेको थियो। हाल नेपाल सरकारले नेपाली कामदारलाई मलेशियामा रोजगारीमा नयाँ व्यवस्थाका लागि मलेसियाली सरकारसँग वार्ता गरिरहेको छ। अब नेपाली कामदारले मलेशिया शून्य लागतमा जान पाउने व्यवस्था हुने श्रम मन्त्रालयले जानकारी दिएको छ। जसबारे नेपाल र मलेशिया दुई देशबीच श्रम सम्झौता हुँदैछ।
कातिक ११ गते मलेशियाका मानव संसाधन मन्त्री एम कुलेसागरन नेपाल आउने कार्यक्रम रहेको छ। कातिक १२ गते श्रम मन्त्री गोकर्ण विष्ट र कुलेसागरनले सम्झौतापत्र (एमओयु)मा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। त्यसै अनुरुप नेपाली कामदार मलेशियामा सुरक्षित तवरबाट जान पाउने भएकोले मानव तस्करी तथा ठगीबाट नेपाली कामदार सुरक्षित भइ लाभान्वित हुन सक्ने मन्त्रालयको दावी छ।



