लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ।
नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।
त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’
कसरी लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो भन्ने प्रश्नमा कार्यकारी निर्देशक घिसिङले भने, ‘कुशल व्यवस्थापनबाट नै यो सफल भएको हो।’ प्राधिकरणले मुख्यतया चार पक्षलाई बढी जोड दिएका कारण लोडसेडिङमुक्त गर्न सफल भएको घिसिङले बताए।
‘व्यवस्थापन उचित तवरले (सञ्चालन, प्राविधिक, माग पक्ष र टिक वर्क) मिलाउन सकिएका कारण लोडसेडिङ हुनबाट बचाउन सकिएको हो,’ घिसिङले भने, ‘चारवटै पक्षलाई एकैसाथ अगाडि बढाउन नसकिएको भए लोडसेडिङ हटाउन सम्भव थिएन।’
व्यवस्थापन मिलाउन सकेकै कारण सफलता हात पार्न सकिएको घिसिङले बताए। ‘तीन वर्षको तिहारअघि कतै बिजुली फालाफाल थियो, त्यसलाई मिलाउने काम गरियो,’ उनले भने, ‘त्यसैगरी, कमसल प्राविधिलाई फेरबदल गरेर मजबुत बनाउने काम भयो। त्योभन्दा ठूलो काम बिजुली खपत गर्ने उपभोक्ताको मन जित्न सकियो।’
बिजुली आपूर्ति नियमित नहुने भनेपछि उपभोक्तले इन्भर्टर, ब्याट्रीलगायत उपकरण चार्ज गर्ने र बिजुलीको जोहो गर्ने गर्थे। बिजुली सधैं आउँछ भन्ने विश्वास दिलाउँदा लोडसेडिङ हटाउन गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए। यो खबर आजको नागरिक दैनिकमा विष्णु बेलबासेले लेखेका छन्।
‘पर्सिदेखि पेट्रोलियम पदार्थ पाइँदैन है भन्नासाथ भोलिदेखि नै पेट्रोल भर्नेको लाइन लागेजस्तै बिजुलीमा पनि त्यस्ते हुन्छ,’ उनले भने, ‘लोडसेडिङ हुन्छ है भनेपछि बिजुलीको जोहो गर्न इन्भर्टर, ब्याट्री जोडन पुग्छन्, तर हामीले बिजुली जादैन सधैं आउँछ है भन्ने सकारात्मक सन्देश दिएका कारण लोडसेडिङ हटाउन सफल भयौं।’
प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने कार्यकारी निर्देशक घिसिङले बताए। ‘तिहारमा लोडसेडिङ हुन नदिन पहिलेदेखि नै तयारीमा जुटेको छौं,’ उनले भने, ‘कमसल खालका टान्सफर्मर फेर्ने, प्रसारण लाइनलाई मजबुत बनाउने लगायत काम गरेका छौं।’ तिहार आउनु एक–दुई दिनअघिमात्र काम गरेर हुँदैनथ्यो, त्यसैले पहिलादेखि नै तयारीमा जुटेको उनको भनाइ छ।
गत वर्षभन्दा यसपालिको तिहारमा ३०–४० मेगावाट बिजुलीको माग बढ्ने अनुमान गरिएको घिसिङले बताए। ‘यसपटक तिहारमा १२ सय ७० मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएको छ,’ उनले भने, ‘हामी अनुमान गरेभन्दा बढी बिजुलीको माग भए पनि धान्न सक्ने अवस्थामा छौं।’
कुलेखानी आयोजनामा १५२६ मिटर पानी जोहो गरेर राखेको जानकारी पनि उनले दिए। ‘कुलेखानीमा १५२४–१५२५ मिटरभन्दा माथि यसअघि कहिले पनि पानी जम्मा भएको थिएन,’ कुलमानले भने, ‘यसपालि सबैभन्दा बढी १५२६ मिटर पानी जम्मा भएको छ। त्यो पानी नचलाई हुँदैन, तिहारका लागि पानी जोहो गरेर राखेका हौं।’
पोहोर तिहारमा जस्तै यस वर्ष पनि बिजुली जान नदिने कुलमानले दोहो(याए। ‘कतै कतै प्रविधिक समस्याले बत्ती जान सक्छ, बिजुली कम भएर लोडसेडिङ हुने स्थितिमा हामी छैनौं,’ उनले भने, ‘तिहारमा कम्फर्टेबल स्थितिमा हुनेछौं।’
अहिले स्वदेशी आयोजनाबाट आठ सय ५० देखि नौ सय मेगाबाट बिजुली उत्पादन हुँदै आएको घिसिङले जानकारी दिए। ‘बिजुलीको अत्यधिक माग हुने समयमा भारतबाट तीन सय ५० देखि चार सय मेगावाट बिजुली ल्याएका छौं,’ उनले भने, ‘बिजुलीको माग नहुने समय अर्थात रातिमा सय मेगावाट मात्रै ल्याएका छौं।’
गत वैशाखदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ। उक्त क्षेत्रमा दैनिक तीन घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो।
घिसिङ २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनले चुनौतीका चाङ भए पनि लोडसेडिङ हुन नदिने अठोट गर्दै आएका छन्।



