कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा प्रहरीले थप चार जनाको डिएनए परीक्षण गरेको छ।
तिहारअघि नै उनीहरूको डिएनएको नमूना काठमाडौं पठाइएको थियो।
‘हामीलाई शंका लागेका चार जनाको डिएनए तिहारअघि नै संकलन गरेर पठाएका थियौं,’ कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले भने, ‘उनीहरूको डिएनए र निर्मलाको भेजाइनल स्वाबबाट लिइएको नमूना आपसमा नमिलेको रिपोर्ट आएको छ।’
यसअघि प्रहरीले अभियुक्त भनी पक्रेका दीलिपसिंह बिष्टको डिएनए पनि निर्मलाको भेजाइनल स्वाबको नमूनासँग मिलेको थिएन। प्रहरीले कञ्चनपुरका तत्कालीन एसपी दील्लीराज बिष्ट, उनका छोरा र भीमदत्तनगरका मेयरका भतिजाको पनि डिएनए परीक्षण गरेको थियो। उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको थियो।
यसैबीच केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले विज्ञहरूको सल्लाह लिएर सबै पाटाबाट यो घटनाको अनुसन्धान भइरहेको बताएका छन्।
‘विज्ञहरूको सुझावअनुसार हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं, ’ एसएसपी सुवेदीले भने।
निर्मलाको गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको शव फेला परेको थियो।
घटनाको तीन महिनासम्म दोषी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका बुवाआमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन धर्ना बसेका छन्।सेतोपाटी



