–सर्मिला बुढाथोकी–
दोलखा । ‘फाईट ब्याक, प्रहरी साथमा छ’ अभियानको प्रतिक्रिया लिने क्रममा बालिकाहरूले संरक्षकबाटै आफूहरू असुरक्षित रहने गरेको बताएका छन् । दोलखा प्रहरीले सञ्चालन गरेको ‘फाईट ब्याक, प्रहरी साथमा छ’ विशेष अभियान अन्र्तगत सहभागी बालिकाहरू (छात्राहरू)ले यस्तो बताउने गरेका हुन् ।
‘फिड ब्याक’मा आफूहरू परिवारका सदस्य, आफन्त, छिमेकी र कतिपय पिटी शिक्षक तथा क्यान्टिन सञ्चालकबाट यौन हिंसामा पर्ने गरेको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
त्यस्ता नजिककाहरूलेनै संवेदनशील अङ्गमा छुन खोज्ने, विभिन्न बहानामा नजिक आउन खोज्ने, यौन सम्बन्धी कुरा गर्ने गरेको छात्राहरूले दिएको प्रतिक्रियामा उल्लेख गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले बालबालिका माथि बढ्दै गएको यौन हिंसा तथा दुव्र्यवहारको अन्त्यको लागि ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान सुरु गरेको थियो । प्रहरीले सुरु गरेको अभियानका क्रममा यौन दुव्र्यवहार, यौन हिंसा, यौन हिंसामा संलग्न पक्ष, यौन हिंसाका अभियुक्तलाई हुने कानूनी सजाय, कानूनी उपचार खोज्ने तरिका, आत्म रक्षाको लागि अपनाउनु पर्ने उपाय लगायतको बारेमा प्रशिक्षित गरिएको थियो ।
कार्यक्रम सञ्चालन भएका प्रत्येक विद्यालयमा प्रतिक्रियाको लागि पेन ड्रप बक्स (पीडा राख्ने) राखिएको र त्यसमा अभियानमा सहभागी छात्राहरूले आफूहरू नजिकका आफन्तबाटै बढी यौन हिंसामा पर्ने गरेको गुनासो लिखित रुपमा पेन ड्रप बक्समा राखेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
प्राप्त ‘फिड ब्याक’को आधारमा कतिपय छात्राले आफूलाई दुव्र्यवहार गर्ने पिटी शिक्षक र क्यान्टिन सञ्चालकको नाम समेत उल्लेख गरेकोले उनीहरूलाई समेत बोलाएर सचेत गराउने र पुनः त्यस्तो घट्ना दोहोरिए कानूनी कार्वाही समेत गर्ने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
प्रहरीले सदरमुकाम चरिकोट र जिल्लाका अन्य ठाउँका नीजि तथा सामुदायीक गरी १७ विद्यालयमा अभियान सञ्चालन गरेको थियो । अभियानमा दुई हजार पाँच सय ६३ जना छात्राहरूको सहभागीता रहेकोमा एक हजार दुई सय ४७ जना छात्राले पेन ड्रप बक्समा ‘फिड ब्याक’ लेखेर राखेका थिए ।
त्यसरी प्राप्त प्रतिक्रिया मध्य एक सय ६७ प्रतिक्रिया निक्कै पीडादायी र अपत्यारिला खालका रहेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
प्राप्त ‘फिड ब्याक’को आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाले सम्बन्धित विद्यालयका प्रिन्सिपल, अभिभावकलाई बोलाएर जानकारी तथा सचेत गराउने, कतिपय छात्राले आफूलाई दुव्र्यवहार गर्ने पिटी शिक्षक र क्यान्टिन सञ्चालकको नाम समेत उल्लेख गरेकोले उनीहरूलाई समेत बोलाएर सचेत गराउने र पुनः त्यस्तो घट्ना दोहोरिए कानूनी कार्वाही समेत गर्ने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले अभियान सञ्चालन भएका मध्य १२ विद्यालयमा त्यहाँका प्रिन्सिपलको संयोजकत्वमा विद्यालय प्रहरी सम्पर्क समिति गठन गरेको र अब छात्राहरूबाट प्राप्त प्रतिक्रियाको आधारमा सञ्चालन हुने चेतनामूलक तथा कार्यमूलक अभियान सोही सम्पर्क समितिमार्फत सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।महिलाखबर



