विष्णुप्रसाद पोखरेल
दमक २५ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले सामुहिक प्रयास र भावानाबाट कृषि क्षेत्रको विकास सम्भव भएको बताउनु भएको छ । परम्परागत निर्वाहीमुखि कृषिलाइ प्रविधि एवं उपकरणमैत्री बनाउदै जान सकेमा आयातलाइ प्रतिस्थापन गर्न सकिने र वेरोजगारी समस्या हल गर्न समेत टेवा पुग्ने जनाउदै उहाँले यस्तो बताउनु भएको हो ।
सोमबार साँझ गौरादह ५ मा रहेको महारानीझोडा साना किसान सहकारी संस्थाले सञ्चालन गरेको नमुना एकीकृत सहकारी खेतीको अवलोकन गर्दै खनालले कृषिमा नयाँ प्रविधि भित्र्याउन र उन्नत कृषि प्रणाली विकासका लागि नीजि क्षेत्रलाइ आकर्षण गर्नका लागि सरकार प्रयासरत रहेको बताउनु भयो । एक्लो प्रयासले कृषिमा आत्मनिर्भर बन्न सक्ने अवस्था हुदैन, सामुहिक प्रयास जरुरी छ, उहाँले भन्नुभयो ।
खनालले स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न, विदेशबाट कृषि सम्बन्धी ज्ञान, सीप र पूँजीसहित फर्केका युवाहरुलाई व्यवसायिक कृषि पेशामा आवद्ध गर्न कृषिमा युवा विशेष कार्यक्रम सञ्चालन गरिने जनाउनु भयो । युवाहरुलाइ आकर्षित गर्दै कृषि पेशालाइ रोजगारको आधार बनाउनका लागि सरकार लागिपरेको छ, उहाँले भन्नुभयो ।
किसान र कृषि मैत्री ऐन कानून बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भयो । हाम्रो परम्परागत सोच र पुराना ऐन, कानूनलाइ परिवर्तन गरेर अघि बढ्नु पर्छ, यसमा सरकार प्रयत्नशिल छ, उहाँले भन्नुभयो । महारानीझोडामा सामुहिक भावानाका साथ गरिएको काम उदाहरणीय र अनुकरणीय पाएको भन्दै उहाँले अब यसलाइ सबैतिर विस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।
मन्त्री खनालले कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक–निजी–सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने सरकारको योजना रहेको जानकारी दिनु भयो । कृषि उत्पादन वृद्धिका लागि सघन कृषि विकास कार्यक्रम संचालन गरिन लागेको छ, उहाँले भन्नुभयो ।
सो अवसरमा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले सरकारले यस क्षेत्रलाइ कृषि पर्यटकीय क्षेत्र घोषणा गरेकोमा आफुहरुलाइ गर्व लागेको बताउदै नगरपालिकाले यस क्षेत्रको विकासका लागि ठोस योजना बनाउने बताउनु भयो । उहाँले यसमा सरकारलाइ सहयोग गर्नका लागि अनुरोध पनि गर्नु भयो ।
सहकारीकी अध्यक्ष मीना ढकालले एकीकृत नमुना सहकारी खेतीको बिषयमा जानकारी दिनु भएको थियो । बि.स.२०७० सालबाट गौरादह नगरपालिका ५ जत्रुचौनका ७४ साना किसान परिवारको ८० विगाहा जमिनलाई एकिकरण गरी नमुना एकिकृत सहकारी खेती र त्यसको अनुसरणका क्रममा गौरादह नगरपालिका ४ प्रगतीचोकका २८ जना साना किसानको २० विगाहा जमिन गरेर १ सय बिगाहमा सामुहिक खेती गरिदै आएको ढकालले बताउनु भयो । एकीकृत नमुना सहकारी खेतीमा केहि दिन अघि राष्ट्रपति बिद्यादेबी भण्डारी आउनु भएपछि यस क्षेत्रमा धेरैको चासो जान थालेको छ ।



