फागुन कृष्णपक्ष चतुर्दशी तिथिको रात्रिलाई महाशिवरात्रिका नामले सम्बोधन गरिन्छ । शिव साक्षात्कार भएको यो दिन शिव पूजन व्रत उपवास गरेर रात्रि जागरण बसी शिवपूजन गर्नाले सबै मनोकामना पूजा हुनुका साथै मृत्युपछि शिव सायुज्यता प्राप्त हुने शास्त्रमा वर्णन गरिएको छ । शिवरात्री कृष्ण पक्ष र रात्रीमा हुनुको अभिप्राय पनि अति बैज्ञानिक रहेको छ ।

शुक्ल पक्षमा चन्द्रमा सबल रहेका हुन्छन भने कृष्ण पक्षमा क्षीण रहन्छन अनि औशी तिथिमा चन्द्रदर्शन हुदै हुदैन । यसरी मनको अधिष्ठाता देवता चन्द्रमा अदर्शनीय भए पछि यसको प्रभाव समस्त प्र्राणीमा पर्दछ । चन्द्रमाका सुमधुर रश्मी रहित रात्रीमा स्वाभाविक रुपले तामसी बृत्तिको बृद्धि हुन्छ र मानव लगायत सबै प्राणीमा आपराधिक भावना बढदछ ।यही भावनालाई आध्यात्मिक भाषामा भुत प्रेत भनिन्छ । भुत प्रेतका नियन्त्रक भगवान शिव भएकाले चन्द्रमाको रश्मीको अभावमा प्राणीको मनमा जाग्ने कुत्सित भावना निवारण गर्न यो रात्रीमा शिव (कल्याणकारी आत्मानुसन्धानका अधिष्ठाता देवता ) उपासना गरिन्छ ।
रात्रि कालमा जागरण गरेर मनलाई ईश्वरमा समाहित गराउनु नै योग हो । रात्रिको समय हामी निद्रारुपी क्षणिक आनन्दमा त रमाउंछौ । यद्यपि निद्रा आलस्यको अर्को रुप पनि हो । रातको निरव र शान्त परिवेशमा आलस्य त्याग गरेर ब्रहमाण्डको सूक्ष्म अंशरुपी शरीरभित्र रहेको दिव्य शक्ति र सो शक्तिको स्रोत परमेश्वरको चिन्तन गर्न जति असहज दिन हुन्छ त्यति नै सहज रात्रि हुने भएकाले शिव पूजा गरेर शिव साक्षात्कार गर्नका लागि रात्रिको समय सर्वोत्तम मानिन्छ । योगीहरु रात्रिमा शिवचिन्तन गरेर कैवल्य मुक्ति प्राप्त गर्न समर्थ हुन्छन् भने गृहस्थहरु यही रात्रिमा शिवको पूजा गरेर सबै चन्द्रमा रहित रात्रीमा हुने मनोविकारलाई समाप्त पार्दै आप्mना सम्पूर्ण मनोकामना पूरा गर्न सक्दछन । शिवरात्रीको सारभूत रहस्य यही हो ।



