झलनाथ खनाल
ऐतिहासिक झापा सङ्घर्षका आन्तरिक तथा बाह्य प्रभाव केके थिए भन्ने प्रश्नस“गै नेपालको कम्युनिस्ट आन्दोलनको समग्रता जोडिन्छ । नेपालमा कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा सुरुवात भयो । त्यो पहिलो दशकमा नेपालको कम्युनिस्ट आन्दोलन विकसित विस्तारित र साङ्गठनिक रूपमा फैल“दै पनि गयो । २०१० सालमा पहिलो महाधिवेशन भएपछि दोस्रो दशकमा आएर पनि कम्युनिस्ट आन्दोलन विकास र विस्तारतिर नै गयो । तर, तेस्रो महाधिवेशनतिर आएपछि हाम्रो गौरवशाली नेपाल कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी भड्काउहरू देखा पर्न थाले । यी भड्काउहरूले पार्टीभित्र वैचारिक, राजनीतिक र सैद्धान्तिक विग्रहहरू पैदा गर्दै लगे । ती विग्रहहरूले सङ्गठनात्मक क्षेत्रलाई पनि प्रभावित पार्न थाले । दोस्रो दशक समाप्त भएर २० को दशक लाग्दाखेरि नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनका रेखाहरू कोरिन थालेका थिए । तैपनि दक्षिणपन्थका विरुद्ध लड्दै नेपालको कम्युनिस्ट आन्दोलनले पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । तर, तेस्रो राष्ट्रिय महाधिवेशनले पनि दक्षिणपन्थी भड्काउका आधारहरू र त्यसका कारणहरू तथा त्यसका अभिव्यक्तिहरूलाई ठीक ढङ्गले चिन्न, खुट्याउन र तिनीहरूको यथोचित ढङ्गले खण्डन गर्न सकेन । यसले गर्दा समग्र कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद विभिन्न रूपले हुर्कंदै जान थाल्यो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनका आधारहरू तयार पा¥यो र २० को दशक कम्युनिस्ट आन्दोलनमा नराम्रो ढङ्गले विभाजनको दशक बन्न पुग्यो ।
यही आन्दोलनका क्रममा पुष्पलालले नेतृत्व गर्नुभएको समूह, तुलसीलालले नेतृत्व गर्नुभएका समूह मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको समूह प्रकट भए । त्यही सिलसिलामा मोहनविक्रम सिंहले नेतृत्व गर्नुभएको समूह र निर्मल लामाले नेतृत्व गर्नुभएको समूह पनि प्रकट भए । यसरी २० को दशकमा विभिन्न कम्युनिस्ट समूहहरू प्रकट हु“दै गए । यो विभाजनको प्रक्रिया भनेको पार्टीको कार्यदिशामा दक्षिणपन्थी भड्काउको मुख्य उपज थियो । यही सिलसिलामा झापामा र देशभरी नै युवा क्रान्तिकारीहरूको सङ्ख्या निरन्तर बढ्दै गइरहेको थियो । युवा, विद्यार्थी, शिक्षकहरू र विभिन्न पेसामा कार्यरत मानिसहरू विभिन्न ढङ्गले कम्युनिस्ट आन्दोलनतिर आकर्षित भइरहेका थिए, देशभक्तिपूर्ण आन्दोलनमा आकर्षित भइरहेका थिए र लोकतान्त्रिक आन्दोलनमा आकर्षित भइरहेका थिए । उनीहरूको ठूलो पङ्क्ति मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म जागरण पैदा गर्दै प्रकट भइरहेको थियो । त्यसका अनेकन बाह्य कारणहरू पनि थिए । त्यतिबेला चीनमा सांस्कृतिक क्रान्ति उर्लंदो अवस्थामा थियो भने अर्कोतर्फ भारतमा नक्सलवाडी आन्दोलनले सिङ्गो भारतलाई हल्लाइरहेको अवस्था थियो । यी दुवैतिरका घटनाहरूले नेपाली जनमानसलाई प्रभावित पारेका थिए । नेपालका युवाहरू कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भइरहेका थिए । र, विभिन्न कम्युनिस्ट समूहहरूमध्ये कतिपय समूहहरूस“ग ती आवद्ध पनि भए । र, स्वतन्त्र रूपले पनि नया“ कम्युनिस्ट समूहहरू एवम् नया“ क्रान्तिकारी समूहहरू विकसित हुन थाले ।
यस्तै सिलसिलामा झापामा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीले पूर्व कोसी प्रान्तीय कमिटीस“ग विद्रोह ग¥यो । र, ऊ स्वतन्त्र भयो । देशका अनेकन् भागहरूमा जिल्ला कमिटीहरू केन्द्रबाट स्वतन्त्र भइरहेका थिए । र अलगअलग समूहहरू बनिरहेका थिए । यिनै समूहहरूमध्ये झापाली कमरेडहरूको एउटा विद्रोही समूह प्रकट भयो । त्यो विद्रोही समूहले पार्टी नेतृत्वस“ग पनि विद्रोह गर्ने र नया“ ढङ्गले क्रान्तिकारी कार्यदिशातिर अगाडि बढ्नुपर्छ भनेर पहलकदमी लियो । त्यो पहलकदमी एउटा महŒवपूर्ण पलकदमी थियो । त्यो पार्टीमा व्याप्त हु“दै गएको दक्षिणपन्थी अवसरवादविरुद्ध थियो । दक्षिणपन्थी अवसरवादको विरोध गरिएको हुनाले देशभरिका क्रान्तिकारीहरूका निमित्त झापा विद्रोह एउटा आकर्षणको विषय बन्यो । धेरै युवाहरू आकर्षित पनि भए । तर, त्यो आन्दोलनलाई झापामा सुरु भएको वर्गशत्रु खत्तमको सङ्घर्षलाई प्रशासनले भने निर्ममतापूर्वक दमन ग¥यो । धेरै क्रान्तिकारीहरूको यो सिलसिलामा हत्या पनि भयो । तर, झापा सङ्घर्षकै सारलाई केन्द्रबिन्दुमा राख्दै दक्षिपन्थी अवसरवादका विरुद्धको सङ्घर्ष र राजतन्त्रविरुद्धका सङ्घर्षलाई केन्द्रबिन्दुमा राखेर आखिर २०३२ सालमा आएर नया“ कोअर्डिनेसन कमिटी निर्माण हुन पुग्यो ।
यसरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटीको जब निर्माण भयो, त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने र एकताबद्ध गर्ने एउटा नया“ मञ्चको निर्माण ग¥यो । त्यो एउटा राष्ट्रिय मञ्चका रूपमा नै प्रकट भयो । कम्युनिस्ट आन्दोलनमा त्यो एउटा नया“ समूहका रूपमा पनि प्रकट भयो । त्यसले गुटबन्दीलाई अगाडि बढाएन । त्यसले सम्पूर्ण कम्युनिस्टहरूलाई एक बनाउने नया“ अभियानको थालनी ग¥यो । तर, अफसोचको कुरा त्यो आन्दोलनभित्रै विभिन्न किसिमका उग्रवामपन्थी प्रवृत्तिहरू पनि थिए । ती उग्रवामपन्थी प्रवृत्तिहरूविरुद्ध जुध्नैपर्ने हुन्थ्यो । त्यसो नगरी आन्दोलनलाई अगाडि बढाउन सकि“दैनथ्यो ।
पहिलो उग्रवामपन्थी भड्काउ
त्यतिबेला झापा सङ्घर्ष नक्सलवाडी सङ्घर्षस“ग विभिन्न ढङ्गले जोडियो । नक्सलवाडी सङ्घर्षको प्रभावलाई झापा सङ्घर्षले अस्वीकार गर्न सकेको थिएन । अर्थात्, झापा सङ्घर्षका क्रान्तिकारीहरूले चारु मजुमदारको लाइनलाई नेपाली क्रान्तिको अभिन्न अङ्ग बनाउन पुगेका थिए । यो पहिलो उग्रवामपन्थी भड्काउ थियो । त्यसो गर्नुहु“दैनथ्यो । त्यसलाई नसच्याई नेपाली क्रान्तिलाई अगाडि बढाउन सम्भव थिएन । दोस्रो, उनीहरूले ‘एक एरिया, युनिट र एक एक्सन’को कार्यपद्धति अपनाएका थिए । त्यो कार्यपद्धति पनि उग्रवामपन्थी कार्यपद्धति थियो । व्यापक रूपले जनमत निर्माण नगरिकन, क्रान्तिको जनआधार निर्माण नगरिकन खासखास वर्गशत्रुलाई चित्रित गरेर एउटा एरियामा स्क्वायड बनाउने र एक्सन गर्ने कामले उग्रतातर्फ लैजान्थ्यो । र, त्यसले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढ्न दि“दैनथ्यो । क्रान्तिकारी पार्टी बनाउने काममा झन् धक्का दिन्थ्यो । प्रतिक्रियावादीहरूलाई सचेत र सतर्क बन्न तथा उनीहरूका हमलाहरूलाई निम्त्याउन मद्दत गथ्र्यो । तेस्रो, आन्दोलनमा आम रूपमा नै एक्सन प्र्रधानता थियो । अथवा, पहिले एक्सन गर्ने अनि सङ्गठन निर्माण गर्ने प्रवृत्ति हावी थियो । सबैभन्दा पहिले सङ्गठन निर्माण गर्ने निश्चित चेतना लिएर जनतालाई गोलबन्द गर्ने, उनीहरूलाई आन्दोलित गर्दै जाने र सोही क्रममा नै विभिन्न प्रकारका एक्सनहरू हुन सक्थे । तर, पहिला एक्सन गरेर त्यसपछाडि सङ्गठन निर्माण गर्ने खालका कमजोरीहरू थिए । ती कमजोरीहरू पनि उग्रवामपन्थी भड्काउकै अभिन्न अङ्ग थिए । चौथो, सङ्घर्षलाई अगाडि लैजाने सिलसिलामा निश्चित वर्गशत्रुलाई चिन्ने र त्यो वर्गशत्रु खत्तम गर्ने कार्यपद्धति अपनाइएको थियो । एक एरिया, एक युनिट, एक एक्सनको कार्यपद्धति त्यसैस“ग सम्बन्धित थियो । र, त्यो कार्यपद्धतिलाई लागू गर्नका लागि पनि पहिले वर्गशत्रु खत्तम गर्ने खालको कुरा थियो । त्यो आफैंमा चरम उग्रवामपन्थी चिन्तन थियो । त्यो चिन्तनको कारणले पनि कतिपय ठाउ“मा हाम्रा कमरेडहरू गिरफ्तार हुनुभयो । र, सङ्गठनलाई नोक्सानी पुग्ने काम भयो ।
पा“चौं, सशस्त्र सङ्घर्षमा लागिहाल्नुपर्ने वा तुरुन्तै सशस्त्र सङ्घर्ष नै एक मात्र कार्यदिशा हो भन्ने ढङ्गले त्यतिबेलाको कार्यदिशा व्यवस्थित गरिएको थियो । जबकि, जनसङ्गठन निर्माण गर्ने, जनआन्दोलनहरू निर्माण गर्ने, जनमतहरू निर्माण गर्ने, अनि त्यसपछाडि एउटा निश्चित बिन्दुमा गएर मात्रै सशस्त्र सङ्घर्ष गर्नुपर्नेमा सुरुदेखि नै सशस्त्र सङ्घर्ष गर्नुपर्छ भन्ने अवधारणा विद्यमान थियो । त्यसले पनि त्यतिबेलाको कार्यदिशामा उग्रवामपन्थी भड्काउ रहेको कुरालाई प्रस्ट पार्दछ ।
छैटौं, अझै अर्को अनौठो त के थियो भने नेपाल कम्युनिस्ट पार्टीलाई नै नमान्ने कुरा पनि थियो । अर्थात्, नेपाल कम्युनिस्ट पार्टीलाई चाहि“ उग्र बुर्जुवाहरूको पार्टीको रूपमा यो संशोधनवादी पार्टीका रूपमा चित्रित गर्ने र बिल्कुलै नेपालमा नया“ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्ने भन्ने अवधारणा अघि सारिएको थियो । यो सिङ्गो नेपाल कम्युनिस्ट पार्टीलाई नै निषेध गर्ने अर्को एउटा गम्भीर खालको उग्रवामपन्थी भड्काव थियो ।
सातौं, पार्टीको सङ्गठन निर्माण गर्ने कुरामा सबैभन्दा पहिलो सङ्गठन नै सैनिक सङ्गठन रहने खालको कुरा नै थियो । अर्थात्, एउटा एरियामा जाने, त्यो एरियामा सबैभन्दा पहिला स्क्वायड बनाउने कुरा थियो । त्यो स्क्वायड बनाउने कुरा भनेको सैनिक सङ्गठन निर्माण गर्ने कुरा हो । सैनिक सङ्गठनलाई नै प्रधानता दिइएको थियो र पहिले जनसङ्गठनहरू, पार्टी सङ्गठनहरू नबनाईकन सैनिक सङ्गठन बनाउनुपर्छ भन्ने अवधारणा आफैंमा अर्को उग्रवामपन्थी भड्काउ थियो ।
आठौं, त्यतिबेला जनआन्दोलन र जनसङ्गठनलाई यथोचित महŒव दिइएकै थिएन । जनआन्दोलन र जनसङ्गठन बनाउनुचाहि“ संशोधनवाद हो र त्यसबाट संशोधनबादी भइन्छ भन्ने खालको अवधारणा विद्यमान थियो । जबकि, जनसङ्गठनहरू निर्माण नगरिकन वा जनआन्दोलन नगरिकन जनचेतनालाई माथि उठाउनै सकि“दैनथ्यो । वर्गसङ्घर्षलाई अगाडि बढाउन सकि“दैनथ्यो । क्रान्तिको प्राथमिक अवस्थामा यस्तो विज्ञानलाई पनि ठीक ढङ्गले नबुझ्ने र उल्टा बुझ्ने खालका कुराहरू थिए । यो अर्को उग्रवामपन्थी गल्ती थियो ।
युवाहरूलाई सङ्गठित गर्न युवा रेड गार्डहरू, बच्चाहरूलाई सङ्गठित गर्न बाल रेड गार्डहरू बनाउने प्रवृत्ति थियो । त्यसले उनीहरूलाई सङ्गठित त गथ्र्यो, तर उनीहरूलाई काम दिने मामिलामा बढीभन्दा बढी उग्रवामपन्थी कारबाहीतर्फ उन्मुख पाथ्र्यो । त्यो पनि अर्को एउटा उग्रवामपन्थी गल्ती थियो । त्यसैगरी, विभिन्न वर्गीय सङ्गठनहरू निर्माण गर्नुपर्ने कुरा र सामुदायिक सङ्गठनहरू निर्माण गर्नुपर्ने कुराहरूलाई अस्वीकार गरिएको थियो र एकैपटक विभिन्न खालका क्रान्तिकारी सङ्गठनहरू निर्माण गर्ने, जस्तो कि विद्यार्थीहरूमा क्रान्तिकारी विद्यार्थी सङ्गठन, महिलाहरूमा क्रान्तिकारी महिला सङ्गठन, किसानहरूमा क्रान्तिकारी किसान सगठन तर अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल युवा सङ्घ, विद्यार्थी सङ्घ बनाउने कुरालाई यथोचित महŒव नदिने प्रवृत्ति थियो । र, समग्रमा त्यतिबेलाको कार्यदिशा नै सशस्त्र सङ्घर्षको कार्यदिशा थियो । जबकि, सशस्त्र सङ्घर्षका लागि आवश्यक आधार तयार पारेर मात्रै हामी अगाडि बढ्न सक्थ्यौं । यी कुराहरू झापा सङ्घर्षकालबाट विकसित भएका मुख्य उग्रवामपन्थी गल्तीहरू हुन् । यस्ता गल्तीहरू रहेको हुनाले हामीले को–अर्डिनेसन निर्माण गरिसकेपछि पनि राम्रोस“ग सङ्घर्षलाई विकास गर्न सकेनौं । यी उग्रवामपन्थी गल्तीहरूले हाम्रो धाराको विकास र विस्तारलाई विभिन्न ढङ्गले रोक्दै आए । तर पनि हामीले २०३२ सालमा को–अर्डिनेसन निर्माण गरिसकेपछि बिस्तारै बिस्तारै सङ्गठनलाई विभिन्न ठाउ“मा फैलाउ“दै लग्यौं । हामीले इलाम, पा“चथर र ताप्लेजुङसम्म सङ्गठनलाई फैलायौं । झापा र मोरङमा पनि फैलायौं । सुनसरी, सिरहा र धनुषामा पनि फैलायौं । काठमाडांै, सिन्धुपाल्चोक हु“दै क्रमशः हाम्रा सङ्गठनहरू फैलि“दै अघि बढे ।
यस जाने सिलसिलामा अन्य कम्युनिस्ट समूहहरूस“ग व्यापक रूपले सम्बन्ध बढ्दै गए । सम्बन्ध सम्पर्क बढ्दै जाने क्रममा हाम्रो एकताका प्रक्रिया पनि अगाडि बढ्न जान थाले । यही सिलसिलामा ०३३÷३४ सालतिर हामीले तत्कालीन मुक्ति मोर्चास“ग एकता कायम गर्न सक्यौं । त्यही कालखण्डमा दाङको सन्देश समूहस“ग पनि एकता कायम गर्न सक्यौं । पूर्वको रातोझन्डास“ग पनि एकता कायम गर्न सफल भयौं । यसले हाम्रो को–अर्डिनेसन केन्द्रको आधार निकै विस्तार गर्दै जान थाल्यो । अन्ततः हामीले ०३५ सालमा नेकपा (माले)को स्थापना ग¥यौं । नेकपा (माले) को गठन भनेको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने एक महŒवपूर्ण घटना थियो । त्यसबेलासम्म पनि हामीस“ग धेरै उग्रवामपन्थी भड्काउहरू थिए ।
हामीले क्रमशः उग्रवामपन्थी भड्काउहरूलाई चिन्दै सच्याउन पनि थालेका थियौं । को–अर्डिनेसन कालदेखि नै हामीले यो क्रम थालेका थियौं । खासगरी २०३३ सालबाट हामीले यो अभियान थालनी ग¥यौं । सच्याउने अभियानको थालनी मैले नै सुरुवात गरेको थिए“ । क्रमशः हामीले को–अर्डिनेसन कमिटीभित्र नै रहेका कमीकमजोरीहरूलाई हटाउन थाल्यौं । र, ती कुराहरू हट्दैहट्दै आखिर ०३७ सालमा तत्कालीन नेकपा (माले)को सातौं बैठकमा आएपछि हामीले मुख्य रूपमा हाम्रो कार्यदिशालाई नै रूपान्तरण ग¥यौं । फेरि हामीले जनआन्दोलनको कार्यदिशा लियौं । सशस्त्र सङ्घर्षको कार्यदिशालाई स्थगित ग¥यौं । हामीले व्यापक तयारी नगरी हिंसात्मक सङ्घर्षको कुरा गर्नुहु“दैन, हिंसात्मक सङ्घर्षको सम्भावनालाई अस्वीकार गर्नुहु“दैन तर सङ्घर्ष र सङ्गठनका अन्य तमाम रूपहरूलाई अपनाएर मात्रै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं ।
०३७ सालमा आएर उग्रवामपन्थी भड्काउहरूलाई सच्याइसकेपछि अब हाम्रो देशको ठोस परिस्थितिअनुरूप माक्र्सवाद लेनिनवादको प्रयोगमा कसरी एकरूपता कायम गर्नुपर्छ र नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई समग्रमा कसरी विकास गर्नुपर्छ भन्ने विषयवस्तु हाम्रा सामु आयो । यी विषयवस्तु आएपछि हाम्रो पार्टीमा गम्भीर बहस र विवादहरू सुरु भए तर हामीहरू छलफल गर्र्दै गयौं । नेपाली क्रान्तिका विविध विषयहरूमध्ये उठेका प्रमुख सवालहरू यतिबेला निम्न बमोजिम रहेका थिए ः
पहिलो– नेपाली क्रान्ति नया“ जनवादी क्रान्ति हो । नया“ जनवादी क्रान्ति दीर्घकालीलन रूपले सम्पन्न हुन्छ । यसको सारतŒव भनेको कृषि क्रान्ति हो । जसरी चीनमा तीन÷चार चरण भएर क्रान्ति सफल भयो त्यसरी नै नेपालमा कति चरण भएर क्रान्ति पूरा हुन्छ ? यो प्रश्न हाम्रे सामु आयो र हामी गम्भीर विवाद र बहसमा लाग्यौं ।
नेपाली क्रान्तिले ००७ सालमा एउटा चरण पार ग¥यो । ००७ देखि ०१७ सम्ममा अर्को चरण पार ग¥यो । ०१७ देखि हामी पञ्चायताकालमा थियौं, त्यो तेस्रो चरण थियो । त्यो पञ्चायतकालको सङ्घर्षकै सिलसिलामा टुङ्गिन्छ कि अथवा अरू कति चरण पार गरेर जाला भन्ने खालको बहस हाम्रो बीचमा थियो । त्यो बहसलाई हामीले क्रमशः टुङ्गो लगायौं ।
दोस्रो– प्रत्येक चरणमा यसरी क्रान्तिका जो उपचरणहरू सिर्जना हुन्छन्, सिङ्गो क्रान्तिको जो आम चरण हुन्छ, र त्यो आम चरणभित्र अनेकौं प्रकारका उपचरणहरू आउने गर्दछन् । ती उपचरणअनुरूप पार्टीले क्रान्तिका कार्यनीतिक दिशाहरू निर्धारण गर्नुपर्ने हुन्छ । त्यो कार्यनीतिक कार्यदिशा निर्धारण गर्न सिपालु भइएन भने परिस्थिति बदलिसकेको हुन्छ, कसकाविरुद्ध प्रहार गरेर जाने, कसलाई एकताबद्ध बनाउ“दै जाने ? भन्ने विषयमा भ्रमहरू पैदा हुन सक्छन् । क्रान्तिलाई अगाडि बढाउन कार्यनीतिक कार्यदिशा प्रस्ट पार्नुपर्छ । कार्यनीतिक कार्यदिशा प्रस्ट भएन भने कुनै पनि उपचरणमा सङ्घर्षका कार्यक्रमहरूलाई अगाडि बढाउन सकि“दैन । तसर्थ, हामीले प्रत्येक चरणका कार्यनीतिक कार्यदिशा प्रस्ट पार्ने काम ग¥यौं ।
तेस्रो– यस्ता क्रान्तिका विभिन्न उपचरणहरूमा पार्टीको मुख्य कार्यनीतिक नारा कसरी निर्धारण गर्नुपर्छ भन्ने विषयमा निकै हाम्रो बीचमा लामो विवाद चल्यो । यस विषयमा २०३९ सालमा चर्को विवाद भयो । त्यतिबेला कमरेड सीपी मैनालीले पार्टी स्वतन्त्रतालाई मुख्य कार्यनीतिक नारा बनाएर जाऔं भन्ने प्रस्ताव गर्नुभयो । हामीले त्यो प्रस्ताव अगाडि सार्दाखेरि पार्टीको मुख्य कार्यनीतिक नारामा भड्काव पैदा हुनसक्ने कुरा देख्यौं । हामीले के भन्यौ भने निरङ्कुशतन्त्रको समाप्ति र पूर्ण राजनीतिक स्वतन्त्रतालाई मुख्य नारा बनाएर जानुपर्दछ र कुनै पनि बेलामा पार्टीले मुख्य कार्यनीतिक नारा तय गर्दाखेरि त्यसको सारतŒव क्रान्तिकारी भएको हुनैपर्दछ । त्यतिबेलाको प्रमुख शत्रुमाथि प्रहार भएको हुनैपर्दछ । र, प्रमुख परिवर्तनको लक्ष्य पनि त्यसले वेष्ठित गरेको हुनैपर्दछ । तब मात्रै मुख्य कार्यनीतिक नारा उपयुक्त हुन्छ भन्ने टुङ्गोमा हामी पुग्यौं । र, मुख्य कार्यनीतिक नारालाई पनि लामो बहस र छलफलपछि टुङ्गोमा पु¥यायौं ।
चौथो – नेपाली क्रान्ति जसरी विभिन्न उपचरण हु“दै अगाडि बढ्छ, ती उपचरणअनुरूप पार्टीले क्रान्तिका निम्ति ठोस कार्यक्रमहरू अगाडि सार्नुपर्ने हुन्छ । र, नया“ जनवादी क्रान्ति एउटा दीर्घकालीन क्रान्ति भएको हुनाले त्यस्तो क्रान्तिका निम्ति आम कार्यक्रम र ठोस कार्यक्रम अगाडि सार्नुपर्ने हुन्छ । सिङ्गो कालखण्डका लागि आम कार्यक्रम हुन्छ भने प्रत्येक उपचरणका लागि ठोस कार्यक्रम हुन्छ । यो कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा पनि हाम्रो बीचमा लामो बहस चल्यो । हामीले यी कुराहरूलाई लामो छलफलपछि टुङ्गोमा पु¥यायौं ।
पा“चौं सवाल– हामीले त्यसपछि प्रधान अन्तरविरोधबारे बहस ग¥यौं । यो बहस पनि त्यति नै लामो समयसम्म चल्यो । नेपाली समाजको प्रधानअन्तरविरोध भनेको के हो ? यसमा अनेक खालका अवधारणाहरू प्रकट भएका थिए । अनेक अवधारणाको बीचमा हामीले बहस र छलफल ग¥यौं । त्यो बहस र छलफललाई पनि सफलतापूर्वक टुङ्ग्यायौं । नेपाली समाजमा तत्कालिन अवस्थामा जमिन्दार बर्ग र पु“जीपति वर्ग एकातिर र व्यापक जनसमुदाय अर्कोतिर भएकाले त्यो अन्तरविरोध वर्गीय रूपले प्रधान अन्तरविरोध हो । राजनीतिक रूपले चाहि“ त्यो राजतन्त्र र व्यापक जनताबीचको अन्तरविरोधका रूपमा यो प्रकट भएको छ भन्ने हामीले निष्कर्ष निकाल्यौं । यस आधारमा प्रधान अन्तरविरोधको बहसलाई पनि हामीले टुङ्ग्यायौं ।
छैटौं – नेपाली क्रान्तिको विद्यामान अवस्थामा प्रधान शत्रु को हो ? कसलाई प्रहार गर्ने ? कसैले भन्थे नेपाली काङ्ग्रेस प्रधान शत्रु हो । कसैले भारत प्रधान शत्रु हो भन्थे । कसैले राजतन्त्र प्रधान शत्रु मान्थे । यसरी प्रधान शत्रुका बारेमा पनि एकरूप धारणा थिएन । लामो बहसपछाडि हामी के टुङ्गोमा पुग्यौं भने प्रधान अन्तरविरोध र प्रधान अन्तरविरोधको प्रधान पक्षले नै मुख्य शत्रुको समस्यालाई समाधान गर्दछ, निर्धारण गर्दछ र प्रधान अन्तरविरोध राजनीतिक रूपले राजतन्त्र र व्यापक जनताको बीचमा भइसकेपछि प्रधान शत्रु भनेको राजतन्त्र नै हो । त्यकारणले राजतन्त्रविरुद्ध नै हामीले हाम्रा सम्पूर्ण सङ्घर्षलाई केन्द्रित गरेर अगाडि बढ्नुपर्छ । त्यसरी मात्रै हाम्रो क्रान्ति बढ्न सक्छ भनेर प्रधान शत्रुको समस्या सुल्झायौं ।
आठौं – बहसको मुद्दा अझै रोचक थियो । पार्टीको मार्गदर्शक सिद्धान्त के हो ? त्यतिबेला पार्टीको मार्गदर्शक सिद्धान्तबारे विभिन्न खालका बहसहरू थिए । कोही माक्र्सवाद मात्रै भन्दा पुग्छ भन्नेहरू पनि थिए । कोही माक्र्सवाद–लेनिनवाद हाम्रो सिद्धान्त हो भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओवाद भन्नुपर्छ भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा भन्नुपर्छ भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा र चारु मजुमदार लाइन भन्नुपर्छ भन्नेहरू पनि थिए । त्यतिबेला यस्ता विभिन्न खालका विचारहरू थिए । यी विचारहरूमा पनि गम्भीर र गहन बहसपछाडि हामीले हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त भनेको वास्तवमा माक्र्सवाद–लेनिनवाद नै हो । माक्र्सवाद–लेनिनवाद नै सार्वभौम सच्चाइ हो । सिङ्गो विश्वका कुनै पनि भागमा कार्यान्वयन गर्न सकिने मार्गदर्शक सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद हो । यसमा अरू कुनै पुच्छरहरू जोडिरहन जरुरी हु“दैन भन्ने निष्कर्षमा हामी पुग्यौं । र, यसरी हामीले त्यसलाई पनि संश्लेषण ग¥यौं ।
नवौं – विश्वका समाजवादी मुलुकहरूलाई कसरी हेर्ने ? सोभियत सङ्घलाई समाजवादी मुलुक मान्ने कि नमान्ने ? पूर्वी युरोपका मुलुकहरूलाई समाजवादी मान्ने कि नमान्ने ? अन्य मुलुकहरूलाई पनि के आधारमा समाजवादी मुलुक मान्ने ? हामीले कस्तो मापदण्डका आधारमा कुनै मुलुकलाई समाजवादी मान्ने भन्ने सवालमा पनि गम्भीर बहस ग¥यौं । त्यो बहस छलफल पछाडि अन्ततः हामीले समाजवादी आनदोलनलाई हेर्ने सवालमा एउटा डकुमेन्ट नै पेस ग¥यौं । मैले नै त्यो दस्तावेज पेस गरें । त्यो दस्तावेजमा सर्वसम्मति कायम भयो । र, हामीले तत्कालीन सोभियत सङ्घमा कतिपय कमिकमजोरीका बाबजूद पनि समाजवादी मुलुक नै हो भन्ने निष्कर्ष निकाल्यौं । पूर्वी युरोपेली मुलुकहरू पनि समाजवादी मुलुकहरू नै हुन् । चीन, भियतनाम, लाओस, क्युबा, उत्तर कोरियालगायत देशहरू समाजवादी देशहरू हुन् । हरेक देशको समाजवाद आफ्नै विशिष्टताअनुरूप विकसित हुन्छ । उनीहरूको समाजवादका स्वरूपहरू पनि भिन्नभिन्न हुन सक्छन् । तर, उनीहरू सबै समाजवादी मुलुकहरू नै हुन् । हामीले त्यस्तो निष्कर्ष निकाल्यौं ।
दसौं – समाजवादी मुलुकभित्रका कमीकमजोरीलाई पनि हामीले नियाल्नुपर्ने हुन्छ । नेपालमा समाजवाद कसरी स्थापना हुन्छ ? नेपालको समाजवाद अरू देशको समाजवादस“ग कतिपय कुरामा भिन्न हुन सक्छ । त्यसकारण, समाजवादको कुनै एउटा मोडल निर्माण हुने अनि त्यो मोडलका पछाडि सबै लाग्ने भन्ने कुरा हु“दैन । सोभियत सङ्घको समाजवाद पनि त्यस्तो मोडल समाजवाद होइन । सोभियत सङ्घको विशिष्टताका आधारमा त्यहा“ समाजवाद स्थापना भयो । त्यसलाई आफ्नै ढङ्गले उनीहरूले विकास गर्नुपर्ने हुन्छ । त्यस विषयमा पनि व्यापक छलफल गरेर समाजवादसम्बन्धी विवादलाई टुङ्गो लगायौं ।
यही बीचमा चीनमा तेङ सियाओ पेङको उदय भयो । ग्याङ अफ फोरको पतन भयो । तेङ सियाओ पेङ भनेका दक्षिणपन्थी अवसरवादी हुन् र उनले अब चीनमा पनि संशोधनवाद हावी गर्छन् । चीनमा प्रतिक्रान्ति भयो भनेर मोहनविक्रम सिंहलगायतका नेताहरूले त्यो खालका अवधारणाहरू प्रस्तुत गरे । त्यसले त्यो बेला नेपालमा निकै ठूलो बहस सिर्जना ग¥यो र हामीले एकताबद्ध भएर त्यो गलत कुरालाई चि¥यौं । र वास्तवमा तेङको नेतृत्व पनि एउटा क्रान्तिकारी नेतृत्व नै हो । कम्युनिस्ट पार्टीको नेतृत्व नै हो । र, चीन आधारभूत रूपले समाजवादको बाटोमै रहेको छ । चीनले उग्रवामपन्थी भड्काउ जुन पैदा भएको थियो, त्यसलाई सच्यायो भन्ने निष्कर्षमा पुग्यौं । आज यथार्थमा हाम्रा ती नीतिहरू सही थिए भन्ने पुष्टि भएको छ ।
एघारौं – नया“ जनवादलाई लक्ष्य बनाएर अघि बढिरहेका थियौं । ००६ सालदेखि नै हाम्रो पार्टीको कार्यक्रमिक लक्ष्य नया“ जनवाद थियो । त्यो नया“ जनवाद एकदलीय जनवाद हुन्छ कि बहुदलीय जनवाद हुन्छ भन्ने प्रश्नमा पनि बहस ग¥यौं । यो बहस छलफल गरेर ०४६ सालमा पार्टीको चौथो राष्ट्रिय महाधिवेशनमा टुङ्गो लगायौं । नया“ जनवाद पनि बहुदलीय जनवाद हुन्छ । वास्तवमा बहुदलीय जनवादको आधार चौथो महाधिवेशनले तयार पारेको थियो ।
यी एघारवटा मुख्य मुद्दाहरूमा त्यतिबेला बहस गरेर, ठूलाठूला र लामालामा विवाद गरेर एक–एक गर्दै टुंगोमा पु¥याउने काम भयो । यसरी आखिरमा हामी एउटा संश्लेषणमा पुग्यौं । यही क्रममा नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूको एउटा शृङ्खला तयार भयो । वास्तवमा ०३९ सालदेखि ०४६ सालसम्मको तत्कालीन नेकपा (माले)को विकास क्रममा यी मुद्दाहरूको निरूपण गर्ने काम एउटा ऐतिहासिक महŒवको काम थियो । यिनै कामहरू सम्पादन गर्ने कुराले नै नेपाली क्रान्तिको सिद्धान्तको शृङ्खला निर्माण भयो ।
पा“चौं महाधिवेशनमा हामीले कार्यक्रमका बारेमा केही बहस ग¥यौं तर त्यो कार्यक्रमको सैद्धान्तिक आधार भने चौथो महाधिवेशनमै तयार पारेको कुरा स्पष्टै छ । यसरी चौथो महाधिवेशनसम्म आइपुग्दा हामीले गरेका मुख्य सैद्धान्तिक बहस यिनै हुन् र म नै त्यतिबेला पार्टीको महासचिव थिए“ । मेरो नेतृत्वमा यी सम्पूर्ण सैद्धान्तिक मुद्दाहरू निरूपण हुन पुगेका थिए । यसरी हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्त स्पष्ट भयो । ०४६ सालमा हामीले चौथो महाधिवेशन सम्पन्न ग¥यौं । त्यस महाधिवेशनमा जुन नीतिगत सवालहरू हामीले हल ग¥यौं, व्यवहारमा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अब राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध बृहत् आन्दोलन गर्नुपर्छ, हामीले संयुक्त आन्दोलनबाट जनउभार सिर्जना गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । त्यो निष्कर्षका साथ चौथो महाधिवेशनमा हामीले एउटा प्रस्ताव नै पारित ग¥यौं । र, हामीले सबै कम्युनिस्ट पार्टीहरू मिलाएर एउटा संयुक्त मोर्चा निर्माण गर्ने निर्णय ग¥यौं । पार्टीले मलाई नै त्यो संयुक्त मोर्चा बनाउने जिम्मेवारी दियो । मैले सबै कम्युनिस्ट समूहहरूस“ग छलफल गरें । त्यसपछि संयुक्त वाममोर्चा निर्माण भयो । ०४६ माघसम्म पुग्दा हामीले संयुक्त वाममोर्चा निर्माण गरिसकेका थियौं । काङ्ग्रेसस“ग पनि हामीले वार्ता ग¥यौं ।
त्यो वार्तापछि एउटा बृहत् संयुक्त मोर्चा निर्माण गरेर ०४६ फागुन ७ गते संयुक्त आन्दोलनको सुरुवात ग¥यौं । त्यो सुरुवातपछि ५१ दिन पनि पञ्चायत टिकेन । ५१ दिन पुग्दानपुग्दै ०४६ साल चैत २६ गते तत्कालीन निर्दलीय तानाशाही पञ्चायती व्यवस्था सिसाको महलझैं गल्र्यामगुर्लुम्म ढल्यो । र, राजतन्त्र हामी राजनीतिक पार्टीहरूस“ग सहमति र सम्झौता गर्न बाध्य भयो । र, ०४६ सालको परिवर्तन यसरी घटित भयो ।
जहा“सम्म पार्टीमा नेतृत्व परिवर्तनको लागि सहजता र असहजता कस्तो रह्यो भन्ने प्रश्न छ, यो ०३९ सालको प्रश्न हो । हामीले पार्टीमा उग्रवामपन्थी भड्काउहरू सच्याइसकेपछि नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूको शृङ्खला निर्माण गर्दै जनआन्दोलन र जनसङ्गठनलाई राष्ट्रव्यापी रूप दिएर राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता थियो । त्यो आवश्यकतालाई परिपूर्ति गर्नका लागि पार्टीका नीति र विचारहरूको सङ्घर्षमा हामीले बहस गर्न सुरु ग¥यौं । त्यो बहस हु“दै गएपछि नेतृत्वले सही ढङ्गले त्यसको सञ्चालन र सम्पादन गर्न सकेन । नेतृत्व जुन ढङ्गले बहस विवादहरूमा लाग्नुपर्ने थियो, त्यो ढङ्गले लाग्न सकेन । त्यतिबेला कमरेड सीपी मैनाली पार्टीको महासचिव हुनुहुन्थ्यो । उहा“ले पार्टीभित्र देखा परेका सम्पूर्ण विचारहरूलाई र भिन्न मतहरूलाई जसरी व्यवस्थापन गर्ने र नेतृत्व गर्ने काम गर्नुपर्ने थियो, त्यो गर्न सक्नुभएन । त्यसले गर्दा केन्द्रीय कमिटीको विश्वास उहा“ले गुमाउनुभयो । र, उहा“ मात्रै एकातिर र सिङ्गो केन्द्रीय कमिटी अर्कोतिर रहेको अवस्था सिर्जना भयो । जसले गर्दा पार्टीमा नेतृत्व परिवर्तनको माग उठ्यो । त्यतिबेला मैले आफैं महासचिव बन्नुपर्छ वा बन्छु भन्ने कल्पना गरेको थिइन“ । तर, त्यतिबेलाका जो साथीभाइहरू हुनुहुन्थ्यो, उहा“हरूमध्ये कसैले पनि त्यो जिम्मेवारी नलिने तर परिवर्तन नगरी पनि जान नसकिने टुङ्गोमा केन्द्रीय कमिटीका सबै साथीहरू पुगिसक्नुभएको थियो । अनि उहा“हरूले मलाई महासचिव प्रस्ताव गर्नुभयो । त्यो प्रस्तावमा मैले धेरै विचार गरें र अन्त्यमा स्वीकार गरें । त्यसपछि वास्तवमै पार्टी अगाडि बढ्यो । हाम्रा सामु उत्पन्न भइरहेका जति पनि विवादहरूलाई सफलतापूर्वक सैद्धान्तिक धरातलमा उभिएर हामीले हल ग¥यौं । नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तको एउटा शृङ्खला नै तयार पा¥यौं । त्यो शृङ्खला तयार पार्ने क्रममा ०३९ देखि ०४६ सालसम्मको अवधि एक ऐतिहासिक अवधिका रूपमा रहेको छ । ०३९ सालमा जसरी नेतृत्व परिवर्तन भयो, त्यसबाट सीपी कमरेड अलिकति असन्तुष्ट हुनुभयो । उहा“ले सानासाना गुट पनि बनाउनुभयो । असन्तुष्टिहरू व्यक्त गर्दै पनि हि“ड्नुभयो । त्यसले गर्दा उहा“लाई पछि कारबाही पनि गर्नुप¥यो । नेतृत्व परिवर्तन भनेको सहज हु“दो रहेनछ । कतिपयलाई असहज लाग्दो रहेछ । समस्याहरू आउ“दा रहेछन् । यो अनुभव हामीलाई ०३९ सालले दिएको छ । ०४६ सालमा अत्यन्त सहजताका साथ कमरेड मदनकुमार भण्डारीलाई नेतृत्व सुम्पेर म नेतृत्वबाट हटेको हु“ । मैले सहजताका साथ त्यो चिजलाई लिए“ । मैले कुनै गुटबन्दी गरिन“ । पार्टीमा निरन्तर काम गर्दै आए“ । पछि आएर फेरि म पार्टीको महासचिव भए“ । फेरि पार्टीको अध्यक्ष भए“ । तर, मलाई अरू कुनै तलमाथि गर्नुपर्ने आवश्यकता परेन । कसैकसैलाई अलिकति समस्या पर्छ । सहन गाह्रो हुन्छ । कसैलाई सहन सजिलो हुन्छ । कसैले सहज ढङ्गले लिन्छन् । कसैले कष्टपूर्ण ढङ्गले लिन्छन् । यसकारण, नेतृत्व परिवर्तनको कुरामा तलमाथि हु“दो रहेछ । तर, जुन ०३९ सालमा नेतृत्व परिवर्तन भयो, त्यो पार्टीले ठीक निर्णय गरेको थियो । त्यसबाट पार्टीले असल परिणामहरू जन्मायो भन्ने कुरा घटनाक्रमले प्रस्ट पारेका छन् ।
निष्कर्ष
नेपालको कम्युनिस्ट आन्दोलनमा २० को दशकबाट जुन विभाजन हुन सुरु भएको थियो, त्यो विभाजनलाई तोड्दै क्रमशः फेरि पुनर्गठन गर्ने, फेरि एकता कायम गर्ने र फेरि रूपान्तरण गर्ने एउटा अभियान जो झापा सङ्घर्षपछि को–अर्डिनेसन निर्माण गरेर हामीले थाल्यौं, त्यो अभियान ०४६ सालको परिवर्तनसम्म आइपुग्दा धेरै हदसम्म सफल भयो । र, नेकपा (माले) नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा विकसित भयो । नेकपा
(माले)ले नै पहिलो पटकको संसद्को निर्वाचनमा नेकपा (माक्र्सवादी) स“ग एकता कायम गरी अत्यन्त महŒवपूर्ण सफलता हासिल ग¥यो । त्यो परिवर्तनको सिलसिलामा हामीले कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको पाका पुराना कमरेडहरूसमेत भएको समूहस“ग एकीकरण गरेको त्यस एकीकरणले हाम्रो पार्टीलाई नेकपा (एमाले) मा रूपान्तरित ग¥यो । यसरी पार्टीको युवापङ्क्ति, पुरानो पाको पङ्क्ति र बयोवृद्धहरूको पङ्क्तिसमेत एकताबद्ध हुन पुग्यो । एकताबद्ध भएपछि नेपालको कम्युनिस्ट आन्दोलनलाई हामीले सुस्थिर ढङ्गले अगाडि बढाउने कामहरू गर्दै आएका छौं । ०४६ सालपछि पनि हाम्रो पार्टीमा विभाजन आयो । तर, त्यो विभाजनलाई केही वर्षभित्रै हामीले फेरि एकतामा रूपान्तरण ग¥यौं । त्यसको परिणाम स्वरूप नेकपा (एमाले) ०४६ सालपछाडि निरन्तर यो देशको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बनेर रहेको छ । बीचमा माओवादी आन्दोलन निकै चर्को रूपमा अगाडि आयो । त्यसले संविधानसभाको पहिलो निर्वाचनमा हामीलाई दोस्रो कम्युनिस्ट पार्टीका रूपमा धकल्यो । फेरि पनि हामीहरू आठौं राष्ट्रिय महाधिवेशन पछाडि उग्रवामपन्थका विरुद्ध जुध्यौं र वैचारिक सङ्घर्षहरू अगाडि बढायौं । त्यसले हामीलाई कम्युनिस्ट आन्दोलनको पहिलो शक्तिका रूपमा स्थापित गराइदियो । र, देशलाई अगाडि बढाउने सिलसिलामा अब नेकपा (एमाले) पहिलो पार्टी बन्ने उज्ज्वल सम्भावनाका साथ अगाडि बढिरहेको छ । सिङ्गो पार्टीको शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउन सकेको खण्डमा एउटा शक्तिशाली, राष्ट्रव्यापी, जनव्यापी सुअनुशासित, सुसङ्गठित र देशको सबैभन्दा शक्तिशाली पार्टीका रूपमा नेकपा (एमाले) विकसित भएर निरन्तर अघि बढ्नुु अनिवार्य छ ।



