आदरणीय बीपी कोइराला
जय नेपाल !
नेपालको हाल र कांग्रेसको बेहाल देखेर तपाईंलाई स्वर्गमा पनि शान्ति छैन होला । देशको यस्तो हालत हुनुमा तपाईंकै कांग्रेस सबैभन्दा धेरै जिम्मेवार छ अर्थात् हामी कांग्रेसजन जिम्मेवार छौं । उग्र वामपन्थीको एजेण्डाको पछाडि कांग्रेस नलागेको भए देशको यस्तो विजोग हुने थिएन । कांग्रेस भनेको देशको मूल पार्टी हो र देश सहि बाटोमा नजानुमा सबैभन्दा धेरै जिम्मेवार हामी नै छौं र अब देशलाई ठिक बाटोमा लैजाने जिम्मेवारी पनि हाम्रै हो ।
तपाईंले परिकल्पना गरेको देश र पार्टी बनेन । अहिले नेपाली कांग्रेसको कुनै एजेण्डा नै छैन जस्तो भएको छ । आफ्नो एजेण्डा स्थापित गर्नेभन्दा अरुको एजेण्डाको पुच्छर बन्ने काम कांग्रेसले गरिरहेको छ । उग्र वामपन्थी र उग्र दक्षिणपन्थीले प्रजातन्त्र (लोकतन्त्र) लाई जातीयतन्त्र बनाउने प्रयास गर्दै आएका छन्, कांग्रेस त्यसको सहयोगी बनिरहेको छ । नेपालमा समावेशीकरणको सुन्दर नमूना तपाईंले नै थाल्नुभएको थियो । अहिले समावेशीकरणलाई जातीयकरण बनाउने प्रयास भइरहेको छ, यसमा पनि कांग्रेस चुकिरहेको छ ।
आदरणीय वीपी,
अहिले पनि कांग्रेस सरकारमा छ तर सरकारमा बसेर कांग्रेसले के गरिरहेको छ र अब के गर्छ भन्ने हामी कांग्रेसजनले समेत थाहा पाउँदैनौं भने सर्वसाधारणले थाहा पाउने कुरै भएन । झन सात आकाश पारी स्वर्गमा तपाईंले के थाहा पाउनुहोला ? जनतासँग हाम्रा नेताहरु डराउँदैनन्, जनताको आलोचनाको पटक्कै मतलब छैन तैपनि जनताले भोट दिएर कांग्रेसलाई बचाइरहेका छन् । भरखरै स्थानीय चुनावमा सोचेको भन्दा धेरै राम्रो परिणाम ल्यायो कांग्रेसले । उहिले तपाईंको पालामा के थियो कुन्नि, अहिले त कांग्रेसलाई प्रतिस्पर्धी पार्टीले नभएर कांग्रेसले नै हराउँछन्, अन्र्तघात गर्छन् । तैपनि कांग्रेसले धेरै राम्रो परिणाम ल्याएको छ । यो सबै देखेर तपाईं छक्क परिरहनुभएको होला है ?
कांग्रेसको संगठन छ, संगठनको आत्मा कमजोर भएको छ, कांग्रेसको आदर्श छ तर आत्मविश्वाश कमजोर बनेको छ । हामीसँग तपाईं अझै हुनुहुन्छ, तपाईंको नाम नलिई हाम्रो कुनै पनि कार्यक्रम पूर्ण हुँदैन तर तपाईंको आदर्श भने भाषणमै सीमित छ । शासनमा कांग्रेस पुग्छ तर तपाईंको आदर्श चाहिँ पुग्दैन । मैले भन्नैपर्ने कुरा के हो भने कांग्रेसले यो देशमा गरेको नराम्रा काम धेरै छन्, गर्न नसकेका काम असंख्य छन्, तर गरेका राम्रा काम पनि धेरै छन् । कांग्रेस कुनै धार्मिक मण्डली होइन जसले गरेका काममा त्रुटी कहिले हुँदैन । कांग्रेस पार्टी हो, यो काम गर्ने पार्टी हो र काम गर्दा गल्ती हुन्छ । गल्तीबाट शिक्षा लिन कांग्रेसले सकिरहेको छैन, किन ?
तपाईंको जयन्ती मनाईरहँदा अहिले सरकारमा बसिरहेका हाम्रा मन्त्रीहरु र प्रधानमन्त्रीलाई हेरिरहेको छु । म विश्वश्त छु, उहाँहरुलाई तपाईंको नाम याद छ तर…भो, यो बारे चर्चा नगरौं व्यर्थै मन खल्लो हुन्छ ।
प्रिय वीपी,
त्याग तपस्याको इतिहास भएको कांग्रेस र यसका नेताहरु किन प्राप्तिका लागि मात्र मरिहत्ते गरिरहेका छन् ? सत्तामा पुगेपछि कांग्रेस नेताहरुले किन पार्टी बिर्सन्छन्, किन कार्यकर्ता बिर्सन्छन् र सीमित घेरा र नातागोता मात्र देख्छन् ? किन कांग्रेस आज अरुको एजेण्डाको पुच्छर भइरहेको छ ? मैले यी प्रश्नको जवाफ पाउन सकिरहेकी छैन, प्रिय वीपी, तपाईंले जवाफ दिन सक्नुहुन्छ की ? चक्रपथ बाट साभार गरिएको



