अचेल प्रश्नको जमाना छ। मिडियामा समाचार पनि प्रश्नै हुन्छ- किन हार्यो जनकपुरमा कांग्रेस? किन पछि पर्यो प्रदेश २ मा एमाले? टीकाको साइत कहिले? उत्तरकोरियाले किन दियो धम्की अमेरिकालाई? चीन र भारतको किन बिग्रियो सम्बन्ध?
हुँदाहुँदा गीतमा समेत प्रश्न हुन्छ अचेल- सुर्के थैली खै? डाँडाबारीको सुन्तला- गुलियो छ कि अमिलो? बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो?
त्यही भएर होला अचेल राजगद्दीबाट हटाइएका ज्ञानेन्द्र शाह पनि प्रश्नमात्रै सोध्छन्। धेरै भयो उनले विज्ञप्तिमा प्रश्न सोध्न थालेको। पहिले राजा हुँदा उनलाई अरुले प्रश्न सोध्थे- मोबाइल सेवा किन बन्द गरेको? न्युजरुममा किन सेना पठाएको? प्रजातन्त्र किन मासेको? अहिले उनको पालो आएको छ प्रश्न सोध्ने। विजया दशमीको शुभकामना दिन निकालेको विज्ञप्तिमा समेत प्रश्न सोधे आज।
यस्ता छन् प्रश्न र त्यसको मुन्तिर खसखस लागेर लेखेको प्रतिक्रियावादी प्रतिक्रिया-
मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भिर बन्नु परेको छ। राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौँ। राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शुभ संकेत कदापि होइन। किन र कसका कारणले यस्तो स्थिति भएको हो?
(खै कुन्नि कसको कारणले हो। नेताको कारणले हो भनेर सिधै भने भइगयो नि। नेता फेरि जनताले नै चुनेका परे। प्रश्न सोधेर क्यार्नु हो। पृथ्वीनारायण शाहको दिव्योपदेशको यो बुँदा ध्यानमा राखेको भए यो गति हुने थिएन राजतन्त्रको-
दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिचकिचाउनुलाई प्रजातन्त्रसम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन?
(मिल्दैन हजुर मिल्दैन। के गर्नु त अब- राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह गरेनन्। राजा चाहिन्छ भन्ने दल नै गणतन्त्रको उपप्रधानमन्त्री बन्न गए)
संवैधानिक अंगहरुको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पुर्याउँछ?
(आखिर कहाँ पुर्याउँछ? कहाँ पुगिसक्यो? कसले हेर्ने?)
पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ, त्यसको जिम्मेवारी कसले लिने?
(पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसकेको अहिलेमात्र हो र, जहिले पनि त्यस्तै हो। स्वदेश मै पराया महसूस हुनु गम्भीर कुरो हो। धेरै नेपालीले विदेशलाई आफ्नो महसूस गरेर नागरिकता र ग्रिनकार्ड, पिआर लिएको कारण त्यही भएर होला। अब यसको जिम्मेवारी कसले लिने हो? गम्भीर प्रश्न)
मनमा प्रश्नैप्रश्न उठेर र बिरामी भएर होला- ज्ञानेन्द्रले टीकाको दिन निर्मल निवास बन्द गरे। राजतन्त्रका समर्थकको आस्थामा चोट पुर्याए। वर्षको एक दिन टीका लगाउन समर्थकहरुको कति ठूलो इच्छा होला, ज्ञानेन्द्र र कोमल पूर्वराजा र पूर्वरानीको हैसियतले टीका लगाउन असमर्थ भए पूर्व युवराज पारस वा पूर्व युवराज्ञी हिमानीले टीका लगाइदिँदा पनि हुन्थ्यो त। समर्थकहरु खुसी भएर लगाउँथे होला टीका। तर आफ्नै समर्थकहरुको चित्त समेत किन बुझाउन सकेनन् उनीहरुका राजाले? ज्ञानेन्द्रले प्रश्न राखेको दिन हामी पनि पूर्वराजालाई प्रश्न राख्न मिल्छ त?
प्रश्नको सिलसिला पोहोर पनि जारी थियो। पोहोर दशैँमा उनले सोधेका प्रश्न यस्ता थिए-
१. बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
२. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
३. भ्रष्ट्राचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गर जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
५. परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?
७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के-के गरिए ? माइ संसार बाट



