दुई वर्षको हुँदा आमा र ५ वर्षको हुँदा बा गुमाएर अभिभावकको सहाराविहीन बनेका जाजरकोटस्थित भगवती गाविस–८ वस्ने १२ वर्षीय प्रेम सिंह उपचार खर्चको अभावमा २७ दिनसम्म भाँच्चिएको हात झुण्डाएर उपचारविहीन भएर बसिरहे । हुन त यो बच्चा उदाहरणमात्र हो । जसोतसो ऋण गरेर भिनाजु लक्ष्मणले ३ दिनको बाटो धाएर प्रेमलाई उपचारका लागि चितवनसम्म ल्याए । अहिले उनी भरतपुरस्थित एलाइभ हस्पिटलमा उपचाररत छन् । प्रेम जाजरकोटका दुःखीहरुको प्रतिनिधि पात्र हुन् । प्रेमको दुःखले राज्यलाई जिस्काइरहेको छ ।
दूरदराज र पहुँचहीन जनताका लागि राज्य कहाँ छ ? बहुसंख्यक नेपालीको जिज्ञासा हो यो । अहिले विभिन्न सामाजिक सञ्जालदेखि चोकचोकका चिया पसलसम्म सबैतिर स्तन क्यान्सरबाट पीडित पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले औषधि उपचार गर्न ५० लाख रूपैयाँ उपलब्ध गराउने निर्णयप्रति विभिन्न टिकाटिप्पणी भइरहेको देख्न र सुन्न पाइन्छ । सामाजिक सञ्जाल फेसबुकमा सर्वसाधारणहरुले असभ्य र अपाच्य हुने खालका शब्दसेमेत प्रयोग गरेर सरकारलाई गालीगलौज गरिरहेका छन् ।
जसले गर्दा नेतृ कोइराला फेसबुकमय बनेकी छन् । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकी एक मात्र सन्तान सुजाता कोइराला धनाढ्य व्यक्तिको रुपमा चिनिन्छिन् । तर, उनै धनाढ्य व्यक्तिको उपचारका लागि यति ठूलो रकम किन दिने भन्दै अहिले चौतर्फीरुपमा विरोधका आवाज गुञ्जिन थालेको हो । वर्तमान स्वास्थ्य मन्त्री गगन थापाले हुन्न भन्दाभन्दै पनि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशको भरमा सरकारले ढुकुटी रित्याउनले प्रयास गरेको भन्दै जनताहरु सरकारप्रति आक्रोशित भएका छन् । नेपाल सरकारले नेतृ कोइरालाको स्तन क्यान्सरको उपचारका लागि नेपाल मेडिकल बोर्डको सिफारिस बिनै आर्थिक सहायता स्वरुप ५० लाख दिने भनी सरकारले गरेको निर्णयको विरोध गर्दै भरतपुर–१२ की सीतादेवी शर्माले भनिन्, ‘सरकारले जनतामाथि ठूलो खेलवाड गरे ।’ जनताले तिरेको करबाट उठेको रकमले जनता भने भोकभोकै मर्नुपर्ने उनीहरु भने अनावश्यकरुपमा खर्च गर्दै हिँड्ने अधिकार कसैलाई पनि नभएको उनले बताइन् । आफू सरकारमा भएँ भन्दैमा मनलाग्दी गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै गैंडाकोट–२ नवलपरासीकी पूजा रिमालले पनि सरकारप्रति आक्रोश व्यक्त गरिन् । ‘कति जिल्लाहरुमा अझै पनि भोकमरीको चपेटामा जनताहरु बाँचिरहेका छन्, तर सरकारलाई वास्ता छैन,’ उनले भनिन् ।
जनताहरुबाट संकलित रकमको दुरूपयोग गरेर अन्य छिमेकी मुलुकसँग आर्थिक सहयोग माग्नु लज्जास्पद भएको भरतपुर–११ का नारायण गुरूङले भने, ‘राम्रो काममा रकम सदुपयोग गर्ने हो भने, जनताकै करले देश चलाउन सकिन्छ ।’ ‘जनताका छोराछोरी अझै पनि शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारबाट बञ्चित भइरहेका बेला सरकारमा रहेकाले जे पनि गर्न पाइन्छ र ?’ उनले प्रश्न गरे । जुनसुकै सरकार आए पनि नेपालका जनताले कहिल्यै सुखको सास फेर्न नपाएको उनको अनुभूति छ । ‘उपचारका लागि रकम उपलब्ध गराउनु कुनै नराम्रो कुरा होइन,’ भरतपुर–९ केन्द्रीय बसपार्कका कदमकुमार रञ्जितले भने, ‘तर त्यति ठूलो रकम दिनु भनेको सरकारी ढुकुटी रित्याउनु हो ।’ सरकारले करको दायरा बढाउँदै त्यही रकममाथि दाहीँ खेल्ने प्रवृत्ति तत्काल हटाउनुपर्ने उनले बताए ।
पहुँचको आधारमा राज्यको उच्चपदस्थ व्यक्तिलाई रकम उपलब्ध गराएर आर्थिक चलखेल नगर्न उनले सुझावसमेत दिए । ‘बिरामी हुँदा सरकारले हेर्दै नहेर्ने भन्ने होइन, तर सत्ताका उच्च पदस्थ व्यक्ति सरह सर्वसाधारण जनताले पनि उपचार पाउनु पर्छ,’ उनले भने । तर, सरकारले सुजाता कोइरालालाई रकम दिने निर्णय गरेको भने होइन । यसअघि पनि विभिन्न पदका नेताहरुले उपचार खर्च बापत देशको ढुकुटी सिध्याउने काम गरेका छन् , चितवन पोष्टले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विवादको चर्चा सेलाउन नपाउँदै तरकारीवाली (कुसुम श्रेष्ठ)ले चर्चा कमाइरहेका बेला अहिले फेरि नेपालमा ५० लाखको प्रकरणमा सुजाता कोइरालाले चर्चा पाउन थालेकी छन् । @तुलमान गुरूङ



