–विनोद ढकाल
प्रिय बाबुराम भट्टराई ज्यू एउटा पत्र कोर्ने रहर जाग्यो । ‘प्रिय’ यसकारण कि तपाईको बौद्धिकता र समृद्धि सपनाबाट म लालयित छु । वैकल्पिक राजनीतिको नयाँ यात्राको थालनी गर्दैगर्दा आशाको डढेलो निक्कै फराकिलो क्षेत्रफलमा लागेकै थियो । अबको युद्ध, क्रान्ति वा लडाई जे भए पनि आर्थिक समृद्धि र विकास भनिरहनुभएको छ, यसमा म अझै आशावादी छु । तपाई परम्परागत राजनीतिभन्दा माथि उठ्नुहोस् भन्ने शुभेच्छा हरेक नागरिकले गरिरहेका छन् । किनकी, तपाईको बौद्धिक राजनीतिले स्थापित गरेको नयाँ नेपालको रजगजको जिम्मा अरुले पाएका छन् ।
एकजना बिए पढ्दै गरेकी छात्राले टिठ लाग्नेगरी भनिन्, ‘अब बाबुरामको काम छैन ।’ उनी तपाईकी फ्यान पनि रहिछन् । राजनीतिबारे उत्तिसाह्रो नबुझ्ने छात्राले तपाईको पहिलेका योजना र अहिलेका चरित्रको तुलना गर्दै आशा गुमेको भन्न थालेकी छन् । म कलेज पढ्दाताका अनेरास्ववियुमा आवद्ध मेरो साथीले चिया खाने अफर मानेको थिएन । एउटै कारण तपाई हो । त्यसबेला त्रिविमा तपाईको राजनीतिक वक्तव्य र योजना सुन्नु थियो भन्थ्यो । ऊ एमाले थियो, अहिले पनि हो । तर, तपाईको राजनीतिक दर्शनको प्यासी पनि थियो । अहिले ऊ, खोटाङतिरका कलेज र विद्यालयमा अध्यापन गराउँछ । तपाईको नाम सुन्दा उसको कन्सिरी तातेर आउँछ । किन तात्छ होला उही जानोस् । मेरो, तात्तैन । किनभने म अझै तपाईप्रति आशावादी छु ।
नेपालीमा एउटा उखान छ– आश गर्नू, भर नपर्नू । तपाईको योजना, परिकल्पनामा नेपालमा एउटा युगको अन्त्य भएकै हो । दरबारसँग कहिले पनि दाहिना नहुने चरित्रले स्थापित हुनुभयो । गोरखाले सुरू गरेको राजतन्त्रको अन्त्य गोरखामै जन्मिएको एउटा प्रजा पुत्रको नेतृत्वमा हुनु इतिहासको गौरव, संयोग अथवा माग थियो, जे होस् । त्यसले बनाएको संघात्मक प्रणालीमा हामी पुगिसक्यौं । यहि चरणको राजनीति सकेर अर्को चरणमा विकास र समृद्धिको जुन नारा दिनुभयो, तपाईले जगाएको आशसँग ‘भर’को कति तालमेल होला र ? के म तपाईलाई भरोसा गर्न सक्छु ?
केही समयअघि माओवादीमा रहँदाका तपाईका राजनीतिका फेहरिस्तको बारेमा एउटा संश्लेषण गरेको थिएँ । त्यसमा तपाईका चरित्र र अडान अथवा घुर्कीका कयन प्रसंग जोडेको छु । मानिस संगठनमा भएपनि स्वभाव र चरित्र उसका निजी हुन् भन्ने नै लाग्छ । यी निजी कुरा भन्दा पनि भर्खरै तपाईले दिएको राजनीतिक टिप्पणीप्रति मेरो आँखा गडेको छ । नेपालगञ्जमा तपाईले गठन गरेको नयाँ शक्ति नेपालको एउटा सभामा भन्नुभयो– एमालेसँग माओवादीको मिलन भनेको प्रचण्डको आत्महत्या हो । हुनसक्छ, जो एमालेमा मिसिँदैछ, त्यसको पृष्ठभूमी तयार पार्ने अहम् नेता तपाई पनि हो । अंश लिएर हिँडे पनि दाजुभाईको माया लाग्नु स्वभाविक हो । उसको पतन कसैले पनि देख्न चहाँदैन । त्यसभित्र रगत र पसिनाको नाता हुन्छ । माओवादीमा त तपाईको नाता १७ हजार मानिसको रगत र कयनको पसिनासँग जोडिएको छ । यसलाई अन्यथा लिन हुँदैन । त्यत्रो रगतको नातालाई एमालेमा लगि विसर्जनको तयारी गरेका प्रचण्डसँग मुर्मुरीनु भएको होला । फेरि त्यहि बेला तपाईले भन्नुभएको छ– माओवादीमा फर्किन्न भनेर । नजाने गाउँको बाटो रोज्नु त परै सोध्नु पनि हुन्न भन्छन् बुढापाका ।
यदि प्रचण्ड आत्महत्याकै चरणमा पुगेका हुन् भने पासो लाग्न जाँदा डोरीले घाँटी नाप्ने तपाई पनि हो, बिष पिउन लागेका हुन् भने चाखौं–चाखौं भन्ने तपाई पनि हो, खोलामा हाम फाल्न लागेका हुन् भने छाललाई छुने तपाई पनि हो ।
यहि प्रसङ्गसँग चुनावअघि तपाईको गति र चाललाई विस्मृतिमा राख्न मिल्दैन । जतिबेला बाम घटकको एकता वा गठबन्धनको कुरा चलिरहेको थियो त्यो कागजको खोस्टोमा हस्ताक्षर गर्नका लागि तपाईको दौड लिगलिगको भन्दा कम थियो र ? तपाई किन त्यहाँ चुक्नु भयो वा रोकिनु भयो त्यसको कारण पहिल्याउने जिम्मा तपाईको । फेरि, अर्को दौडमा लाग्नुभयो र चुनावमा नतिजा आफ्नो पक्षमा पार्नुभयो । तपाईको जीत स्वभाविक थियो तर एउटा दौड छाडेर अर्को म्याराथनमा सहभागीता कति जायज थियो, कति नाजायज थियो संगठनमा छलफल भयो होला । तर, के त्यो चाहीँ संजिवनी बुटीको रस पिउने रहर थियो त ?
तपाईले दुईतिहाईको सरकार बनाउने बाम घटकको एकीकरण आत्महत्या भन्नु भयो । तर, यो आत्महत्याको पहिलो खेस्रा कोर्दा तपाईको अनिवार्य उपस्थितिलाई अस्वीकार गर्ने कोही छैनन् । तपाइले आत्महत्याको प्रकृतिका बारेमा बोल्नु भएन । यदि प्रचण्ड आत्महत्याकै चरणमा पुगेका हुन् भने पासो लाग्न जाँदा डोरीले घाँटी नाप्ने तपाई पनि हो, बिष पिउन लागेका हुन् भने चाखौं–चाखौं भन्ने तपाई पनि हो, खोलामा हाम फाल्न लागेका हुन् भने छाललाई छुने तपाई पनि हो । आत्महत्याका जुन सुकै प्रकृतिमा तपाईको सहभागीता छ यस्ता छलीय कुरा गरेर भ्रम छर्नु तपाईको विवेकले दिइहाल्यो, बौद्धिकताको बिम्बचाहीँ नबनोस् ।
तपाईको विचार र नागरिकमैत्री व्यवहारलाई नेपाली समुदायले एउटा सरल र बौद्धिक लय ठान्छ । जुन लयमा अन्य राजनीतिक दल र ठेट्नाहरूको झुन्डले गीत गाएमात्र सफल देश बन्छ भन्ने विश्वास छ ।
ठेट्नाहरूको मगज भुटेर नेतृत्वमा बस्दै सत्तासँग दलाली गर्ने काम नै राजनीति हो । जहाँ ठेट्ना हुँदैनन्, त्यहाँ राजनीतिमा कोही बलियो बन्न सक्तैन । अझ हाम्रो देशको परिवेशमा त ठेट्ना विस्कुन झैं छरिएका छन् । अर्धचेत समाजलाई भेडाको यात्रा गराउन बहुत सहज छ । चेत समाजलाई घोडाको दौड गराउन कठिन छ । तपाईको विकल्पको राजनीतिक बाटोले सही अर्थमा ढिलोचाँडो एउटा मुकाम भेट्ला । तर पृष्ठभूमीलाई गाली गरेर, त्यसको बद्ख्याँई गरेर अगाडीको यात्रा रसिलो हुन्छ भन्ने म ठान्दिन । संसारमा दार्शनिकहरूले राजनीति गरेका छैनन्, दर्शनको प्रतिपादन गरेका छन् । त्यो एउटा कठोर राजनीतिक, धार्मिक र सांस्कृतिक दर्शन बनेको छ । त्यसको नेतृत्व फरक व्यक्तिले गरेका छन् । तपाईको विचार र नागरिकमैत्री व्यवहारलाई नेपाली समुदायले एउटा सरल र बौद्धिक लय ठान्छ । जुन लयमा अन्य राजनीतिक दल र ठेट्नाहरूको झुन्डले गीत गाएमात्र सफल देश बन्छ भन्ने विश्वास छ । हो, यहि विश्वास जगाउनका लागि तपाईको महत्वपूर्ण योजना र विचारसहितको व्यवाहारको खाँचो छ । गाली गरेर देश बन्ने भए नेपाल विश्वको १ नम्बर सूचीमा पर्ने थियो । दोष थोपरेर विकास हुने भए, हामी स्वीटजरल्यान्ड वीपीका पालामै देख्ने थियौं ।
अहिले स्थिर सरकार र निर्णायक कामका लागि बाम गठबन्धनप्रति सर्वसाधारणको चासो धेरै छ । विश्वास धेरै छ । यो जनमतको निर्णय पनि हो । यहि निर्णयको धरातलमा उनीहरूको परिक्षा तयार भएको छ । यीनलाई विभाजित होइन, अझ मजबुद कसरी बन्न सक्छन् भन्ने कामना गर्नु नै आमसाधारणको धारणा बनिसकेको छ । एउटा समय छ, यहि समयमा यीनको परिक्षा लिनैपर्छ । उत्तिर्ण भएको खण्डमा तपाई हाम्रो विचार हेयमा परिणत हुनसक्छ ।
यसर्थ, यस्ता आत्महत्याका कुरा नगरौं । यदि देश बन्ने मामलामा प्रचण्डले रोजेको आत्महत्या निर्णायक बन्दछ भने आउनुहोस् हामी पनि आत्महत्या गरौं । एउटा कठोर निर्णयमा पुगौं ।



