कठिन बाटोमा हिँड्ने साहस गरे सुन्दर गन्तव्यलाई छुन सकिने उदाहरण बनेका छन्, सीताराम कट्टेल उर्फ धुर्मुस । सुनौलो गन्तव्यको सोचमा उनी कठिन यात्राको घोषणा गर्दै त्यसलाई पार लगाउन सक्षम पनि छन् । उनले फेरि ठूलो चुनौतिपूर्ण कामको घोषणा गरेका छन्– अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको । यसका निम्ति उनका योजना तयार हुन थालेका छन् ।
कलाकारिताले कमाएको मानव स्रोतको थोपा–थोपा सहयोगलाई संयोजन गरेर इमान्दारीताका साथ उनका काम पुरा भइरहेका छन् । यसैले पनि उनी राज्यभन्दा छिटो गतिमा घोषित कार्यक्रमलाई सम्पन्न गर्न सक्षम छन् ।
जीवन चलेकै थियो । राम्रो चलेको थियो । देश–विदेश घुम्न समस्या थिएन । तर मन त्यसबेला कुँडियो जब महाभूकम्पमा देशको चित्र अमेरिकाका टेलिभिजनका पर्दा र पत्रपत्रिकाका तस्बिर उनले देखे । भूकम्पको प्रभावमा पारिवारिक पीडाका एक भागीदार नै हुन् उनी । सहयात्री कुञ्जना घिमिरे उर्फ सुन्तलीकी आमा त्यसबेला घाइते भइन् । यसले सामाजिक उत्तरदायित्व बढि नै बोध गरायो उनीहरूलाई ।
महाभूकम्पपछि सिन्धुपाल्चोकको पीपलडाँडामा ४० परिवारका लागि १० वटा शौचालय निर्माणबाट उनीहरूले समाजसेवाको यात्रा थालेका थिए । यहि सेवाले हौसायो र सक्रिय हुन थाले । काभ्रको डाँडागाउँमा एकीकृत नमूना बस्ती निर्माणको घोषणा गरे । बस्ती बनाउन करिब ६० लाख रूपैयाँभन्दा बढी खर्च हुने अनुमान गरियो । भूकम्पले थलिएका, त्रसित भएका कारण बस्ती निर्माणमा कामदार पाउन पनि समस्या थियो । पुनर्निर्माणको थालनी कहीँ कतैबाट नभएको देखेपछि आफैं जुट्ने अठोटका साथ धुर्मुस—सुन्तली फाउन्डेसन खोली सिन्धुपाल्चोकको मेलम्ची–८ स्थित गिरानचौरका ६५ परिवार भूकम्पपीडितका लागि दोस्रो गिरानचौर एकीकृत नमुना बस्ती निर्माण गरेका उनीहरूले २०७३ साल कात्तिक १२ गते राष्ट्रपति भण्डारीको हातबाट गिरानचौर बस्ती हस्तान्तरण गरेका थिए ।
त्यसपछि उनीहरूको यात्रा मुसहर बस्ती निर्माणतिर रह्यो । २०७३ पुस ६ गते घोषण भयो । पुस २५ गते शिलान्यास गरिएको यो बस्तीभित्र ५० र बाहिर तीन गरेर ५३ घर, एक सामुदायिक भवन, एक बालउद्यान, एक मन्दिर, एक प्रतीक्षालय, एक घर एक चर्पी धारा, बस्तीको वरिपरि नियाल्न ३५ फिट अग्लो भ्यु टावरसमेत गरी पाँच करोड चार लाख ३६ हजार ८६० रूपैयाको लागतमा निर्माण सम्पन्न भयो । यसबीच नेपालका हरेक समुदायको पहिचान झल्काउने नमूना नेपाल परियोजनाको कल्पना गरिएको छ । हरेक जातजाती र समुदायका गरिबहरूलाई राख्ने योजना गरिएको परियोजना महत्वकांक्षी छ । यसलाई थाँती राखेरै तत्कालिक आवश्यकता रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको घोषणा गरेका छन्, धुर्मुसले ।
धुर्मुसँग आफुले भोगेका दुखका स्मृति छन् । ३४ वर्षको ठिटोसँग स्कुल पढ्दा पुस्तक किन्ने अभावलाई झेलेका छन् । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरूको चित्र बनाउथे विस्मृति छन् । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएको बाध्यताको अनुभव छ । बुवाले ऋण गरेर जुटाएको १७ सय रूपैँया गोजीमा राखेर काठमाडौं छिरेको त्यो कहालीलाग्दो विगत छ । मिहेनतले बनेको वर्तमानसँग उनको गुनासो छैन । भविष्यसँग रोस नराख्ने चाहना छ र समाजसेवामा सक्रिय छन् । तर, अब के हुन्छ ?
नेपाल भित्रको नेपाल नमूना नेपालभन्दा अघि क्रिकेटमा विश्वस्तरीय स्पर्धामा उभ्याइरहेको देशका लागि केही गर्नुपर्छ भन्ने सुझाव उनले पाए । यो परियोजना घोषणा गर्नेक्रममा प्रष्टीकरणसहित उनले लेखेका छन् ।
उनको दौड राज्यभन्दा तिव्र गतिमा भइरहेको छ । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनासाथ राज्यभन्दा छिटो उनले घोषणा गरे । सरकारले तिव्रताका साथ गर्नुपर्ने काममा उनी सक्रिय छन् । सरकार भन्दा पनि देशविदेशका नागरिकले उनलाई विश्वासको कडीमा उभ्याएकैले आत्मवल छ । हिम्मतसँग दैवको साथ हुन्छ भनेझैं उनलाई सबैको सहयोग घोषणा हुन थालिसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसको यो परियोजनामा नैतिकलगायतका अन्य सहयोग हुने बताइसकेका छन् । नेपाली ठूलो जमातको हौसलाले नै यो परियोजनाको घोषणा भएको उनले बताइसकेका छन् । उनी सफलता उन्मुख छन् ।
धुर्मुस आफैं पनि पुनःनिर्माण दूत हुन् । सरकारसँग उनको सम्बन्ध गाँसिएका कारणले सरकारकै समन्वयकारी भूमिकामा काम सम्पन्न हुने उनले बताइसकेका छन् । क्रिकेट नेपालको आधुनिक पुस्ताको आशावादी खेल हो । यो खेलमात्र होइन विस्तारै विश्वसमुदायमा नेपालको परिचय बनाउने गौरबका रूपमा पनि प्रतिस्थापित बन्दैछ । मूलपानी क्रिकेट मैदानको अवलोकन गर्ने क्रममा खेलकुदमन्त्री जगत विश्वकर्माले भनेका थिए,‘दुई वर्षभित्र मैदानको काम पुरा हुन्छ ।’ सरकारको काम दुई वर्षको समयसीमा राखिएको बेला, धुर्मुसको काम एक वर्षमा सकिए के हुन्छ ?
भूकम्पपछिका बस्ती, नमूना मुसहर बस्ती समयसीमामा बनाएर बुझाएका कारण पनि धुर्मुस र उनको फाउन्डेशनप्रति जनताको विश्वास बलियो छ । सरकारको कार्यशैली पनि समयसीमाभित्रमा रहेको खण्डमा विश्वासको जग अवश्य पनि बस्नेछ । तर यसका लागि काम गरेर देखाउने चुनौति सरकारसामु छ । झन्झटिलो प्रक्रियालाई तोड्नुपर्ने दायित्व सरकारमाथि छ । धुर्मुसले भनेका छन्,‘यो परियोजना सरकारको सहयोग बिना बन्न सक्तैन । सरकारकै सहयोगी परियोजना हो ।’ तर विभिन्न सिन्डिकेट पार गर्नुपर्ने सरकारी नियती उनले भोग्नेछैनन् । भनेको समयमा काम पुरा गरेमा फेरि पनि नेपालीजनले धुर्मुसलाई भन्नेछन्– सरकारभन्दा छिटो, एउटा हँसाउने ठिटो ।
नागरिकका लागि सीमित घेरामा काम गरेपनि धुर्मुस अहिलेसम्म सफल भएका छन् । खर्बौंको योजना सहित राज्यले गरेका लगानीले उपलव्धिमुलक काम गर्न सकेका छैनन् । केपी ओली सरकारले पुननिर्माण र पुनर्वासका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रभावकारी काम नगरेको भन्दै खारेजीको तयारी समेत गरेका सूचनाहरू बाहिर आएका छन् । कतिपय परियोजनामा सरकारले सफलता पाउन नसकिरहेका बेला धुर्मुस अठोटको लगावका कारण सफल हुँदै गइरहेका छन् । जे काम थाल्छन्, सबै छाडेर आफू पनि त्यसैमा सरिक हुन्छन् । नागरिकले खाने प्याज च्युरा खाएरै काम गरेका दृष्टान्त पर्याप्त छन् । झन्झटिलो सरकारी काम भन्दा उनको आत्मविश्वाससँग जनताको विश्वास अडिलो बनको छ । यसकारण सफल बन्दैछन्, उनी ।
दैनिक नेपाल बाट



