युवराज गौतम

विचार

राजा महेन्द्र र बीपीको टक्करबारे केही लेखकले सत्य कुरा लेखेका छन् भने धेरैले कपोलकल्पित र मिथ्या । आत्मकथा लेख्ने रहरमा कतिपय व्यक्तिले राजा महेन्द्र र राजा वीरेन्द्रको घोर अवमूल्यन गरेका छन् । २०५८ साल जेठ १९ गतेको हृदयविदारक घटनापछि राष्ट्रको बागडोर सम्हाल्ने राजा ज्ञानेन्द्रका बारेमा पनि केही वर्षसम्म अविरल रुपमा प्रायेजित शैलीमा दुष्प्रचार भइरह्यो । सत्य असत्यको ख्याल गरिएन । राजदरबार परित्याग गर्ने निर्णयमा पुगेपछि राजा ज्ञानेन्द्रले नै भनेका थिए ‘त्यसबेला मेरा निम्ति बोलिदिने कोही थिएन ।’ पदेन र वैतनिक राजभक्तहरुबाट संकटमा मद्दत पुग्ने कुरै थिएन । त्यसैले उनी एक्लो हुन पुगे ।

‘पूर्वराजा’ ज्ञानेन्द्रको स्मृतिमा अवश्य पनि धेरै कुरा ठूलो दराजमा राखिएका पुस्तकहरु झै पत्रपत्र होलान् । सत्तरी बर्षको हाराहारीमा पुगेका र दुईपल्ट राजा भएका ‘माइला सरकार’ बलियो स्मरणशक्ति भएका सम्वेदनशील व्यक्ति मानिन्छन् । कवि, गीतकार तथा संगीतप्रेमी शाहका बारेमा निकटवर्तीहरु भन्छन् ‘हरेक दिनका ससाना घटना पनि डायरीमा टिप्ने र विश्व गतिविधिको अध्ययन गर्ने बानी भएकाले बितेका पचास वर्षका प्रायः सबै घटना उनी सम्झिन्छन् ।’

सुनिन्छ, उनको आत्मवृतान्तको अधिकांस भाग लेखिसकिएको छ । दश बर्षसम्म गणतन्त्रका विद्रुप दृश्यहरु हेरिसकेका ‘पूर्व राजा’ ज्ञानेन्द्रले दलका नेताहरुले आफूसँग गरेका बाचा, विदेशी शक्तिले दिएको दवाव र ‘आफ्ना’ भनेर लालनपालन गरिएका कृतघ्न, अवसरवादी र प्रवञ्चकहरुबाट पाएको धोका लगायतका सबै विषय एउटै पोकोमा बाँधेर राखेका छन् । उनले त्यो पुलिन्दा खोले भने धेरैको सक्कली अनुहार जनताले देख्न पाउने छन् । इतिहासले त्यो बेला कोल्टो फेर्नेछ ।

आज ज्यादै जटिल मोडमा रहेको राष्ट्रको अस्तित्व माथि नै संकटको कालो बादल मडारिएको अवस्था छ । त्यसैले जनता पनि प्रवल शक्ति खोजिरहेका छन् । राष्ट्र र जनताको संरक्षण तथा सम्पोषण गर्न सक्ने अजेय शक्ति यही हो भनेर जनताले ठहर गर्न सकिरहेका छैनन् ।

टाठाबाठाहरु दलदलमा बाँडिएका छन् । त्यसैले वहुमत यही हो भन्ने स्पष्ट छैन । दश वर्ष पहिले ब्रिटिस मोडलको ‘किङ इन पार्लियामेन्ट’ अवधारणा नेपाली कांग्रेसले परित्याग गरिसकेको छ । ‘राजा पनि राष्ट्रवादी हुन्’ भन्ने मदन भण्डारीको व्याख्या स्वीकार गर्न एमालेका धेरै नेता तयार छैनन् । पार्टीमा सैद्धान्तिक विचलन बढ्दै गएपछि जनकपुरको मुझेलियामा भएको एमाले महाधिवेशनले राजतन्त्र, गणतन्त्र, वहुदलीय पद्धति वा अन्य कुनै पनि बाटो रोज्ने विकल्प खुला राख्ने निर्णय गरेको थियो ।

विप्लव दासले ‘नक्सलाइट मुभमेन्ट इन इन्डिया’ ग्रन्थमा लेखेका छन् -‘भारतका कम्युनिष्टहरु भीडतन्त्रबाट प्रभावित छन् । त्यही कारण चीनको विरोध नगर्ने मास हिस्टेरियाबाट प्रेरित भएर सन् १९६२ मा चीन-भारत युद्धमा पनि उनीहरुले चीनको विरोध गरेनन् ।’ पार्टी भीडतन्त्रमा रमायो भने अवश्य विचलित बन्छ भन्ने यो एउटा उपमा हो ।

चीनको राजतन्त्र ढल्यो, सन् १९१२ मा । अन्तिम सम्राट पु-यीद्वारा लिखित आत्मवृत्तान्तमा धेरै मर्मस्पर्शी विचार भेटिन्छन् । विदेश गएर सुखसँग बस्न सक्थे उनी । तर आफ्नै दरवारको माली भएर बसे । पुस्तक पढ्ने बानी भएकाले दिन कटाउन गाह्रो भएन । उनले लेखेका छन् -‘यति राम्रो देश त्यागेर म कहाँ जाउँ ? ‘ राजालाई माटोको अगाध माया हुँदोरहेछ । राजा वीरेन्द्रले पनि एउटा भाषणमा भनेका थिए -‘आफ्ना पुर्खाको रगत पसिनाले आर्जन गरेको राष्ट्रिय स्वतन्त्रता मुटुभन्दा प्यारो हुन्छ ।’

धेरै देश पचासौ बर्षसम्म उपनिवेश र साम्राज्यवादको छायामा परेपनि नेपाल सदैव स्वतन्त्र रह्यो । यो गर्वको कुरा हो तर केही बर्ष यता अभूतपूर्व हस्तक्षेप र दलहरुमार्फत बढिरहेको विदेशी चासो राष्ट्रिय सुरक्षाका लागि पनि चिन्ताको विषय बनेको छ । चलचित्रका नायक राजेश हमालले केही दिन अघि एउटा अन्तर्वार्तामा भनेका छन् ‘भारतभन्दा नेपाल पुरानो राष्ट्र हो । कहिले पनि हामी साम्राज्यवाद र विस्तारवादको शिकार भएनौ । जुन कुरामा हामी गर्व गर्न सक्छौ, त्यसरी भारतीयहरु गर्व गर्न सक्दैनन् । तर राष्ट्रियताप्रति यहाँका राजनीतिक दलहरु इमानदार भएनन् । त्यसैले राष्ट्र आज अत्यन्त कमजोर बनेको छ ।’

राजतन्त्रलाई किनारा लगाएर दलहरु नै सर्वाधिकार सम्पन्न भएपनि के कारणले उनीहरुले सही निर्णय गर्न सकिरहेका छैनन् ? के कारणले राष्ट्रका हरेक अंग कमजोर भइरहेका छन् ? किन राष्ट्रले आत्मनिर्णयको अधिकार गुमाइरहेको छ ? हरेक महत्वपूर्ण निर्णयमा आज विदेशीको मुख ताक्ने गरिन्छ, किन ? कूटनीति, आन्तरिक नीतिलगायत प्रायः सबै कुरामा सुक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) गर्न चाहने विदेशी शक्तिहरुका इच्छाविरुद्ध राष्ट्रहितमा स्वतन्त्र निर्णय गर्न प्रमुख राजनीतिज्ञहरु विफल हुनुका कारण के हुन् त ? यी प्रश्नहरुको रहस्य पूर्वराजाले राम्ररी बुझेका छन् ।

किनभने नेपाल स्वाधीन राष्ट्र हो र नेपालले आफै निर्णय गर्छ भनेर दह्रो अडान लिएपछि राजतन्त्रविरुद्ध भाडाका सिपाहीलाई राजनीतिक दलका नेता-कार्यकर्ताको भेषमा सडकमा उतारिएको कुरा गणतन्त्रवादी नेता नारायणमान बिजुक्छेलगायतले पटकपटक खुलासा गरिसकेका छन् । त्यसैको शिकार भए, तत्कालीन राजा ज्ञानेन्द्र ।

२०६२ सालको चैत २४ देखि २०६३ वैशाख ११ बीचमा भएको ‘१९ दिनको आन्दोलन’ अंग्रेजी अल्भावेटको प्रथम अक्षर ए (अमेरिका) र नवौं अक्षर आई (इन्डिया) मिलेर गराएको तर्क गर्नेहरु नै यसलाई ‘मिसन नाइन्टिन’ भन्छन् । २०५८ साल जेठ १९ (नाइन्टिन) पनि यसैको एउटा पाटो थियो भन्ने केहीको तर्क छ । चीनका केही लेखक विश्लेषक तथा कूटनीतिज्ञले मदन भण्डारीको रहस्यमय मृत्यु, राजा वीरेन्द्रको हत्या र पछिल्ला घटनाक्रममा भारत र अमेरिकाको सहकार्य भएको आशंका गरेका छन् ।

त्यसैले भारतमा माओवादीलाई आतंककारी भन्नेहरुले नै राजसंस्थालाई एक्ल्याएर नेपालका माओवादीलाई महान् लोकतन्त्रवादी शक्ति (? ) भन्ने प्रचार गरे । दिल्लीमा भएको बाह्रबुँदे सम्झौता उल्लंघन गर्न खोज्ने दलहरुलाई धुलिसात् बनाउने प्रयास यथावत् रहेको देखिन्छ । कतिपय दलमा केही नेताले सत्य बोल्ने प्रयत्न गरेपनि पार्टी नेतृत्वलाई घेरामा राख्ने पश्चिमी राष्ट्रद्वारा सम्पोषित व्यक्तिहरु र भारतीय खुफिया एजेन्सीका स्थानीय सूचनाकर्मी (लोकल एजेन्ट) सक्रिय भएकाले उनीहरु संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध स्पष्ट बोल्ने साहस गरिरहेका छैनन् । बाबुले ठूलो छोरालाई पैदल हिडाएर कान्छालाई काँधमा बोक्दा ठूलो चाहिँ ठुस्किएझै सीआईए र रअले नेपालका अंगीकृत र नवागन्तुक गुप्तचरलाई बढी महत्व दिएपछि पुराना गुप्तचरमा राष्ट्रवाद टुसाउन थालेको पाइन्छ ।

स्वीट्जरल्याण्डका विकासविद् टोनी हागनको तर्क छ ‘सम्वैधानिक राजतन्त्रमा राजा राजनीतिमा असंलग्न रहन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रुपले उनी एकताको प्रतीक बन्न सक्छन् । दुई ठूला छिमेकीहरुका बीच च्यापिएको नेपाल जस्तो जातीय विविधतायुक्त मुलुकका निम्ति सम्वैधानिक राजतन्त्रको भूमिका महत्वपूर्ण छ । सम्वैधानिक राजतन्त्रबाट विश्वसनीयताका साथै निश्चित निरन्तरता प्राप्त हुन्छ । यसले अप्रत्यासित रुपमा हुने राजनीतिक परिवर्तनबाट जोगाउँछ ।’

(विकेन्द्रीकरण र विकास, प्रजातान्त्रिक सिद्धान्तको भूमिका)बालकृष्ण समले लेखेझै ‘सदैव घाम लाग्दैन, हुँदैन बदली सधै, गद्दी मिल्छ कुनै दिन, रद्दी हुन्छ कुनै दिन’ राजनीतिको यथार्थ हो । त्यसैले गणतन्त्रको गद्दी कसैको आजीवन बिर्ता होइन । निरासा, कुन्ठा, विषाद्, आक्रोस, वितृष्णा र विरक्ति बढ्दै गएपछि हजारौ जनता स्वतःस्फुर्त विद्रोह गर्न थाल्छन् । त्यसबेला कुनै पनि विदेशी शक्तिले जीवनजलको काम गर्दैन । दलहरुले जे गरेपनि हुन्छ भनेर भागवण्डामा पद, पदक, पैसा, प्रतिष्ठा र सुविधा बाँडेर लिने प्रवृत्ति जनभावनाको ठ्याक्कै प्रतिकूल देखिन्छ ।

दातृ निकायका भगिनी र भ्रातृहरुसँग मिलेर जिन्जर ग्रुप चलाउने तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा बढेको आइएनजीओकरणले राष्ट्र नै इसाइकरण हुने खतरा बढेको छ । त्यसैले गणतन्त्रका नाममा इसाईतन्त्र ल्याउन पार्टीका सुगर ड्याडीहरु मिलेर राजतन्त्र मासेको तितो-सत्य पूर्वराजा ज्ञानेन्द्र शाहले पक्कै बुझेका छन् ।

भारत भूखण्डमा ५६५ राजा रजौटा थिए । सन् १९४७ मा मात्र भारतीयले आफ्नो राष्ट्रध्वजा देखेका हुन् । तिरंगा (तीन रंगको) झण्डामा सेतो रंग क्रिश्चियनका लागि, सुन्तला (गेरु) हिन्दुका लागि र हरियो रंग मुसलमानलाई खुशी पार्न राखियो । बीचको ‘कालचक्र’ बौद्ध धर्मावलम्वीका लागि हो । विश्वको एक मात्र हिन्दु अधिराज्यको चन्द्र-सूर्य अंकित क्रिकोणध्वज अनुपम वा अद्वितीय मानिन्छ । सबै देशका झण्डा चारकुने छन् । देवध्वज मानिएको नेपालको मात्र त्रिकोण छ । प्राचीन राष्ट्र नेपालको नाम र झण्डा फेर्ने कुरा माओवादी मार्फत इसाईहरुकै योजनामा उठाइयो । नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिक र राष्ट्रिय एकता दिवस (पुस २७) मास्ने काममा गिरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद सिटौलालगायतलाई प्रयोग गरियो ।

श्यामशरण, एसडी मुनि, केभी राजन, अशोक मेहता, सीताराम यचुरी आदिले नेपालमा जसरी षडयन्त्र गरे, त्यसले राजतन्त्र मात्र कमजोर भएन । नेपालमा पश्चिमाहरुको अत्यधिक प्रभाव बढ्दा चीन र भारत नै चिन्तित भइरहनु पर्ने अवस्था आयो । भारतकी पत्रकार सीमा मुस्तफा दिल्लीका कूटनीतिज्ञहरुलाई ‘हठी (एरोग्यान्ट)’ भन्ने गर्छिन् । ती हठीहरुले नै नेपाल-भारत सम्वन्ध नराम्रोसँग बिगार्ने काम गरे ।

सबै शक्तिलाई सन्तुलित राख्ने हेडमास्टर नहुँदा आज नेपाल असफल राष्ट्र बन्ने खतरा बढिरहेको छ । चीन र भारतले यो धरातलीय यथार्थ बुझ्न थालेका छन् । सायद यही कारणले पूर्वराजाको मनसाय बुझ्न उनीहरुले केही वर्षयता दिल्ली, सिंगापुर र बैंककलगायतका शहरमा सम्वाद गरेका खबरहरु आएका छन् । त्यस्ता समाचारले प्रायोजित नेताहरुको मनमा चिसो पसेको बुझिन्छ ।

राष्ट्र संकटमा पर्दा सबै शक्ति एकजुट हुनैपर्छ । सन् १९३७ मा जापानले हमला गर्दा चीनका राष्ट्रवादी र कम्युनिष्ट दुवै मिलेका थिए । बीपी कोइरालाले राजतन्त्र र प्रजातन्त्र एकार्काका परिपूरक, हितैषी र सहयोगी बन्नुपर्छ र त्यसो गर्न सकेनन् भने उग्र कम्युनिष्टलाई प्रयोग गरेर विदेशीले राजतन्त्र र प्रजातन्त्र दुबै सिध्याउँछन् भनेका थिए ।

पूर्वराजाले दश बर्षसम्म ‘नखोलेको पोको’ धेरै रहस्यमय हुन सक्छ । स्वदेश र विदेशका सिद्धहस्त पत्रकारहरुका बीचमा लिखित रुपमा उनले आफ्ना धारणा, मार्गचित्र, असन्तुष्टि एवं कार्यनीति (रणनीति होइन) स्पष्टसँग प्रस्तुत गर्ने साहस गरे भने गणतन्त्रका वास्तविक स्वामी यहाँका दलहरु होइनन् भन्ने कुरा जनतालाई अझ स्पष्ट हुनेछ ।

नेपाली जनता आज बलियो विकल्प खोजिरहेका छन् । दशबर्षसम्म गणतन्त्रको ढुंगो टुसाउँछ कि भनेर पर्खिएका जनताले राजनीतिक स्थिरता, समृद्धि र सुशासन खोजेका छन् । वाह्य हस्तक्षेपबाट सधैका लागि उन्मुक्ति खोजेका छन् । पूर्वराजाले जनतालाई ढुक्क तुल्याउन सक्ने गुरुयोजना र दृष्टिकोण प्रस्तुत गरेभने उनले यस्तो अवस्थामा अपार जनसमर्थन पाउन सक्छन् । शास्त्रमा पनि भनिएको छ ‘वीर भोग्या वसुन्धरा … ।’ त्यसैले उनले आफ्ना कुरा स्पष्टसँग बोल्नै पर्छ । नखोलेको पोको खोल्नै पर्छ । अन्नपूर्ण पोस्ट बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय