#

त्यसपछि म रातभर निदाउन सकिन…

    २०७६ असार २, सोमबार १७:३४ मा प्रकासित

“नानी तँ कति सुतिरहेकी उठ्न”, एकाबिहानै आन्टीले ढोकामा ढकढक्याउनु भयो। “हजुर आन्टी, आएँ…आएँ” भन्दै निन्द्रामा आँखा मिच्दै ढोका खोलेँ। “मान्छे मरिसके तँ भने यतिबेलासम्म सुतिराखेकी” आन्टीले यति भन्न भ्याउँदा-नभ्याउँदै “को मर्यो आन्टी, कसलाई के भयो” अत्तालिँदै मैले सोधिहालेँ।

 

“यहीँ पल्लो घरमा बस्ने बहिनी मरिछिन्!” “को बहिनी?” अझै म अन्योलमा परिराखेँ र आन्टीलाई सोधेँ। “तीन जना नानीहरू भएकी बहिनी” यति भनिसकेपछि म झल्याँस्स ब्युँझिएँ झैँ भएँ। बाहिर हेरेँ, मान्छेहरूको भिडभाड देखेँ, अनि “कसरी भयो, के भएको थियोे, एक्कासी यस्तो घटना? हामीलाई त बिरामी भएको पनि थाहा छैन। तीन दिन अगाडि मात्रै पसलबाट हातमा दुईवटा स्प्राइड बोकेर गएको देखेकी थिएँ। मान्छे ठीकै देखिन्थिन्।

 

 

कस्तो अचम्म भएको त आन्टी!” “खै बेलुकी राम्रोसँग खाना खाएर सुतेकी रे राति बच्चाले आमाको दूध खोजेर रुन थालेपछि आमा किन उठिनन् भनेर हेर्दा मरिराखेको रहिछिन् रे उनको श्रीमानले भनेको!” मलाई कता-कता मनमा चिसो पस्यो, लाग्यो मान्छेको श्वास त्यति सजिलोसँग जाँदैन, केही रहस्य लुकेको पो छ कि!

 

बिस्तारै मानिसको जमात भएको ठाउँतिर मेरा पाइलाहरू मोडिए, मलाई जस्तै सबै जनालाई शंका लागेको रहेछ। कतै झगडा परेर त यस्तो भएन, अर्की श्रीमती ल्याएर राखेको छ कि, विष खाएर मरिन्। यस्तै-यस्तै कुराहरू भइरहेका रहेछन्। म केबल मौन बसेँ, जति प्रश्न सोधेँ, केबल आन्टीसँग मात्रै सोधेँ त्यसपछि म चुपचाप बसेर उनीहरूका कुरामात्र सुनिरहेँ।

 

 

बिहान ३:३० बजे मरेको मान्छे दिउँसो अबेरसम्म पनि लास निकालिएको थिएन, कोठाभित्र गएर लास हेर्न त सकिनँ तर बाहिरबाट भने त्यहाँको गतिविधि नियालिरहेकी थिएँ। एउटा नानी १०/११ वर्षकी, अर्की नानी ६/७ वर्षकी र काखमा ४ महिनाकी नानी। विचरा ती टुहुरा नानीहरू आँखामा झलझली आइरहे। तिनीहरूको भविष्यको बारेमा सोच्न थालेँ, भोलि कसले पाल्छ होला यी नानीहरूलाई, लोग्ने मानिस न हो केही समयपछि अर्की बिहे गर्ला, जस्तोसुकै भएपनि आफ्नो आमाको काख र अरूको लाख उस्तै हुँदैन। यस्तै-यस्तै कुराहरूले मनलाई तरङ्गित बनाइराख्यो।

 

मन एकत्रित पटक्कै हुन मानेन, कैयौंपटक मनलाई अन्यत्र मोड्ने प्रयास गरेँ तर म पटक-पटक असफल भएँ। दिनभर यस्तै भइरह्यो। साँझपख हावाहुरी र पानी पर्न थाल्यो, उनको मृत्युुलाई त्यही मौसमसँग दाँज्न पुगेछु। काखको नानी छोडेर जानुपरेकोले उनी रोइन्, यस्तै सोच्यो मनले। बिहान खासै खाना खान मन लागेन, दिउँसो पानी पनि नखाई बसेँ, बेलुकी खाना लिएर खान बसेँ तर तीनै नानीहरू आँखामा झलझली आए, घाँटीमा केही अड्किए जस्तै भयो। खान मन लागेन, उठेँ।

 

 

ओछ्यानमा गएर पल्टिएँ, मन भुल्छ कि भनेर कार्यक्रम हेर्न थालेँ, आँखा टि.भी. मा थियो तर मन भने उडान भरेर तिनै टुहुरा नानीहरूतिरै उडिरहेको थियो। कार्यक्रम सकिए लगत्तै किताब लिएर पढ्न खोजेँ सकिन, निदाउन खोजेँ सकिन। केही दिन अगाडि मात्रै “जेठाजूद्वारा खुकुरी प्रहार गरि बुहारीको बीभत्स हत्या”, “प्रेमीद्वारा प्रेमिकाको घाँटी रेटेर हत्या”, “बाबुद्वारा छोरीको बलात्कार” यति धेरै घटनाहरू एकाएक मनभित्र तँछाडमछाड गरेर आउन थाले! भन्छन् नि सम्बन्ध टिकाउनका लागि विश्वास सबैभन्दा मजबुत तत्व हो तर १००% विश्वास केही चिजको पनि हुँदैन रे।

 

म पनि उनी जस्तै नारी, उनी जस्तै विवाहित, उनको जस्तै बच्चा, उनको जस्तै घरपरिवार, श्रीमान। मेरो पनि सबै चिज सबै ठाउँमा छन्। मनमा कता-कता शंकाले डेरा जमायो। त्यतिसम्म सोच्दा मलाई पाप पनि लाग्ला तर मनले सोच्यो। रिसको आवेगमा कुनै दिन मलाई पनि कसैले त्यसरी नै मारिदियो भने मेरो सन्तानको हालत के होला…………आमा नभएको बच्चा साँच्चै टुहुरो हुने रहेछ, आमाबिना संसार साँच्चै अन्धकार हुने रहेछ, यदि भगवान थिई भने दूधेबालकलाई एक्लै पारेर आमा लैजाने थिएनन् होला…..

 

 

यस्तै विविध कुराहरू मनमा खेलिरहे, टाउको भारी भइरह्यो र रातभर निदाउन सकिनँ……रिस र भुकम्पको क्षति रोकिएपछि मात्रै थाहा हुन्छ भन्ने सुनेकी थिएँ, उनको मृत्यु जुनसुकै कारणले भएको भए तापनि उनको मृतात्मा शान्ति पाओस्, हार्दिक समवेदना! लघुकथा:शिर्षक:- त्यसपछि म रातभर निदाउन सकिन

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु