#

ब्राह्मण युवतीसँग प्रेम गर्दा लाठीको वर्षा

    २०७६ आश्विन ११, शनिबार १२:३४ मा प्रकासित

शारदा घर फर्किँदा साँझ परिसकेको थियो । छोरीलाई देखेर चन्द्रप्रसादको कन्सिरी तात्यो । ‘आज पनि डाङ्रोलाई भेटेर आइस् हैन । नभेटेसम्म खाको पच्दैन कि कसो ? कामीसित मुख जोडेको समाचार गामभरि छ । सम्झाउनु सम्झायौँ तर टेरपुच्छर लाइन । अब अति भो । जुन त बाटो आइथिस् त्यै बाटो जा ।’ बुढो गर्जियो ।

 

‘पत्रिकामा लेखेको झुटो हो । रमनेले फैलाको हल्लाको पछि नलाग्नुस् बुबा !’

‘केको बुबा ! को बुबा ? म¥यो तेरो बुबा !’

बाबुछोरीको चर्काचर्की भयो । हल्लाखल्ला सुनेर गाउँलेहरू जम्मा भए ।

‘रमनले मात्र भन्या हो र ? सबै कामीसित जानलाई भन्चन् । जाने भए गैहाल्, म तेरो मुख पनि हेर्न चाहन्नँ ।’

‘त्यस दिन हामीले रेस्टुराँमा बसेर चिसो र एकएक प्लेट ममः खाएको मात्रै हो ।’ शारदाले रुँदै भनी ।

‘भेटेको त हो रैच नि । थुक्क कुकुर्नी ! गाउँभरि बुइँबुइँ छ । छोरी सुध्रेली भनेको तर…. । जा घरबाट निस्किहाल् ।’ रमा पनि कुर्लिई ।

‘रमाले ठीक भनिन् । अब यौटा टुङ्गोमा पुक्नैपर्च । केजातीलाई भन्दा देख्नीलाई लाज भनेजस्तो । हाम्लाईसमेत लाजमर्नु भैसक्यो ।’ लप्टन्नी कान्छीले थपी ।
दहलफसल चल्दाचल्दै रमनको बाबु वामदेव पनि टुप्लुक्क आइपुग्यो ।

‘बोरामा कुइएको आलु प¥यो भने सबै आलु कुहाउँच । सासू मरी भन्नुभन्दा काल पल्केला भन्नी डरभो । छोरीलाई मोहनेको जिम्मा लाएर आउ चन्द्रप्रसाद !’ उसले भन्यो ।
‘छिमेकीले के भने सुनिस् ?’

‘मलाई मोहनको जिम्मा लाउने कि आफ्नो छोरालाई मखमलीको जिम्मा लाउने हो, सोचेर बोल्नुस् ।’ शारदाले कडा जवाफ फर्काइ । वामदेव वचनको चोटले घाइते भयोे ।

‘ठुलाबडासँग मुखमुखै लाग्ने ! कुलङ्गार काँकी । ह्याँबाट निस्किहाल् ?’ चन्द्रप्रसाद फेरि कड्कियो ।

‘म किन जाने ? के अपराध गरेकी छु र जाने ?’ शारदाले अड्डी लिइ ।

‘यस्ता सन्तान जन्मनुभन्दा कोख बाँझो रहेको राम्रो ! धिक्कार छ तँलाई !’ रमा शारदाको जगल्टा लुछ्न अघि बढी ।

‘मोहनेसित नलाग् भनेर कति सम्झायौँ । हाम्रो लागि तँ मरिस् ! हट्, भाग् !’ चन्द्रप्रसादले शारदालाई घोक्¥यायो । ऊ घरको भित्तामा ठोकिई । टाउको र अनुहारमा चोट लाग्यो ।

रमाले भुइँमा पछारिएकी शारदाको कपाल लुछी ।

‘आजदेखि तँ मेरी छोरी हैनस् । कमिनी होस, कमिनी !’ उसले भनी ।

‘यिनको पक्षमा बोल्दिने कोइ छैन भन्दैमा अत्याचार गर्न त भएन नि ! छोरी हो हजुरहरूकी । पाप लाग्च ।’ रञ्जनालाई दया लाग्यो ।
‘जान्ने हुन्चेस्, ला…!’

रमाले रञ्जनाका गालामा एक चड्कन हानी ।

शारदा आँगनको डिलमा घोप्टो परेर रोइरहेकी थिई ।

‘जा भनेको सुनिनस् ?’ चन्द्रप्रसादले जगल्टा समाएर घिसार्न थाल्योे ।

गाउँलेहरूले चन्द्रप्रसाद र रमाकै पक्ष लिए । बेसहारा शारदा रुँदै रुचिलाको घर पुगी । रुचिलाले शारदालाई आफ्नो कोठामा लगेर राखी ।

भोलिपल्ट मोहन र शारदा जिल्ला अदालत पुगे । उनीहरू पत्रिकामा प्रकाशित समाचारको सत्यतथ्य छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै गाली बेइज्जती मुद्दा दायर गरी फर्किए ।
०००

साँझ शारदा र मोहन ‘पिपल ट्री रिसोर्ट’मा पुगे । मोहनले रिसोर्टमा बस्ने बन्दोबस्त मिलायो । ‘भोलि व्यवस्थापन समितिको बैठक छ । बैठकमा तिम्रो नियुक्ति र बस्ने कोठा उपलब्ध गराउने प्रस्ताव राख्नेछु,’ उसले भन्यो ।
रातको नौ बजे मोहन घरतर्फ लाग्योे ।

औँसीको रात भएकोले जताततै अन्धकार थियो । ओरपर स्याल कराइरहका थिए । नजिकैको बाँसको झ्याँङ्बाट हुँचिल कराएको त्रासद आवाज आइरहेको थियो । ऊ मोबाइल लाइटको सहारामा अगाडि बढ्दै गयोे । खोल्सोजस्तो ठाउँमा पुगेपछि खस्याक्खुसुक् गरेको आवाज आयो । चारपाँच जना केटाहरू नाटकीय शैलीमा देखापरे । उनीहरूले मुखमा रुमाल बाँधेका थिए । त्यसमध्येको यौटाले मोहनको बाटो छेक्यो । अन्य केटाहरूले लाठी वर्षाउन थाले । मोहन भुइँमा पछारियोे ।

‘तैले जनहित माविलाई धरासयी बनाइस् । चलिआएको धर्मसंस्कारलाई माटोमा मिलाइस् । कामी भएर बाहुनकी छोरी ताक्ने अनि उल्टै हाम्लाई गाली बेइजती मुद्दा दिने ?’ छातीमा टेक्दै नकावधारीले भन्योे ।
‘रगत छाद्ने गरी हान् !’ अर्कोले भन्योे ।

होहल्ला सुनेर परबाट कसैले टर्चलाईट बाल्यो । आक्रमणकारीहरू फरार भए । उनीहरू नजिकै खोला छेउको झाडीमा गएर लुके । मोहनले शारदालाई फोन ग¥यो । केही बेरमा शारदा र रिसोर्ट साहु आइपुगे । शिवराम पनि भाइभतिजाहरूलाई लिएर आइपुग्यो ।

मोहनको टाउकोमा गहिरो चोट लागेको थियो । शारदा र तुलाराम मिलेर उसलाई पश्चिमाञ्चल अस्पताल पोखरा लिएर गए ।

भोलिपल्ट बिहान दोषीउपर कडा कारबाहीको माग गदै बाबु शिवराम स्थानीय नेताको घर पुग्योे । नेताजीलाई बोल्न गाह्रो प-यो । लामो मौनतापछि उसले मुख खोल्योे–

‘मैले सबै कुरा बुझेँ । गाउँमा तल्ला जातको दुई अढाई सय भोट हो तर गैर दलितको भोट हजार हाराहारी छ । चुनाव आउँदैछ । थोरै तलवितल भो भने भोट ब्याङ्क बिग्रन्छ । हाम्रो पक्षमा पर्दै आएको भोट विरोधी पार्टीको बाकसमा जान सक्छ । अरू क्यै भए भन्नुस् तर यो विषयमा सरी !’ जवाफ आयो ।

‘उसोभा आउँदो चुनावमा हाम्रो भोट चाइँदैन हैन ? दुई हात जोर्दै भोट माग्न नआउनु नि फेरि ।’ यति भन्दै शिवराम नेताको घरबाट निस्कियो ।

ऊ सरासर प्रहरी चौकी पुग्यो । ऊ पुग्दा चौकी इन्चार्ज ड्युटीको खटनपटन गर्दै थियो । शिवरामलाई देख्नासाथ चौकी इन्चार्जले कुरा बुझिहाल्यो ।

‘हामीले घटनाको जानकारी पाइसकेका छौँ । अभियुक्तको खोजी हुँदैछ । दश बजे आएर जाहेरी दिनुहोला’ उसले भन्योे ।

००००

पश्चिमाञ्चल अस्पतालमा मोहनको उपचार चल्योे । त्यस रात शारदा अस्पतालको भुइँमा पछ्यौरा ओछ्याएर सुती । रात बित्यो, बिहान भयो ।

चित्रबेसीका दलितहरू सबेरै अस्पताल पुगे । उनीहरू पुग्दा डाक्टर प्रल्हाद चेकअपमा थियो । ‘सिरियस केही छैन । तर एक हप्ता अस्पतालमै राखेर उपचार गर्दा राम्रो ।’ प्रल्हादले भन्योे ।

‘अहिले तपाईंंलाई कस्तो छ ?’ मलीन अनुहारको साथ शारदाले सोधी ।

‘बिल्कुल ठीक छु ।’ मुस्कुराउँदै मोहनले भन्यो ।

मोहन केही भएकै छैन जसरी मुस्कुराइरहेकोे थियो । शारदाले मोहनको हातमा गुलाफको थुङ्गा दिई ।

‘गहिरो चोटका बाबजुद तपार्ईंंँको ओठमा मुस्कान !’ आश्चर्य मिश्रित वाक्यमा शारदाले सोधी ।

‘म रुनु तिमीलाई रुवाउनु हो । त्यसैले रुन्न । बरू हाँस्छु, खित्का छोडेर हाँस्छु । सक्छ्यौ भने तिमी पनि हाँस !’

‘ठीक भन्नुभो । हाँसीहाँसी बाँच्नु । हाँसीहाँसी जङ्गार तर्नु । हाँसीहाँसी मर्नु ! रुनेको नजिक को जान्छ ? हाँस्नेले जगत हँसाउँछ ! हाँसो पोख्ने ओँठभित्र सिङ्गो ब्रह्माण्ड अटाउँछ ! तर सधैँ त्यसो गर्न सकिन्न र पो ।’ शारदाले भनी ।

मोहनले छ रात अस्पतालमा बितायोे । सातौँ दिनको बिहानै डाक्टर प्रल्हाद चेकअपका लागि आइपुग्यो ।

‘दृढ इच्छाशक्ति हुनेहरू छिटो तन्दुरुस्त हुन्छन् । अब तपार्ईंंले घरमै बसेर औषधी खाँदा हुन्छ ।’

प्रल्हादले त्यही दिन अपरान्ह मोहनलाई डिस्चार्ज गरिदियो ।

डिस्चार्ज भएको रात उनीहरू महेन्द्रपुलको होटलमा बसे । मोहन बिस्तारै हिँडडुल गर्न सक्ने भएको थियो । त्यस रात मोहन र शारदाले जिन्दगीको भावी मार्गचित्र बनाए । भोलिपल्ट बिहान तुलारामलाई साथमा लिएर उनीहरू सराङ्कोट पुगे ।

सराङ्कोटको आकाशमा बादलका टुक्राहरू फुर्रफुर्र उडिरेका थिए । पर्यटकहरू स्वच्छ मौसमको फाइदा उठाउँदै प्याराग्लाइडिङ गर्ने तयारीमा थिए । तल बेँसीमा फेवा मुस्कुराइरहेकी थिई । पाश्र्वमा माछापुच्छ्रे् हिमाल सेतोे केस फिँजाउँदै हाँसिरहेको थियो ।

मोहनले उद्घोष गर्न लाग्योे–

‘प्रिय भाइ तुलाराम ! यतिखेर हामी जीवनको महत्त्वपूर्ण मोडमा खडा छौँ । अबको केही बेरमा तिमी हाम्रो जीवनमा घट्न लागेको सुखद् परिघटनाको साक्षी बन्नेछौ । क्यामरा उठाई तयार होऊ ।’

तुलाराम हातमा क्यामेरा लिँदै दृश्य कैद गर्न हतारियो । मोहनले खल्तीबाट चाँदीको डिब्बा निकाल्यो अनि माछापुच्छ्रे हिमाललाई साक्षी राख्दै शारदाको सिउँदोमा सिन्दुर हाल्यो । आसपास उपस्थित दर्जनभर मानिसहरूले ताली बजाए । शारदाको आँखाबाट हर्षका आँसु झरे ।

‘आँसु नझार शारदा ! आज हाँस्ने दिन हो । जबसम्म माछापुच्छ्रे्र र फेवाताल यस धर्तीमा रहनेछन्, तबसम्म हाम्रो प्रेम जीवित रहने छ ! ब्राह्मण परिवारमा जन्मेर पनि तिमीले दलितसित जुनिभरको नाता जोड्यौ । तिम्रो प्रशंसामा जति शब्द खर्च गरे पनि कम हुन्छ !’ उसले भन्यो ।

शारदाको कवयत्री मन जागृत भयो । ऊ कवितात्मक शैलीमा बोल्न थाली–

‘ओ चराचर जगतको रचयिता ! ओ मौन प्रकृति ! तँ घायल प्रेमीको आवाज सुन् ! जबसम्म आकाशमा चन्द्र–सूर्य र तारा–नक्षेत्रहरू झिलमिलाउने छन् । जबसम्म यस धर्तीमा पहाड, खोलानाला, झरना, छहरा गीत सुसेल्दै बग्नेछन् । जबसम्म फेवा, रारा, गण्डकी, कोसी, कर्णाली, गंगा, यमुनाले असीम प्रेमका साथ सागरतर्फको यात्रा जारी राख्नेछन्, तबसम्म प्रेमीहरूको दुनियाँमा हाम्रो नाम अमर रहने छ । अबका प्रेमीहरूले रोमियो जुलियट हैन, लैला मजनु हैन, मुनामदन पनि हैन, शारदा र मोहनको नाम लिने छन् ।’

भावनाको ज्वार उल्र्यो । दुबैका आँखा रसाए । मोहन र शारदा कसिलो अङ्गालोमा बाँधिए ।

‘मेरी शारदा !’ मोहनले भन्यो ।

‘मेरो मोहन !’ शारदाले भनी ।

शारदाले आफूलाई थाम्न सकिन । उसका आँखा साउने झरीझैँ वर्षिन थाले । एकैछिन अघिसम्म स्वच्छ प्रतीत सराङ्गकोटको आकाशमा कालो बादल मडारिन लाग्यो । बिजुली चम्कियो । मेघ गर्जियो । घनघोर वर्षा भयो । मोहन र शारदाले जलिरहेको तन वर्षाको पानीमा भिजाए ।

‘तेरो अभिशेषले तन–मनको जलन शान्त भयो । धन्यवाद छ तँलाई !’ आकाशतिर हेर्दै मोहनले भन्यो ।

विवाहको खबर चित्रेबेसी पुग्यो । दलितहरूले खुसीयाली मनाए ।

(उपन्यासकार प्रकाश तिवारीको उपन्यास ‘निहारिका’को एक अंश, पुस्तक केही समयभित्रै बिमोचनको तयारी गरिएको छ ।)

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी