#

विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्


उषा न्यौपाने (जीवराज आश्रितकी छोरी)/ ३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना हुन्थे वा हुन्थेनन्, अहिले अनुमान गर्न कठिन हुन्छ ।

बुबा र मदन अंकल पोखरा हुँदै चितवन जानुभन्दा अघिल्लो दिन १ जेठ ०५० मा काठमाडौमा भीषण वर्षा भएको थियो । हामी त्यतिबेला डल्लुमा बस्थ्यौं । बुबा तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय रहेको बागबजारबाट डेरा आउँदै गर्दा पानी परेकाले म छाता लिएर डल्लु पुल नजिक गएँ । उहाँ एउटा पसलमा ओत लागेर बस्नुभएको थियो । मैले बुबालाई छाता ओडाएर ल्याएँ । मेरो जीवनमा बुबासँगको त्यो नै अन्तिम यात्रा बन्न पुग्यो ।

भोलिपल्ट २ जेठमा बुबा पोखरा जानुभयो । म र भाइ (डा. सागर न्यौपाने) स्कूल गइसकेका कारण बुबा घरबाट निक्लँदा हाम्रो भेट भएन ।

बुबालाई पेटको रोग थियो । डा. सुन्दरमणि दीक्षितले अल्सर भइसकेको बताउँदै धेरै हिँडडुल नगर्न, बाहिर खाना नखान सुझाव दिनुभएको थियो ।

विद्या आन्टी केपी अंकललाई एउटै अनुरोध गर्न चाहन्छु– कृपया यहाँहरुको कार्यकालमा दासढुंगा प्रकरणको छानविन र सत्यतथ्य सार्वजनिक होस्
तर, पार्टी महासचिव (मदन भण्डारी) र संगठन विभाग प्रमुख (बुबा) पोखरा हुँदै चितवन जाने कार्यक्रम पहिल्यै तय भएकाले उहाँहरु जानुभयो ।

पोखराबाट चितवन पुगेर अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो । त्यतिबेला पार्टीका मुख्य कार्यक्रम, सभा–सम्मेलन र निर्णयहरु मदन अंकल र बुबाकै सल्लाहमा हुन्थे ।

मदन अंकल र बुबा २ जेठमा पोखरा पुगेर हरि पाण्डेको घरमा बास बस्नुभयो । ३ जेठको बिहान खान खाएर अमर लामाले चलाएको जीपमा चितवन जाँदै गर्दा दासढुंगामा घटना भयो । मदन भण्डारी र बुबालाई हामीले सदाका लागि गुमायांै ।

त्योबेला हाम्रो डल्लुको डेरामा ल्याण्डलाइन फोन थियो । चितवनतिर लाग्नुअघि बुबाले हरि पाण्डेको घरबाट गर्नुभएको फोन मैले नै उठाएकी थिएँ । बुबाले भन्नुभएको थियो, “चस्मा लगाउन नबिर्सनू, नत्र आँखा बिग्रन्छ । अनि ममी र भाइको ख्याल गर्नू ।”

आखिर त्यस्तै भयो, बुबा नभएपछि ममी, भाइ र मैले एकअर्काको हेरचाह गर्नुपर्ने बाध्यता आइलाग्यो ।

२०४६ अघि पार्टीका अरु नेताजस्तै बुबा पनि भूमिगत हुनुभएका कारण हामीले उहाँको सानिध्य कमै पायौं । जनआन्दोलन सफल भएपछि मात्र हामी बुबासँग काठमाडौंमा बस्न पायौं ।

डल्लुभन्दा अघि कालिमाटीमा हाम्रो डेरा थियो । त्यसअघि करिब चार वर्ष पोखरा बस्दा बुबा यदाकदा हामीलाई भेट्न आउनुहुन्थ्यो ।

बुबा व्यक्तिगत सरसफाइमा निकै ध्यान दिने अनुशासित नेता हुनुहुन्थ्यो । एकदमै अनुशाशित भएकाले अरु नेताहरु बुबाँसग हच्किन्थे । पार्टीगत र व्यक्तिगत खर्च एक–एक गरी डायरीमा टिप्ने बुबाको बानी थियो । उहाँ सिलबरे भाँडामा कोइला राखेर कपडामा आइरन लगाउनुहुन्थ्यो ।

बुबा घरमा हुँदा सँधै बीबीसी रेडियो सुन्नुहुन्थ्यो । उहाँ पार्टी स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेको भेऊ हामीले २०४६ को जनआन्दोलन पछि मात्र पायौं ।

एकदमै अनुशासित, कसैले झूठो बोलेको नसहने, अध्ययनशील भएकाले बुबालाई पार्टीले रणनीतिक जिम्मेवारी दिएको हुनुपर्छ । एमालेको महासचिवपछिको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो, उहाँ ।

आजकल माधवकुमार नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रितहरुलाई देख्दा मलाई बुबाको धेरै याद आउँछ ।

३ जेठ २०५० मा मदन–आश्रित सवार जीप त्रिशुलीमा खसेको पहिलो जानकारी हामीलाई प्रदीप नेपालको परिवारले दिएको थियो । त्यसअघि अपरिचित व्यक्तिले फोन गरेर जीप त्रिशूलीमा खसेको बताएको ममीले सुनाउनुभयो ।

दुर्घटनापछि हाम्रो डेरामा पार्टी नेता–कार्यकर्ता आउन थाले । नेपाली कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र गणेशमान सिंह पनि आएर सान्त्वना दिनुभयो ।

दुर्घटना भएको पर्सिपल्ट बुबाको शव जीपभित्रै भेटियो । मदन भण्डारीको पनि शव भेटिएपछि काठमाडौं ल्याइयो । बागबजारको पार्टी मुख्यालय सानो भएकाले दिवंगत नेताद्वयको शव दशरथ रंगशालामा राखियो । पार्टीका नेताहरुले हामीलाई डेराबाट रंगशाला लगे ।

दुई नेताको अवशानपछि नेकपा (एमाले) २०५१ सालदेखि सत्तासीन हुन थाल्यो । शुरुमा अल्पमतको सरकार र त्यसपछि धेरैपटक अनेक तरिकाले सत्तामा रह्यो पार्टी । आजसम्म दासढुंगा दुर्घटनाको गहन छानविन हुन नसक्नु चाहिँ विडम्बना बन्न पुगेको छ ।

श्रद्धाञ्जलीपछि दुवै जनाको शवलाई अलग गाडीमा राखेर नगरपरिक्रमा गराइयो । पार्टी नेताहरुसहित म र ममी बुबाको शव भएको गाडीमा बस्यौं । भाइको परीक्षा भएकाले उसलाई दागबत्ती दिने बेलामा सीधै आर्यघाट ल्याइयो । त्यसरी मदन–आश्रितलाई हामीले सधैंका लागि विदा गरेका थियौं ।

हामी बुबाविनाका यी २७ वर्ष करिब गुमनाम जीवन बाँचेका छौं । २०७४ सालमा ममी सांसद भएपछि हाम्रोबारे पार्टीभित्र र बाहिरबाट सामान्य सोधीखोजी भएको अनुभूति भयो ।

मदन भण्डारी बैचारिक नेता, आश्रित सांगठनिक अगुवा– मार्क्स र लेनिनजस्तै । यी दुईको योगफल तत्कालीन एमाले थियो । उहाँहरु एमालेरुपी सिक्काका दुई पाटा हुनुहुन्थ्यो । २०४८ सालको आम चुनावमा मदन अंकल काठमाडौं १ मा बिजयी हुनुभयो, तर बुबा गुल्मीमा पराजित हुनुभयो ।

भण्डारी र आश्रित कहिले डल्लुको हाम्रो डेरामा त कहिले भण्डारीको नक्सालस्थित डेरामा घन्टौं पार्टी र देशबारे गम्भीर छलफलमा जुटुनुहुन्थ्यो ।

उहाँहरुको निधनपछि त्रिशुलीमा जति पानी बगेर गयो, एमाले पार्टीको जीवनमा पनि त्यति नै आरोह–अवरोह आएका छन् ।

तत्कालीन एमालेका संगठन विभाग प्रमुख र स्थायी कमिटी सदस्य बुबा महासचिवपछि दोस्रो बरियताका नेता हुनुहुन्थ्यो । पार्टी मुख्यालय बल्खु सरेपछि भने स्वर्गीय बुबाप्रति सबैले देख्ने गरी विभेद गरियो । पार्टी कार्यालयमा मदन भण्डारीको मात्र शालिक राखियो । पार्टीका सभा–बैठकमा बुबाको योगदानको चर्चा गर्न पनि छाडियो ।

दिनहरु बित्दै जाँदा बुबालाई ३ जेठको स्मृति सभामा सीमित गरियो । उहाँकै सानिध्य पाएर नेतृत्वमा पुगेकाहरुबाट यस्तो विभेद भएको देख्दा ज्यादै खिन्नताबोध हुने गरेको छ ।

२७ वर्षको यो अवधिमा मदन र आश्रितका दुई परिवारको आर्थिक–सामाजिक अवस्था, सार्वजनिक हैसियतबारे दुनियाँ जानकार छ । अहिले एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकार छ । बुबाकै सहकर्मी केपी ओली अंकल प्रधानमन्त्री पदमा विराजमान हुनुहुन्छ अनि मदन अंकलकी पत्नी विद्या भण्डारी आन्टी राष्ट्रपति हुनुहुन्छ ।

हामीलाई धेरै सयमसम्म एकोहोरो सुनाइएको कुुरा के थियो भने दासढुंगा दुर्घटना होइन, षडयन्त्र र हत्या हो । केपी अंकल विद्या आन्टी दुबैजनाले सार्वजनिक रुपमा यही कुरा भन्दै आउनुभएको छ । त्यो सत्य हो भने दासढुंगा दुर्घटनाको छानविन गर्न अहिले जति अनुकुल समय कहिल्यै हुँदैन ।

त्यसैले राष्ट्रप्रमुख र सरकार प्रमुखलाई एउटै अनुरोध गर्न चाहन्छु– कृपया यहाँहरुको कार्यकालमा दासढुंगा प्रकरणको छानविन र सत्यतथ्य सार्वजनिक होस् । सत्ताप्राप्तिका लागि मात्र दासढुंगा प्रकरणलाई षडयन्त्र, हत्या भनिएको हो भने त्यो मदन–आश्रितको घोर अपमान हुनेछ ।

जीप चालक अमर लामाको पनि हत्या भएका कारण दासढुंगा प्रकरण अझ रहस्यमय बनेको छ । लामाका हत्यारा पनि पत्ता लागेका छैनन् । तर, सरकारले चाहेको खण्डमा अपराधविज्ञहरु राखेर उच्चस्तरीय छानविन समिति बनाउन कठिन छैन । त्यसबाट केही न केही परिणाम पक्कै आउने छ ।

नेकपाको सरकारले मदन–आश्रितप्रति अर्पण गर्ने यो भन्दा सच्चा श्रद्धाञ्जली अरु हुनै सक्दैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु