#

७ दिनका लागि स्वास्थ्यमन्त्री बनाइएपछि कोरोना नियन्त्रणमा यी काम गरें : डा. रवीन्द्र पाण्डे


जीवनमा कहिले काहीँ अकल्पनीय क्षण आउँदारहेछन् । मलाई प्रधानमन्त्रीज्यूले कोरोनासम्बन्धी निर्णय लिनुपर्ने आर्थिक अधिकारसहित सम्पूर्ण अधिकार दिएर ७ दिनका लागि स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभयो । यो मेरो लागि ठूलो अवसर र चुनौती दुवै थियो ।

मसँग जम्मा ७ दिनको समय थियो । त्यसैले म सातै दिन मन्त्रालयमै बसें । पहिलो कामको रूपमा भिजन भएका जनस्वास्थ्यविद्, भाइरोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, समाजशास्त्री, वैज्ञानिक, कृषिविद्, सुरक्षाविद, कूटनीतिज्ञलगायत ३० जनाको टास्क फोर्स गठन गरें । पुरानो संरचना, कार्यशैली र छिद्र थाहा भाएको वर्तमान टीमलाई सरुवा गरेर नयाँ टीमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएँ ।

भ्रष्टाचार माथिबाट नियन्त्रण गर्नुपर्ने बुझेको मैले सञ्चारमाध्यमबाट घोषणा गरें– मैले एक पैसा कमिसन खाने छैन, पीपीई गर्नेछैन । एक पैसा खाएको प्रमाणित भएमा जन्मकैद भोग्न तयार छु । त्यस्तै पीपीई, कमिसन र ढिलासुस्ती गर्ने जो कोही होस्, बर्खास्त गर्नेछु । मलाई जीवन धान्नबाहेक एक रुपैयाँ पनि भत्ता लिने छैन ।

पहिलो दिनमा मैले बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल तथा उत्तराखण्डका मुख्यमन्त्रीसँग कूटनैतिक च्यानलमार्फत् गहन छलफल गरें । उहाँहरूलाई कन्भिन्स गरें, जसले गर्दा सिमानामा दोहोरो कडाइ भयो । नेपालको सिमानामा ५० हजार सुरक्षाकर्मी र ५० हजार नेपाली सिमावासी गरेर एक लाख नेपालीले गस्ती गर्ने वातावरण मिलाएँ । संवेदनशील ठाउँमा सीसीटीभी राख्न लगाएँ ।

भारत सरकार र नेपाल सरकारबीच एकअर्का देशका नागरिकलाई खाने, बस्ने, परीक्षण गर्ने, उपचार गर्ने र निको बनाएर आ–आफ्नो थातथलोमा पुर्‍याउने सहमति गरें । यसमा प्रधानमन्त्रीज्यूले ठूलो सहयोग गर्नुभयो । हामीले ती ५० हजार सुरक्षाकर्मी र स्थानीय मिलेर मेचीदेखि महाकालीसम्म १ लाख नागरिकलाई राख्न मिल्ने सुविधासम्पन्न अस्थायी क्वारेन्टाइन केन्द्र बनायौं । यसमा स्थानीय निकायको ठूलो सहयोग रह्यो ।

प्रधानमन्त्रीज्यू कमान्डर, ७ जना मुख्यमन्त्री सह–कमान्डर, मेयर उप–कमान्डर र गाउँपालिकाको प्रमुख सहायक कमान्डर भएको कोरोना नियन्त्रण हाइकमान्ड गठन गर्न पहल गरें । यसो हुँदा प्रदेश र स्थानीय निकाय परीचालनमा नाटकीय परीवर्तन भयो ।

त्यही दिन मैले प्रधानमन्त्रीज्यूसँग बसेर चीन सरकारसँग कुरा गरें । यो आपतको बेला चीन सरकारले १० लाखलाई जाँच्न पुग्ने गरी पीसीआर मेसिन, किट, एक लाख पीपीई, १० लाख मास्क, ३००० भेन्टिलेटर र भेन्टिलेटर प्रयोग गर्ने तालिम दिने जनशक्ति सहयोग गर्‍यो । ७७ जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामार्फत कोरोना परीक्षण शुरू भयो । संक्रमितलाई अस्पताल तथा अन्य सरकारी भवनमा भर्ना गर्ने व्यवस्था मिलाएँ भने संक्रमण नभएका व्यक्तिहरूलाई बिउ, रासायनिक मल, किटनाशक औषधि तथा राहत दिएर देशव्यापी कृषि क्रान्ति शुरू गरें ।

नेपालमै रासायनिक मलको कारखाना खोल्ने व्यवस्था मिलाएँ । देशव्यापी खेतीपाती तथा पशुपंक्षी पालनको लहर चल्यो । भीरपाखा, घडेरीलगायत सबै भूमिमा खेती अनिवार्य गरें । कृषि बिमा, कृषि एम्बुलेन्समार्फत बजारीकरण तथा सम्पूर्ण उत्पादन राज्यले किन्ने ग्यारेन्टी गरें । भारत, अरब, मलेसिया, कोरिया, इजरायल लगायतका देशमा भएका नेपाली नआएसम्म जनशक्ति अभाव हुने भएकोले सम्बन्धित देशसँग वार्ता गरेर देश फर्किन चाहने नेपालीलाई सुरक्षित रूपमा आफ्नो थातथलोमा लैजाने योजना बनाएँ । त्यस्तै विकसित देशमा भएका नेपालीलाई आफ्नो ज्ञान, सीप र अनुभव नेपालले सदुपयोग गर्ने योजना बनाउन योजनालाई अनुरोध गरें ।

कोरोना परीक्षण तीव्र गतिमा बढिरहेको थियो । संक्रमितलाई आवश्यक औषधि भारत, अमेरिका तथा युरोपेली देशले सहयोग गरे । संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू रातदिन खटे । बन्द भएका तारे होटेलमा अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाइकर्मीलाई बस्ने प्रबन्ध मिलाएँ । १०० % सुरक्षित गुणस्तर भएका पीपीई तथा काम अनुसारको आकर्षक भत्ताको व्यवस्था गरेका कारण उनीहरू ढुक्क भएर काममा खटे । कुनै भूमिका नपाएका तथा नदेखाएका प्राइभेट अस्पताललाई कोरोना अवधिभर नाफारहित सञ्चालन गर्ने व्यवस्था मिलाएँ ।

तीमध्ये केहीलाई कोरोना डेडिकेटेड अस्पताल बनाएँ भने अरूलाई सम्पूर्ण सेवा चलाउने व्यवस्था मिलाएँ । औषधि कम्पनीहरूलाई कच्चा पदार्थ उपलब्ध गराएर औषधिमा आत्मनिर्भर हुने बाटोमा अग्रसर हुने वातावरण मिलाएँ । आयुर्वेद चिकित्सालाई राष्ट्रिय चिकित्साको रूपमा घोषणा गरेर जडिबुटी खेती, औषधि उत्पादन, अनुसन्धान तथा बजारीकरणको योजना बनाएँ । कोरोना संक्रमणमा इम्युनिटी पावर बढाउनको लागि देशभरका स्वास्थ्य संस्थामा औषधि तथा योगको उपलब्धता सुनिश्चित गरें ।

आन्तरिक उडान गर्ने हवाइजहाज तथा हेलोकोप्टरलाई औषधि, खाध्य, बिउ, मल, ढुवानी तथा बिरामीको उद्धारमा प्रयोग गर्ने प्रस्ताव गरें । विदेशमा रहेका उद्यमी नेपाली, एनआरएनए लगायतका संस्था तथा नेपालप्रेमी ट्रष्टहरूबाट औषधि उपकरण संकलन तथा हस्तान्तरण गर्ने काम निरन्तर भयो ।

सम्पूर्ण जनतालाई स्वास्थ्य बिमा गराएँ । यो वर्ष स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर बजेट बनाउन अर्थमन्त्रीसँग समन्वय गरें । अनावश्यक खर्च पूरै कटौती गरेर करको एक–एक थोपा सदुपयोग गर्ने संयन्त्र निर्माण गर्‍यौं । यसले गर्दा जनता सरकारप्रति विश्वस्त हुन थाले । जनताको जीवन पहिलो प्राथमिकता भएकोले सीमा विवादलाई कुटनैतिक तबरले छलफल गर्ने तथा कोरोना नियन्त्रणपछि नेपाल, भारत र चीन बसेर समस्या सुल्झाउने सहमतिमा ३ देशका सरकार सहमत भयौं ।

उद्योग तथा कलकारखानामा संक्रमण नभएका मजदुरलाई त्यहीं बस्ने, खाने व्यवस्था मिलाएर सम्पूर्ण कलकारखाना शुरू गराएँ । बेरोजगार तथा न्यून आय भएका हरेक नागरिकलाई आगामी ६ महिनाका लागि मासिक १५ हजार रुपैयाँ, ५० किलो चामल, ५ किलो दाल, एउटा ग्यास सिलिन्डर तथा नि:शुल्क औषधिको व्यवस्था गरें । संक्रमण भएका क्षेत्रलाई सिल गर्ने, आवतजावत बन्द गर्ने तथा सिल भएका क्षेत्रका घरघरमा खाधान्न नि:शुल्क दिने व्यवस्था मिलाएँ ।

कोरोना संक्रमणको छायामा दीर्घरोग परेको तथा आयस्रोत बन्द भएको स्थितिलाई मैले नजिकबाट नियालेको थिएँ । मेरो अंग्रेजी भाषा राम्रो भएको तथा जनस्वास्थ्यविद् भएकाले मलाई दाता राष्ट्र तथा संस्थासँग डिल गर्न सजिलो भयो । नेपालमा रहेका विदेशी राजदूत, दातृ निकायका प्रतिनिधि, डब्लूएचओ लगायतसँग छलफल गरेर २ वर्ष पुग्ने गरी दीर्घरोगका औषधि ग्यारेन्टी आउने वातावरण मिलाएँ ।

जनसंख्या र भूगोलको हिसाब गरेर देशभरका केही अस्पताललाई दीर्घरोग उपचार केन्द्रको रूपमा परिवर्तन गरें । अन्य बिरामीलाई कोरोना संक्रमण नसरोस् भनेर ज्वरो तथा रुघा क्लिनिक र कोरोना उपचार अस्पतालको रूपमा केही अस्पताल विकास गरें । सुरक्षित प्रसव, खोप, नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरें ।

कोरोना संक्रमण बढ्दै थियो । अहिलेसम्म गरेको लकडाउनको मोडेल मलाई पटक्कै चित्त बुझेको थिएन । मैले लकडाउनको नयाँ मोडेल लागु गरें । बिहान / बेलुका मर्निंग वाक, इभिनिंग वाक गर्न, हावा खाना तथा किनमेल गर्न मान्छेहरूको निकै भीड भइरहेको थियो । यो भीड नियन्त्रण गर्नको लागि मैले बिहानबेलुका कर्फ्यु लगाएर दिउँसो १२ – ३ बजेसम्म पसल खुलाउने व्यवस्था गरें । डिपार्टमेन्टल स्टोर तथा तरकारी बजारमा भीडभाड हुने भएकोले ती बन्द गरेर स्थानीय पसलबाट खरिदबिक्रीको व्यवस्था मिलाएँ ।

अत्यावश्यक कामले घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क, चस्मा र पञ्जा लगाउनुपर्ने व्यवस्था गरें । ६ फिटको भौतिक दूरी कायम गर्ने तथा ३ जनाभन्दा बढीसँगै हिँड्न नपाउने व्यवस्था गरें । यी नियम पालना नगर्नेलाई १० हजार जरिवानाको व्यवस्था गरें । मान्छेको भीडभाड बस्तीभित्र भएको तर मुख्य सडकमा सुरक्षा गस्ती भएको अव्यावहारिक व्यवस्था खारेज गरें । मुख्य सडकमा ट्राफिक प्रहरीको गस्ती र बस्ती तथा गल्लीभित्र सुरक्षा प्रहरीको गस्ती व्यापक बढाएँ ।

देशभर रहेका क्वारेन्टाइन केन्द्रलाई बस्न सजिलो, स्वस्थकर, धेरै र सुरक्षित शौचालय भएको, स्वच्छ पानीको पर्याप्त व्यवस्था, परीक्षणको सुनिश्चितता, एकजना स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचारको व्यवस्था लगायत आमूल सुधार गरें । क्वारेन्टाइन केन्द्रमा व्यायाम, नाचगान, योग, ध्यान, मोटिभेसनल प्रवचन तथा इम्युनिटी पावर बढाउन गुर्जो, तुलसी, अमला, कागती, बेसार, अदुवा, लसुन, ज्वानो, मरिच आदि मिलाएको चिया पिउने व्यवस्था मिलाएँ ।

परीक्षण गर्दा पोजिटिभ देखिएका, स्वस्थ र घरमा पर्याप्त ठाउँ भएका संक्रमितलाई आफ्नै घरमा आइसोलेसनको नियमको पालना गरेर बस्न पाउने व्यवस्था मिलाएँ । यसो गर्दा संक्रमितलाई पनि सजिलो र अस्पतालको भार पनि कम हुने अवस्था आउने भयो । घरमा पर्याप्त ठाउँ नभएका तथा लक्षण देखिएका बिरामीलाई अस्पतालको आइसोलेसन वार्डमा राख्ने व्यवस्था कायम गरें ।

अनिश्चितकालीन लकडाउन असम्भव हुन्छ । त्यसैले मैले असार १ गतेदेखि लागू हुने गरी नयाँ योजना बनाएँ । ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, नियमित औषधि सेवन गर्ने व्यक्ति, गर्भवती, सुत्केरी तथा शिशुलाई घरमा वा सामाजिक संस्थामा आइसोलेसनमा राख्ने, उहाँहरूलाई घरका व्यक्तिले पनि नभेट्ने, खाद्यपदार्थ तथा औषधि उपलब्ध गराउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अबलम्बन गराउने तथा अस्पतालमा आईसीयू र भेन्टिलेटर तयारी अवस्थामा राख्ने लगायतका तयारी गरें । त्यसपछि आन्तरिक लकडाउन खोल्ने निर्णय गरें ।

यसो गर्दा आर्थिक गतिविधि बढ्ने, रोजगारी नगुम्ने तथा सेवा प्रवाह सजिलो मेरो विश्वास रह्यो । युवा तथा बालबालिकामा कोरोना संक्रमणको जोखिम एकदम न्यून भएकाले उनीहरूलाई बाहिरी वातावरणमा एक्स्पोज भएर आफूलाई तथा आमजनतालाई कोरोना संक्रमणको हर्ड इम्युनिटी गेन गर्ने योजना बनाएँ । जब युवा तथा बालबालिका इम्युन हुन्छन् त्यसपछि बाँकी रहेका जोखिम वर्गले स्वत: हर्ड इम्युनिटी प्राप्त गर्छन् । कोरोना संक्रमणसँग लड्न योभन्दा उपयुक्त मोडेल अरू केही हुँदैन । मेरो यो धारणामा कहीँ विरोध भयो भने कहीँ समर्थन भयो । यसो गर्दा स्थिति बिग्रिने देखिएमा लकडाउन फेरि गर्नुपर्ने सुझाव पनि आए । थाहा छैन, म पछि बहाल हुने स्वास्थ्य मन्त्रीले के गर्नुहुनेछ ?

म मन्त्री पदबाट बाहिरिने दिन आउन थाल्यो । मैले अख्तियार, सीआईबी, सम्पत्ति शुद्धिकरण, न्यायालय आदिसँग विशेष बैठक गरें । कालो धन, पीपीईले कमाएको सम्पत्ति तथा स्रोत नखुलेको अन्य सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले रोकतोक नगर्ने, आवश्यक नियम बनाउने तथा कुनै दबाब नआउने प्रत्याभूति गराएँ । यसमा प्रधानमन्त्रीज्यूले ठूलो भूमिका निभाउनुभयो । त्यस्तै १ महिनाभित्र देशबाहिर रहेको सम्पत्ति तथा लुकाएको सम्पत्ति घोषणा गरेमा राज्यले ४०% ट्याक्स काटेर एकपटकलाई वैधानिकता दिने घोषणा गरें । यसो गर्दा कोरोना संक्रमणजन्य नोक्सानको क्षतिपूर्ति हुने तथ्यांक मसँग आयो ।

कोरोना संक्रमणले समाजमा मनोसामाजिक समस्या उत्पन्न गरेकाले प्रत्येक स्वास्थ्य संस्थामा मनोपरामर्शदाता तथा योग प्रशिक्षकको व्यवस्था गरें ।

यी काम गर्नका लागि मैले गठन गरेको विज्ञ समूह, विदेशमा रहेका भिजन भएका विज्ञ नेपाली तथा आम जनतासँगको दैनिक अन्तर्क्रियाको ऊर्जा अत्यन्तै महत्त्वपूर्ण रह्यो । कोरोनाभाइरस नयाँ भएको तथा यसको थोरै मात्र अनुसन्धान भएको सन्दर्भमा नेपालका अनुसन्धान गर्ने संस्थाहरू जस्तै नास्ट, स्वास्थ्य अनुसन्धान परिषद्, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयका वैज्ञानिकहरू तथा युवा वैज्ञानिकहरूको एकीकृत अनुसन्धान छाता गठन गरेर कोरोना भाइरसको अध्ययन, टेस्ट किट उत्पादन, उपलब्ध औषधिहरूको क्लिनिकल ट्रायल तथा खोप निर्माणमा सहजीकरण गरें ।

७ दिनका समय निमेषमै बितेजस्तो लाग्दै थियो । अलार्मको घन्टी बजेकाले म निद्राबाट ब्युँझिएँ । सपनालाई फेरि जोड्न आँखा चिम्लें तर निद्रा पटक्कै लागेन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु