बिचार/ब्लग

परदेशीको सपना


  दमक   मौनता   २०७८ बैशाख २३, १६:४१

कम्पनिले टिकट गरिदिने भयो रे । May 15 बाट घर पठाईदिने व्यवस्था मिलाईसक्यो रे ।

यो सुनेर मन भित्र भित्रै गदगद हुन्छ।

चार दिन पछाडी त घर जाने भनेर तम्सिरसेको मन कोरोना कहरमा परेर रोकिएको आज चार महिना बितिसकेछ । न कम्पनिमा काम नै छ न काम गरेको दाम नै छ । अगाडी अलिअलि कमाएको पैसा पनि घरमा पठाईसकेको थिएँ। गोजीमा भएको अलिअलि पैसा पनि सकियो अब त । आफूलाई दुई छाक टार्न पनि धौ धौ हुन थालेको थियो । यो मरूभुमीमा दिन पनि खै कसरी कटाउने होला ।

यो कोरोना नआएको भए पनि त यतिबेला घर पुगीसकेको हुन्थेँ । घरि कोरोनालाई रिस पोख्न मन लाग्छ घरि कम्पनिलाई। कम्पनिले पहिला नै चार दिन अगाडीको टिकट गरिदिएको भए क्वारेन्टाईन मा बसिओरी पनि यति बेला घर त पुग्थेँ जस्तो लाग्छ ।

बा आमा घरमा कति पिर लिँदै हुनुहुन्छ होला । दुनियाँका छोराछोरी पर्देशमा कोरोनाको शिकार भइरहेको खबर सुन्दा कति आत्तिनु हुँदो हो ।

पोहोर साल घर छोड्ने बेलामा बहिनिले भनेकी थिई ,”दाई अर्को पाली घर आउने बेलामा मेरो see सकिएको हुन्छ मलाई एउटा नयाँ मोवाईल ल्याइदिनु पर्छ है ।” मैले हुन्छ भनेर बचन दिएको थिएँ । खै कसरी पुरा गर्नु बहिनिको बचन ।

बा आमाको भत्किएको सपना टाल्न पर्देशिएको म आज आफ्नै भत्किएको मन लिएर बसेको छु । जसो तसो साहुको ऋण त तिरिसकेँ तर परिवारलाई अझै खुसी बनाउन सकेको छैन । खरले छाएको छानोमा अझै टिन हाल्न सकेको छैन ।

तल्लो घरको कान्छो संग फेसबूकमा कुरा गरेको थिएँ । अस्ती राती ठुलो पानि पर्यो रे । छानो चुहिएर सबै पानि भित्र पस्यो रे । बा आमा र बहिनिको बिल्लिबाठ छ रे । गोठमा बस्न थाल्नुभएको छ रे । यो सुनेर मन अतालिन्छ । घरमा नेट छैन मोवाईलमा फोन गरौँ भने आफ्नो मोवाईलमा पैसा छैन । मन एक तमासको हुन्छ ।आँखाबाट आँशु बगेर गलामा आएर चिसो भएपछि थाहा पाउँछु ।मन बुझाउँन खोज्छु ।खै के हो के संग आफैँ हारेझै लाग्छ । सोच्छु,’म त छोरो मान्छे यसरी रोएर हुन्छ र’ ।

त्यतिकैमा मोवाईलको रिङटोनले झल्याँस्स हुन्छु । फोन हेर्छु ।आमाले गर्नुभएको रहेछ ।हत्त न पत्त आँशु पुस्छु अनि फोन उठाउँछु ।

म : हेल्लो

आमा : हलो छोरा के छ खबर ? सन्चै छस्?

म: हजुर आमा ढोग गरेँ । अँ म सन्चै छु ( मन भरि पिडा भए पनि आमालाई सन्चै छु भनेर टारिदिन्छु ) ।

अनि त्यता के छ नि ?( घरको बिल्लिबाठ थाहा पाएर पनि नपाएजस्तो गर्छु )

आमा : के हुनु र बाबु ,पानी परेको पर्यै छ ।छानो चुहिएर घरमा पानि पसेर बसिसक्नु छैन ।हामी गोठमा बस्दै छौँ । यस्तै छ यता । अनि तँलाई सन्चो छैन कि क्या हो स्वर त बिरामीको जस्तो सुन्दैछु नि ।

म : (कसरी भनौँ रोएकाले आवाज यस्तो भएको भनेर ,त्यसैले ढाँट्न खोज्छु ) हैन आमा अलिअलि रूघा मर्की लागेको छ । ठिक भइहाल्छ नि ।

अनि पोहोर हिँउद मै खरको छानो फेरेर टिन लगाउनु भनेकै थिएँ ।मान्नु भएन आज यस्तो दिन आयो है ।(खुईय्य गरेर लामो सास फेर्छु )

आमा : भनेको त थिईस् नि बाबु । त्यतिबेलै साहुले किचकिच गरे अलिकति ऋण तिर्न बाँकि नै थियो त्यही पैसा बुझाईदियौँ । आज यस्तो होला भनेर के थाहा थियो र छोरा । दशा कहाँ बाजा बजाएर आउँदो रहेछ र ।(आमा रून थाल्नु भयो )। कोरोना कोरोना भन्छन् । संगै छैनस् धेरै पिर लाग्छ छोरा तेरो )

म : (आमालाई सम्झाउँदै) मलाई केहि हुँदैन आमा पिर नगर्नु न । अनि अब त्यो जे नहुनु थियो भै हाल्यो । जसोतसो बस्दै गर्नु । कम्पनिले टिकट गर्दिने भयो रे म पनि अब दुईचार दिनमा आईहाल्छु अनि केही गरौँला। ( गर्न त के नै सक्थेँ र , न त आफुसंग एक सुक्को पैसा नै थियो तर पनि आमाको मन बुझाउन यति भनिदिएँ )

आमा :(खुसी हुँदै) हो र बाबु। भनपछि अब तँ आउने भईस् है । ल छिटो आईज । अनि सुन आउने बेला हामीलाई केही चाँहिदैन बहिनिलाई चाँही एउटा मोवाईल ल्याईदे है ।

म : (आफुले चलाउँदै गरेको मोवाईल भए पनि बहिनिलाई दिने सोच बनाउँछु ) हुन्छ आमा दाईले ल्याईदिन्छ रे भन्नु त्यसलाई ।अनि त्यसको see परिक्षा पनि रोकिन्छ जस्तो छ । घरमा काम सघाउँदै होली नि? अनि बा लाई कस्तो छ?

आमा : त्यही त see दिनलाई भनेर ट्युसन पढ्नका लागी सहरमा कोठा खोजेर राखिदिएँ ।अरू कुनै परिक्षा भएन छ । अब त्यो see पनि नहुने जस्तो छ । कोठाको भाडा तिर्न पाएको छैन । घरबेटीले पनि के भनिसके होला । अँ अहिले घरमै छे । घरमै काम सघाउँछे । बा लाई पनि सन्चै छ । आज पल्लो घरको रोपाईँ छ उतै बाउसे गर्न जानु भा छ ।

(उताबाट साथिहरूले खाने खाने बेला भएको सङ्केत गर्छन्)

म : ल त आमा साथिहरूले खाना खान बोलाउँदै छन् ।म खाना खान जान्छु । आफ्नो र घरको ख्याल गर्नु अनि मेरो चिन्ता नगर्नु । बा र बहिनिलाई पनि सोधेको छ भन्दिनु ।

आमा : ल छोरा मोवाईलमा पैसा पनि सकिएजस्तो छ । अहिलेलाई राखेँ ।

( फोन राख्नासाथ एउटा साथिले उताबाट भन्छ ,” मौसममा आएको खराबीका कारण नेपालले flight बन्द गरिदिएछ )

मन अमिलो हुन्छ पर्देशिको सपना बर्खाको भेलले बगाउँछ ।

मौनता

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु