बिचार/ब्लग

डा. प्रमिस भर्सेस मिस्टर पर्फेक्ट


  काठमाडौ   जुनी भण्डारी   २०७८ जेष्ठ २, ०८:३१

एक पटक भेट न, तिमिहरू दुबैलाई चित्त बुझ्यो भने कुरा अगाडि बढाउँला भन्दै आन्टीले उसको प्रोफाइल पठाउनु भएको थियो।

आन्टीको दाइको साला पर्ने भएकोले परिवारका सबैलाई हाम्रो कुरा मिलोस् र यसै लगनमा बिहे सम्पन्न होस् भन्ने इच्छा थियो। दुई वर्ष अगाडि राखेको प्रोफाइल फोटो, एक-दुई वटा शेयर गरिएका केही जानकारीमुलक भिडियोहरू बाहेक खासै मजेदार केही थिएन उसको फेसबुकमा।

यसबाट अनुमान लगाउन सकिन्थ्यो कि उसलाई खासै फेसबुकमा झुण्डिने फुर्सद छैन या रुची छैन। एक वर्ष अगाडि क्यानडाबाट पिएचडी सकेर हाल नेपालमै जागिर गर्न लागेको र अब बिहेको लागि केटी खोजिरहेको उसलाई एक होनहार, खान्दानी र दाम टन्नै कमाउने केटा भनेर आन्टीले बारम्बार उसको तारिफ गरिरहनुहुन्थ्यो।

‘हेर है सकेसम्म गुमाउनु हुँदैन यस्तो केटा’ भनेर मलाई फकाउनु हुन्थ्यो। नाइ भन्नुपर्ने केही थिएन, अहिलेसम्म आएका बिहेका प्रस्तावहरूमध्ये यो एउटा मन खाएकै प्रस्ताव थियो। एक पटक कुरा पक्का गर्नुअघि प्रत्यक्ष भेटेर कुरा गरौं भन्ने दुबैको चाहनास्वरुप हामी एउटा क्याफेमा भेट्ने भयौं। भेट्ने ठाउँ र समय उसैले तोके बमोजिम तय भएको थियो। म तोकिएको समयमै त्यहाँ पुगे। ऊ पनि भर्खरै आएर बसेको रहेछ।

टेबुलको वारपार भएर बस्यौं हामी। मलाई खासै अफ्ठ्यारो महसुस भएको थिएन किनकि यस्तै भेटघाट यो भन्दा अगाडि तीन जनासँग पनि भएको थियो। कुनैसँग चिना मिलेन, कुनैसँग कुरा मिलेन, एउटासँग उमेर मिलेन। यसपालि भने चिना, उमेर मिलिसकेको थियो। अब बाँकी थियो कुरा मिल्न। मागी विवाह गर्नुको एउटा फाइदा के हुँदोरहेछ भने विकल्पहरू धेरै हुने। त्यसैले पनि कसैसँग प्रेममा पर्न कहिल्यै मन मानेन।

वेटर ‘अर्डर प्लिज’ भन्दै पेपर र कलम तयार पारेर उभिइरह्यो। उसले मेन्यु म तर्फ सार्दै ‘मेरो लागि एउटा ब्लाक कफी, तपाईंले के लिनुहुन्छ?’ भन्यो।

‘चिया मिल्क टि,’ मैले भने।

बिहानको ९ बज्नै लागेकोले अरु अर्डर गर्ने जस्तो केही लागेन। वेटर हाम्रो अर्डर टिपेर हिँड्यो। हामी केही गफगाफ गर्न लाग्यौं। पढाइका अनि परिवारका बारेमा केही कुराकानी भए एकदमै औपचारिक रुपमा ऊ प्रस्तुत भइरहेको देख्दा मलाई पनि केही असहज लाग्यो। यतिकैमा हाम्रो अर्डर पनि आइपुग्यो।

‘हाम्रो रुची फरक रहेछ है, हजुरलाई चिया मन पर्दैन?,’ मैले सोधें।

‘चिया पिउँदिन भन्दा पनि हुन्छ कहिलेकाहीँ पिइहाले पनि लेमन टि पिउँछु, तपाईं पनि विस्तारै छोड्दा राम्रो हुन्छ चियाले फाइदा गर्दैन खासै,’ उसले मेरो चिन्ता लिए झैं गरी सुझाव दियो।

मैले टाउको हल्लाए।

‘मलाई पनि थाहा छ भो चियाले फाइदा गर्दैन भनेर। २२ वर्षदेखि दिनको दुई टाइम पिउँछु खोई बाँचेकै छु क्यारे,’ मनमनै भने।

कुराकानीसँगै उसले कफी पिउन लाग्यो, मैले भने चिया पिउन सकिन। किनकि मैले जुन चिया सोचेर अर्डर गरेकी थिएँ त्यो चिया आएको थिएन। एक कप दुध, एउटा प्लेटमा चिनीको पोका र चियापत्तीका लहरा (टि ब्याग) अनि चम्चा।

मैले त पकाएको चिया होला सोचेर पो मगाएकी, यस्तो चिया चाहिँ खासै मजा आउँदैन मलाई भन्दै चिनीको धुलो भएको प्याकेट खोल्न लागेँ।

‘होर, अब ल्याइहाल्यो खानुस् मन नपरे पनि,’ उसले सामान्य तरिकाले भन्यो।

‘जस्तोसुकै परिस्थितिमा पनि हामी एडजस्ट हुन सक्नुपर्छ, अब यहाँ तपाईंले खोजेको चिया छैन भने जुन चिया उपलब्ध छ त्यसैलाई मन पराउन सक्नुपर्छ,’ उसले थप्यो।

‘कुरा ठिक हो तपाईंको,’ मैले भने।

तर मनले त्यो कुरा ठिक मानिरहेको थिएन। जाबो चियाको कुरामा के सवाल-जवाफ गर्नु भनेर म पनि चुप रहें।

एकैछिन उसँग बस्दा पनि मलाई कस्तो असहज, आफू होच्चिए जस्तो महसुस भइरहेको थियो। उकुसमुकुस, त्यहाँबाट कतिखेर निस्किउँ जस्तो भइरहेको थियो। एक मनले सोच्थें आधा घण्टा सँगै बस्दा त गाह्रो भइरहेको मान्छेसँग पूरै जिन्दगी बिताउन सहज होला त? अर्को मनले भन्थ्यो पछि बानी परिहाल्छ नि घुलमिल हुन बाँकी नै छ।

ऊ राम्रो थियो, अशल थियो, पढेको थियो। सबैले खोज्ने जीवनसाथी वास्तवमा यस्तै नै त हुन्। यी सबै कुरा सोचेर मैले पनि उसँगको सम्बन्धलाई ‘ओके’ भन्दिने निर्णयमा पुगें।

घर पुगेपछि किन-किन मन एकदम खुसी थिएन। मन अझै दुविधामा थियो। कतैबाट केही चमत्कार भइदियोस्, उनीहरूको तर्फबाट यो सम्बन्ध अस्वीकार भइदियोस्, या कोही अरु नै व्यक्तिको कुरा आइदियोस् अनि सबैको ध्यान त्यतै मोडियोस्। जे होस्, जसरी हुन्छ उसँगको बिहे रद्द भइदियोस् भन्ने सोचिरहेकी थिएँ।

यसै क्रममा एक महिनाजति अगाडि एक जना म्याडमले आफ्नो भतिजको कुरा लिएर मेरो घरमा आउनुभएको सम्झें। त्यो बेला केटाले भेट्न खोजेको तर मेरो घरबाट खासै त्यसतर्फ चासो नदेखाएकोले कुरा अगाडि नबढेको पनि सम्झिएँ। घरबाट चासो नदिनुको कारण चाहिँ केटाको पढाइ थियो। ‘ब्याचलर पनि कम्प्लिट नगरेकोलाई कसरी दिनु मास्टर्स गरेकी जागिरे छोरी’ भन्ने कुरा परिवारबाट भएको थियो। मैले ती म्याडमको नम्बर खोजेर फोन गरेँ। अनि आजै साँझ केटासँग भेट्न तयार रहेको कुरा बताएँ।

ऊ व्यापारको सिलसिलामा मलेसियाबाट आजै मात्र घर आइपुग्ने हुँदा भेट्ने कार्यक्रम भोलिको लागि तय गरियो। यो कुरा घरमा कसैलाई भनिनँ। भोलिपल्ट साथीको बिहे थियो। बिहेमा गएको बेलामा उतैबाट उसँग भेट्न जाँदा सहज हुने जस्तो पनि लाग्यो। जसले गर्दा घरमा कसैलाई थाहा हुने कुरा पनि भएन। किन-किन म्याडमले पहिले कुरा ल्याउँदा नै उसको बारेमा एउटा चित्र मनले कोरिसकेको थियो। ‘केटो पर्फेक्ट छ,’ मनले भनेको थियो। तर घरपरिवारले चासो नदेखाएपछि किन मरिहत्ते गर्नु म पनि भनेर त्यता वास्ता गरेकी थिइनँ। पढाइमा एकदमै अब्बल भए पनि घरको जिम्मेवारी आफ्नै काँधमा भएकोले ब्याचलर पूरा गर्न नपाउँदै व्यापारतिर लागेको। दुई जना बहिनीको अभिभावक आफैं रहेको, सानैमा बाबुले छोडेर अर्कै घरजम गरी बसेका र तीन वर्षअघि आमाको पनि मृत्यु भइसकेकोले आफ्नो पढाइ भन्दा बहिनीहरूको भविष्य महत्वपूर्ण रहेको सोचेर पढाइ छोडेको। अहिले टायल मार्वलको पसलबाट निकै सफल व्यापारी बनेको, यी सबै कुरा म्याडमले सुनाइरहँदा मलाई मनपर्ने टाइपको लागेको थियो।

संघर्ष गरेर सफल भएको, जे गरेको छ आफ्नै बलबुताले गरेको व्यक्ति थियो ऊ। एकपटक भेटेर मान्छे मन पर्‍यो भने मिस्टर पिएचडी, आदर्शवादी ‘टि हेटर्स’लाई साइड लगाइदिन हुन्थ्यो भन्ने योजना बनाइरहेकी थिएँ मैले।

अर्को दिन आउन केहीबेर लागेन। तयार भएर म साथीको बिहेमा गएँ। मिस्टर परफेक्टलाई मेरो फोन नम्बर दिइसकिएको थियो। म उसको फोनको पर्खाइमा थिएँ। बिहेको रमझम र हल्लामा कतिबेला फोन आएको रहेछ मैले थाहै पाइन। खाना खाने बेलामा यसो फोन चेक गरेको तीन वटा मिस्डकल देखें नयाँ नम्बरबाट।

मैले कलब्याक गरें। उसैको फोन रहेछ।

म आधा घण्टामा त्यहाँ आइपुग्ने जानकारी दिएँ। त्यहाँ भन्नाले हामी भेट्ने ठाउँ, त्यही क्याफे जहाँ प्रमिश र म भेटेका थियौं। उसले सहमति जनायो। बिहेको कार्यक्रम चलिरहेको थियो। म जरुरी काम आइपर्‍यो भनेर साथीसँग बिदा भएर त्यहाँबाट निस्किएँ। दिउँसोको २ बजेको थियो म त्यहाँ पुग्दा। मैले स्कुटर पार्क गरेर उसलाई फोन गर्नै लागेकी थिएँ, टप्लक्क मेरो अगाडि एक जना गहुगोरो, हट्टाकट्टा, कालो टिसर्ट, बाहिर हल्का खैरो ज्याकेट र जिन्स लगाएको युवक ‘हाई’ भन्दै आइपुग्यो।

मैले अनुमान लगाइसकेँ फेसबुकमा देखेको मिस्टर पर्फेक्ट र ऊ दुरुस्तै थिए। म मुसुक्क हासे अथवा उसलाई देख्नासाथ मेरो मुस्कानको ग्रन्थी आफैं सक्रिय भएर आयो।

‘कतिबेला आइपुग्नुभएको?,’ मैले सोधें।

‘म त अघि नै आएर एक कप चिया पिइसकें माथि रुफटपमा बसेर। तपाईं आएको देखेर लिन आएको नि। वेटरलाई यो टेबल रिजर्भ हो है भनेको छु। हिड्नुस् जाउँ,’ उसले भन्यो। मैले गाउन लगाएकी थिएँ। भर्‍याङ अलि अफ्टेरो थियो, त्यहीमाथि मेरो पेन्सिल हिल। माथि चढ्न मलाई अलि असहज भइरहेको थियो। उसले मेरो मर्म बुझेछ, ‘हिलले गर्दा गाह्रो भयो है तपाईंलाई, यसो गर्नुस् न तपाईं यो गाउन सम्हालेर विस्तारै आउनुस्, स्याण्डल खोलेर मलाई दिनुस्, यसो गर्दा सजिलो हुनेछ,’ उसले भन्यो।

मैले आफ्नो स्याण्डल उसलाई दिन अफ्ठ्यारो मानेँ। तर उसले कुनै आपत्ति हुँदैन भनेपछि नदिई सुखै भएन। कति सहजै माथि पुग्न मद्दत गर्‍यो उसले।

‘तल धेरै चुरोटको धुवाँ र भिडभाड भएकोले यहाँ बस्न उचित ठानेको थिएँ। तपाईंलाई दु:ख दिएँ है,’ उसले भन्यो।

‘के को दु:ख, तपाईंले सहज बनाइदिनुभयो नि यहाँसम्म आउन’ भन्दै उसको हातमा रहेको मेरो स्याण्डलतर्फ हेरे।

‘ओह्’ भन्दै उसले स्याण्डिल दियो। हामी उसले रिजर्भ गरेको टेबुलतर्फ गयौं। यो गाउन सुहाएको छ एकदम भनेर उसले कुराकानीको सुरुवातलाई नै रोमान्टिक बनाइदियो। त्यसो त भर्‍याङ चढ्ने क्रममै उसले भेटघाटलाई यति सहज बनाइदिएको थियो कि हामी पहिलो पटक भेट्दैछौं भन्ने महसुस नै भएन।

कोही-कोही हुन्छन् जो सँग भेट्दा, कुरा गर्दा चाहे पहिलो पटक नै किन नहोस् तिनी वर्षौंदेखिका परिचित हुन् जस्तो आभाष हुने। ऊ पनि त्यही टाइपको लाग्यो मलाई विल्कुलै। भर्खरै बिहेमा खाना खाएर आएको हुनाले अरु केही खाने मन थिएन। मैले केही नखाने जानकारी दिएँ।

‘चिया मात्र भए पनि लिनुस् न,’ उसले आग्रह गर्‍यो। चियाको त म पारखी नै हो नि तर त्यहाँको चिया त चिया नै थिएन मेरो लागि।

‘मलाई त चिया मज्जाले पकाएको, सुकमेल, अदुवा राखेको, कडा रङ्ग, ठिक्क चिनी भएको बरु थोरै नै किन नहोस् मिठ्ठो होस्, यस्तो चिया मात्र पिउन मनपर्छ,’ मैले उसलाई भने।

‘मेरै मनको कुरा भन्नुभो, एकदम त्यस्तै चिया मलाई पनि मन पर्छ,’ उसले भन्यो।

‘अघिको चियाले मलाई खासै मजा आएको थिएन अब तपाईंले भनेको जस्तै चिया पिउनुपर्छ’ भन्दै वेटरलाई बोलायो।

सुरूमा वेटरले त्यस्तो चिया यहाँ नबन्ने गरेको बताउँछ तर पछि मिस्टर पर्फेक्टले यति मजाले कुरा गर्छ कि वेटर आफैं गएर चिया बनाउन पनि तयार भएजस्तो गर्छ। आखिर एकैछिनमा हामीले सोचेको भन्दा मिठो दुई कप चिया टेबुलमा हाजिर हुन्छ। उसको बोल्ने कला, बोलीले नै सबैको मन जितेर आफूले चाहेको कुरा सजिलै प्राप्त गर्न सक्ने क्षमता देखेर म पनि छक्क परे।

‘हामीले यहाँ त्यो चियाको मूल्य तिरेका छौं, त्यसैले हामीले चाहेको जस्तो चिया पाउनु हाम्रो हक हो, अरुले जे दिन्छन् त्यही स्वीकार्नुभन्दा पनि अरुबाट हामीले चाहेको कुरा लिन सक्नुपर्छ। यदि उसले त्यस्तो चिया ल्याउन अस्वीकार गर्थ्यो भने उसकै ग्राहक घट्ने थियो, हामीले यो पसल छोडेर आफूले चाहेको कुरा पाउने पसलमा जान सकिन्थ्यो।’

उसले यसरी कुरा गरिरहँदा म उसमा डुबिरहेकी थिएँ। उसको कुरा सुनिरहुँ जस्तो लाग्यो, त्यो भेट कस्तो रमाइलो र उपलब्धीमूलक लाग्यो। एक जना दिदीले भनेको कुरा सम्झना आयो- जब श्रीमान सबै कुरा ह्याण्डल गर्न सक्ने, चित्त नबुझेको कुरा फ्याट्ट सबैको अगाडि भन्न सक्ने, निडर हुन्छन् नि तिनका श्रीमतीलाई सबैसँग मिठो बोलेर, काउलो पारेर नै बाँच्न पुग्छ। तर, बोल्न डराउने वा जे छ त्यसैलाई आत्मसात गर्नुपर्छ भन्ने श्रीमान् हुन्छन् नि तिनका श्रीमतीहरू आफैं अघि सरेर नबोली हुँदैन, सबैको अगाडि आफू नै छुच्ची कहलाउँछन्।

मैले आफूलाई डाक्टर प्रमिश र मिस्टर पर्फेक्टलाई पालैपालो आफ्नो श्रीमानको रुपमा कल्पना गरेर सोचेँ। म आफूलाई मिस्टर पर्फेक्टको श्रीमती हुँदा सुखी हुन सक्ने अनुमान गरेँ।

कति छिटो एक घण्टा बिताइएछ। अस्ति प्रमिशसँग बिताएको आधा घण्टा पनि तीन घण्टा जस्तै लागेको थियो। तर, यो भेट भने एक घण्टा बितिसक्दा पनि १० मिनेटजस्तै लागिरहेको थियो। अन्त्यमा, बिदा हुने बेलामा उसले भन्यो- मेरो तर्फबाट ओके छ, अब तपाईंको निर्णय आरामले सुनाउँदा हुन्छ। आफ्नो मनको सुन्नुहोस्, निर्धक्क भएर निर्णय लिनुहोस्। वैवाहिक सम्बन्धका लागि कुनै दबाबमा नपर्नुहोला। हामी यहाँ भेट्यौं, सँगै चिया पियौं। हाम्रो बीचमा एउटा सम्बन्ध सधैको लागि जोडियो, मित्रताको सम्बन्ध।

म केही बोल्न सकिनँ। ‘हस्’ भनेर मुस्कुराएँ मात्र। हामी एकअर्कासँग बिदा भयौं।

घर पुग्दा घरको माहौल अर्कै थियो। भान्सामा अनेकथरी पकवानहरू पाक्दै थिए।

‘यो सब के को तयारी?,’ मैले सोधे। आज केटाको घरबाट सबैजना भेटघाटको लागि आउने रे, बिहेको मिति र तयारीका बारेमा छलफल गर्नलाई।

एकैछिन अगाडि चंगा झैं भएको मेरो मन एक्कासि पहाड खसेर थिचेजस्तो भयो।

‘केटाको घरबाट सबै आउने रे? मैले फाइनल डिसिजन सुनाएकै छैन, म उसँग आधा घण्टा भेट्न तयार भएँ। यसको मतलब बिहेकै लागि म राजी भए भन्ने त होइन नि,’ म अलि चर्को स्वरमा कराएँ। दिदी, आमा र आन्टीले मलाइ एकैसाथ खाउँला जस्तो गरी हेर्न थाले। मैले फेरि आफ्नो निर्णय सुनाएँ – ठिक छ उनीहरूलाई आउन दिनुस्, यो सबै पकवान सिध्याउने मान्छे पनि त चाहियो। तर, मेरो निर्णय सुन्नुस्, म उसँग बिहे गर्दिन, नितु म्याडमले ल्याको कुरा थियो नि टायल व्यापारी, हो म आज उसैसँग भेटेर आएँ, मलाई ऊ मन पर्यो। म उसैसँग बिहे गर्न चाहन्छु।

मेरो कुरा सुनेपछि सबै जनाले मलाइ यसरी हेर्नुभयो कि मानौं मैले कुनै मान्छेको हत्या गरेर आएकी छु या म कुनै अपराधी हो। त्यसपछि पालैपालो मलाई सम्झाउने काम सुरु भयो। उहाँहरू भन्नुहुन्थ्यो – तेरो दिमाग त ठिक ठाउँमा छ? प्रमिशको दाँजोमा कोही पनि केटा आउन सक्दैन। हेर, अरुले छोरी कसलाई दिनुभो भनेर सोध्दा पनि पिएचडी होल्डरलाई भन्दा हाम्रो कत्रो इज्जत रहन्छ। उसको खान्दान, उसको इज्जत हेर त, उसको बुवालाई नचिन्ने कोही छैन। भने जस्तो जागिर, इज्जत,घर सबै कुरा सोच्नुपर्छ बिहेजस्तो निर्णय लिँदा।

उहाँहरूको कुराले मलाई दोधारमा पार्‍यो। मैले प्रमिशलाई चुन्दा समाजले ओहो भन्ने भयो, आफन्तहरूको बेग्लै शान हुनेभयो। तर, पर्फेक्टलाई चुन्दा भने मेरो मनले मात्र आहा भन्ने भयो। यदि यो आहा जिन्दगीभरको लागि हुन सकेन भने त्यसको दोषी मै आफैं हुनेछु।

प्रमिशमा पनि खोट लगाउनुपर्ने कुरा त केही थिएन। त्यति मात्र हो कि दुबै जनासँगको भेटलाई दाँजेर हेर्दा म बढी खुसी मिस्टर पर्फेक्टसँगको भेटमा भएकी थिएँ। मैले दुई तीन जना साथीहरूलाई फोन गरेर राय लिएँ। सबैले प्रमिशलाई नै रोज्ने सल्लाह दिए। आखिर मनबाट होइन मस्तिष्कबाट मैले निर्णय लिएँ।

प्रमिशसँग बिहे हुने दिन पनि तोकियो। सबै तयारी सकियो, बिहेको दिन पनि आयो। मेरो मनले भने जतिबेला पनि मिस्टर पर्फेक्टलाई नै खोजिरहेको जस्तो लागिरहेको थियो। एक भेटमै उसको कुराकानी गर्ने शैली, उसको व्यवहार कस्तो बिर्सिनै नसक्ने गरी आँखामै अल्झिरहेको थियो।

जतिबेला पनि ऊ भएको भए अहिले यस्तो भन्थ्यो होला, ऊ भएको भए यस्तो गर्थ्यो होला भन्ने जस्ता कुराहरू मनमा खेलिरका थिए। जन्ती आउने समय भइसकेको थियो। त्यस दिनको सेलिब्रेटी थिएँ म।

मलाई चारैतिरबाट घेरिएको थियो। क्यामेराको फोकस मैतर्फ थियो। श्रृङ्गार गरेर सकिएपछि मेरो फोटोसेसन चलिरहेको थियो। सबै जना पालैपालो मसँग फोटो खिचिरहेका थिए। म बाथरुम जानको लागि एकछिन अनुमति मागे। बाथरुममा फोन पनि लिएर गएँ। मैले त्यहाँबाट मिस्टर पर्फेक्टलाई फोन गरेँ।

‘मलाई सहयोग चाहियो तपाईंको, मलाई यहाँबाट निकाल्न सक्नुहुन्छ?,’ मैले फोनमा भने। उसले के भयो भनेर सोध्यो।

मैले उसलाई मनैदेखि चाहेको, उसैसँग बिहे गर्न मन भएको तर परिवारको करकापले गर्दा यो सबै निर्णय लिएको र अहिले बाथररुमबाट बोलेको सबै कुरा बताएँ उसलाई। ऊ मिस्टर पर्फेक्ट हो, उसले सबै कुरा गर्न सक्छ, ऊ स्मार्ट छ, ऊ साथमा भएपछि म जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न सक्छु भन्ने विश्वास थियो मलाई।

नभन्दै उसले पाँच मिनेटभित्र घर अगाडि आइपुग्छु म, त्यहाँबाट निस्किहाल्नुस् भन्यो। म ढुक्क भएँ। मलाई डर पनि लागेन। मेरो साथी आउँदैछ बाहिर, म उसलाई लिन जान्छु भन्ने बहाना गरेर म घर अगाडिसम्म गएँ। म पुग्नासाथ एउटा बाइक लिएर मिस्टर पर्फेक्ट हाजिर भइसकेको थियो। म उसको बाइकमा बसें। उसले बाइक हुइँकायो। सबै जना हेरेको हेरै भए। हामी भाग्यौं। कसैले पछ्याउन सकेन। ह्याप्पी इन्डिङ भयो तर कल्पनामा मात्र। कुनै चलचित्रमा भएको भए यो इण्डिङ सम्भव थियो। तर, वास्तविक जीवनमा यस्तो हुन गाह्रो थियो।

मैले बाथरुममा फोन त लिएर गएँ तर उसलाई फोन गर्ने आँट गर्न सकिनँ। बाहिरबाट मलाई जन्ती आइसकेको र छिटो निस्किने आदेश आयो। मिस्टर पर्फेक्टका सबै यादहरू, उसँग जीवन बिताउने रहर सबैलाई फ्लस गरेर बाथरुमबाट बाहिर निस्किएँ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार