बिचार/ब्लग

सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी श्रीमतीले श्रीमानलाइ मध्यरातमा फोन गर्दै भनिन्, ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण २०, २०:३५

घटना नम्बर १ / पहिलो दिन

हरेक मध्येरातमा एक नम्बरबाट उनलार्ई मिसकल आइरहेको हुन्छ, तर कसको नम्बर होला भनी उनी फोन फर्काउँदैनन् बरु कसैको नम्बर झुक्किएर आयो होला भन्ने सोच्छन् । एक दिन होइन दुई दिन, तीन दिन लगातार मिसकल आइरहेको हुन्छ । सातौँ दिनको मध्यरातमा फेरि मिस कल आउँछ र उनकी छोरीले ‘बाबा हजुरको नम्बरमा मिलकल आइराछ’ भन्छिन्, तर ‘कसैले झुक्किएर गरेको होला, छोड्देउ छोरी’ भन्छन् उनी । बाबा, छोरी, छोरा सबै सुत्छन् । सोही रात फेरि मिसकल आउँछ । ’अब त भएन है यसलार्ई थर्काउनु पऱ्यो भन्दै छोरी र छोराले फोन फर्काउन खोज्छन्, बाबाले फोन लिँदै ‘म कुरा गर्छु को रहेछ यति राति सधैं मिस कल गर्ने’ भन्छन् ।

र, उनी फोन गर्छन् । उताबाट आवाज आउँछ- ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’ यो शब्द सुनेर उनी झस्किन्छन् । आवाज चिनेको जस्तो पनि लाग्छ, जवाफ फर्काउँछन–‘तपाईं को हो ? फेरि मलाई प्रेसर छ या छैन तपाईंलाई जानकारी कसरी ?’ जवाफ आउँछ- ‘म उही हुँ… हजुरसँग सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी व्यक्ति ।’

सम्बन्ध विच्छेद भैसकेकी आफ्नो पूर्वपत्नीको आवाज सुनेर उनी मौन हुन्छन् । छोराछोरीले ‘बाबा को हो ? किन यति राति फोन गरेको ? फेरि महिलाको आवाज छ’ भन्दै जिज्ञासा राख्छन् । बच्चाहरूको प्रश्नको जवाफ उनले दिन चाहेनन्, ‘सुत तिमीहरू.. यति रात भैसक्यो’ भन्दै मोबाइल अफ गर्छन् र सबै सुत्छन् ।

भोलिपल्ट बिहान

तीनैजना एकसाथ चियाखाजा खाँदैछन् । छोराछोरीलाई कौतुहलता हुन्छ, बाबालाई राति कसको मिसकल आउँछ भनेर बुझ्नलार्ई, र हिम्मत गरेर सोध्छन्- ‘बाबा हजुरलाई कसको मिसकल आउँछ मध्यरातमा.. हामीलाई भन्नुस् न, फेरि हामी खाना पनि खाँदैनौँ नि !’ बच्चाहरू जिद्दी गर्छन् । उनीहरूको जिद्दीको अघि बाबाको केही चल्दैन । उनी वास्तविकता खोल्न बाध्य हन्छन्– ‘मध्यरातमा सधैं मिस कल आउने तिमीहरूको आमाको हो ।’

बच्चाहरू झस्किन्छन् । ‘बाबा.. किन मामुले हजुरलाई मिसकल गरेको ? उहाँले हजुरसँग सम्बन्ध विच्छेद गरेर अर्कैसँग विवाह गर्नुभएको होइन र ? हामीलाई थाहा छ । अहिले किन मिसकल गरेर दुःख दिएको होला ?’

छोराछोरीको कुरा सुनेर बाबा भन्छन्, ‘हेर.. तिम्री आमाको सम्बन्ध मसँग विच्छेद भएको हो तिमीहरूसँग होइन, आमा हो ! तिमीहरूले मानमर्यादा राख्नैपर्छ ।’

तर छोराछोरी कुनै हालतमा मान्दैनन् । ‘कस्तो दुःखमा बाबा हजुरलाई मामुले छोडेको हो हामीलाई थाहा छ, फेरि पनि हजुर हामीलाई सम्मान गर्न सिकाउनुहुन्छ !’ छोरी रिसाएजस्तो भाव प्रकट गर्दै भन्छिन् । ‘मलाई बिर्से पनि बिर्स तर आमालाई नबिर्स’- बाबाले भनिरहेका हुन्छन् । बच्चाहरू आफ्नो बाबालाई प्राणझैँ माया गर्छन्, बाबाको कुरा मान्छन् र बाबालाई अर्को विवाह गर्न सुझाव पनि दिन्छन् ।

सोही दिन

अफिसमा सधैं व्यस्त हुने उनी त्यो दिन सम्बन्ध विच्छेद भएकी पत्नीले गरेको मिसकल सम्झिरहन्छन् । कार्यालयमा कोहीसँग भेट नगर्ने आफ्नो सेक्रेटरीलाई भनेका हुन्छन् । त्यत्तिकैमा घरबाट छोरीको फोन आउँछ– ‘बाबा हजुरले खाजा खाइस्यो ? प्रेसरको दबाइ पनि घरमा नै छोडिसेछ ।’ आफूलाई छोराछोरीले गरेको माया देखेर उनी भावुक बन्न पुग्छन्, र भन्छन्– ‘छोरी.. मैले बिर्सिएछु, भरे बेलुका एकैपटक दुई वटा खान्छु है !’

फेरि उनी आफनो दिनचर्यामा फर्किन्छन् । एक साथीको काममा उनी जिल्ला अदालत काठमाडौं पुग्छन् । साथीले उनलाई त्यहाँ पर्खिरहेका हुन्छन् । दुवै कामका खातिर अदालतभित्र गइरहेका हुन्छन्, ठिक त्यही बेला एक महिला फिराद शाखाबाट फर्किरहेकी हुन्छिन् । सलले शिर छोपिएको हुन्छ उनको, त्यत्तिकै ती महिलाले आफ्नो पूर्वपतिलाई साथीसँग देख्छिन् । दुवैको भेट हुन्छ । साथीले ‘भाउज्यु, तपाईं सन्चै हुनुहुन्छ ?’ भन्छन् । आफ्नो पतिलाई देखेर उनी गहभरी आँशु गर्छिन् र, श्रीमानलाई ‘आराम हुनुहुन्छ नि ?’ भन्दै जान्छिन् ।

घटना नम्बर २

हरेक दिन बिहान–बेलुका बच्चाहरू आफ्नो बाबासँग कुरा गर्छन् । ‘बाबा खाजा खाइस्यो ? के खाइस्यो ? हामीलाई लिन कहिले आउने ?’ यो सबै कुरा आमाले देखिरहेकी हुन्छिन् । बच्चाहरू सानै छन् । उनीहरूलाई थाहा छैन कि आफ्नो आमाबाबाले सम्बन्ध विच्छेद गरेका छन् भनेर । उनीहरूलाई मानसिक असर पुग्न सक्छ भन्दै परिवारजनले केही भनेका हुँदैनन् । तर ती बच्चाहरू हरेक दिन ‘बाबा खै बाबा खै’ भन्दै आमासँग पिरिरहेका हुन्छन् । आमाले बच्चाहरूलाई फुस्ल्याउन सक्दिनन् । यसो गर्दागर्दै झण्डै एक वर्ष बित्यो । तर बच्चाहरू आफ्नो बाबालाई सम्झिरहेका हुन्छन् । स्कुलमा छुट्टि हुनेबित्तिकै ‘बाबा लिन आइसिन्छ’ भन्दै गेटतिर दौडिन्छन् त कहिले फोन गर्न खोज्छन् । तर बाबाले मोबाइल नम्बर परिवर्तन गरेका हुन्छन् । ती बच्चाहरू बबा–बाबा भनेर छटपटाइरहेका हुन्छन् ।

कामविशेषले ललितपुर जिल्ला अदालत पुग्दा देखेको एक दृश्य–

जिल्ला अदालत ललितपुरको गेटनिर एक महिला र पुरुष बच्चाहरूको विषयमा आफूहरूले समझदारी बनाउनुपर्ने भन्दै सल्लाह गरिरहेका हुन्छन् । सम्बन्ध विच्छेद भएपछि आफ्ना साना बच्चालाई आफैले हुर्काउने र कानूनले पनि वालिग नहुँदासम्म आमाकै जिम्मामा सन्तान रहने व्यस्था गरेअनुरुप आफैले सन्तानलाई हुर्काउँदै आइरहेको महिलाले भनिरहेकी हुन्छिन् । तर त्यो क्रममा बच्चाहरूले बाबा खोज्ने हामीलाई बाबानिर लैजानु भनेर दुःख दिँदै आइरहेका हुन्छन् र यही बच्चाहरूको कारण पनि आफूहरू एक हुन आवश्यक रहेको पूर्वपतिलाई भनिरहेकी हुन्छिन् । तर पति अब विच्छेद भएको सम्बन्धलाई कुनै पनि हालतमा स्वीकार नगर्ने तर्क दिइरहेको हुन्छ । पति–पत्नीको सम्बन्ध विच्छेदका दिन पत्नीले पतिलाई भनेका शब्दहरू ती पुरुषले सम्झिरहेका हुन्छन् । तर महिला फेरि सम्बन्ध बढाउनेतर्फ बोलिरहेकी हुन्छिन् ।

वास्तविकता

हामीले अहिलेसम्म सम्बन्ध विच्छेदको घटना धेरै सुनेका र देखेका पनि छौँ । यो कस्तो क्षण हो तपाईं–हामी सजिलैसँग भन्न सक्छौँ । जीवनभर दुःख–सुखको कसम खाने जोडी एक्कासी आएर कसरी विच्छेद हुने अवस्थामा पुग्छ ? पति र परिवारको यातनाको कारण पनि सम्बन्ध विच्छेद गर्न पुगेका घटना हामीले सर्वत्र पाउन सक्छौँ । उमेर नपुगी विवाह हुने, एकअर्काको कुरा नमिल्ने, एक पक्षले अर्कोलाई दबाउन खोज्ने जस्ता यावत घटनाक्रमको अन्तिम बिन्दु सम्बन्ध विच्छेद नै हुने गरेको छ । यसर्थ सम्बन्ध विछेच्द हुने अवस्थाहरू फरक–फरक छन् ।

समयक्रमसँगै कुरा सम्बन्ध विच्छेदमा मात्रै सीमित भएन, विच्छेदपछिको सम्बन्ध पनि जोडिन सक्ने सम्भावनाहरू आउँदोरहेछ । तर यस्तो प्रकारको सम्बन्ध बहुत कममा देख्न सकिन्छ । त्यसमध्ये माथिका दुई उदाहरण हुन् । यस्तो घटना हामीलाई नयाँ लाग्न सक्छ जुन तपाईं–हाम्रो कल्पनामा सामान्यतया आउँदैन । प्रस्तुत दुई घटनाबाट पनि प्रष्ट हुन्छ कि विच्छेदपछिको सम्बन्ध जोडिन सक्छ ! कागजी रूपमा सम्बन्ध विच्छेद भए तापनि मन त विच्छेद नहुँदोरहेछ । यहाँ बच्चाहरूको कारण या क्षणिक आवेशमा आएर सम्बन्ध विच्छेदको निर्णय लिन पुगेका जोडी फेरि पनि मिल्न सक्ने सम्भावना रहन्छ । हाम्रो कानूनमा सन्तान बालिग नहुँदासम्म आमाको जिम्मामा हुने र बालिग भएपश्चात उसले आफ्नो निर्णय लिन सक्ने जस्ता प्रावधान छ ।

सम्बन्ध विच्छेद पति–पत्नीको अन्तिम कानूनी लडाइँ हो । यो अन्तिम लडाइँपछि पति आफ्नो जीवन यापन गर्छन् भने पत्नी आफ्नै जीवन यापन गर्न स्वतन्त्र हुन्छिन् । यो अन्तिम बिन्दुसम्म आइपुग्न केही न केही समस्या दुवैमा हुन्छ । आधुनिक समाजमा सम्बन्ध विच्छेदको घटना पनि अनेकन तरिकाका देखिरहेका छौँ हामी ।

कानूनी व्यवस्था

सम्बन्ध विच्छेदको व्यवस्था कानूनले गरेको छ । अझ समयक्रमअनुसारको सम्बन्ध विच्छेदको हकमा नयाँ–नयाँ प्रकारको कानूनी व्यवस्था आइरहेको छ । मूलुकी देवानी संहिता २०७४ को दफा ९४ ले पतिले सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू र दफा ९५ ले पत्नीले सम्बन्ध विच्छेद माग्न सक्ने आधारहरू भनेर उल्लेख गरेको छ । यस हकमा पुरुषले सम्बन्ध विच्छेद गर्न चाहे भने सिधै अदालत जान सक्ने व्यवस्था गरेको छ । मुलुकी संहिता आउनुपूर्व पुरुषको हकमा वडा कार्यालय गाउँपालिका हुँदै अदालतसम्म आउने व्यवस्था थियो । कानून सबैलाई समान हुन्छ भन्ने आशयले पनि पुरुषको हकमा यस्तो व्यवस्था भएको हो ।

सम्बन्ध विच्छेद भएका पतिपत्नीले फेरि एकअर्कासँग सम्बन्ध जोड्न खोजे कानूनी प्रावधान के छ त ? भन्ने प्रश्नमा सर्वोच्च अदालतकी अधिवक्ता तारा खनाल भन्नुहुन्छ– ‘हाम्रो कानूनले सम्बन्ध विच्छेदको व्यवस्था त गऱ्यो तर सम्बन्ध विच्छेद भएकै व्यक्तिसँग पुनः सम्बन्ध जोड्न सक्ने कानूनी व्यवस्था भने केही पनि गरेको छैन । तर मुलुकी देवानी संहिता लागू भएपछि पतिपत्नीले सम्बन्ध विच्छेद गर्न चाहे भने फिरादपत्र दिएको एक वर्षसम्म उनीहरूलाई मिल्नको लागि मौका दिएको छ ।’ उहाँ अगाडि भन्नुहुन्छ– ‘फिरादपत्र दिएपछि अदालतले ती पतिपत्नीलाई एक वर्षसम्म ‘अब्जर्भ’मा राख्छ, यो भनेको मिल्न सक्ने सम्भावना छ कि भन्न खोजिएको हो । यदि एक वर्षमा दुवै जना मिले भने राम्रो भयो मिलेन भने सम्बन्ध विच्छेदकै मुद्दामा जानुपर्छ ।’

एक पटक सम्बन्ध विच्छेद भैसकेका पतिपत्नी पुनः सम्बन्ध गाँस्न चाहे भने के गर्ने त भन्ने प्रश्नमा अधिवक्ता तारा खनाल भन्नुहुन्छ– विच्छेदपछि पनि सम्बन्ध हुन सक्ने आधारहरू धेरै छन् । कहीँ बालबच्चाको कारणले गर्दा पनि पुनर्सम्बन्ध गाँसिन पुग्छ त कतिपय अवस्थामा क्षणिक आवेशको घटना बिर्सिएर पुनः माया फर्कन सक्ने स्थिति धेरैको हुन्छ । तर विच्छेदपछि उहि व्यक्तिसँग सम्बन्ध जोड्न विवाह दर्ता प्रमाणपत्र पाउन कठिन नै हुन्छ ।’

हुन त कानूनले विच्छेद गराउने मात्रै होइन जोड्ने काम पनि गर्छ । तर, सम्बन्ध विच्छेदको बदलिँदो स्वरुप र विच्छेदपछि पनि सम्बन्ध हुन सक्छ है भन्ने अनुमानको आधारमा पनि कानूनमा व्यवस्था हुन आवश्यक देखिन्छ ।

(रसना ढकालले केहि महिना अगाडी लेखेको यो लेख घटना र बिचारमा छापिएको थियो हामीले त्यसैलाई साभार गरेका हौ)

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार