मेरी आमा र तिज
“भदौरे भेलले सकेन छेक्न, जन्मेको माटोेमा चेलीलाई टेक्न…..”, जितको रौैनक सुरु भएसँगै गाउँ देखि शहरसम्म गुञ्जिने गीत हो यो । नेपाली सांगीतिक क्षेत्रमा तिज पर्व विशेष धेरै गीतहरु आए तर कुनै गीतले पनि यो गीतको स्थान भने लिन सकेका छैनन् । यहीँबाट अनुमान लगाउन सकिन्छ यो गीतको लोकप्रियता कती छ भनेर । लाग्छ यो गीत नै तिजको अर्को नाम हो, अझ भनौँ यो गीत विना तिज पर्व नै अधुरो लाग्छ । गीतका हरेक शब्दले नेपाली दिदी बहिनीको कथा व्यथा बोकेको छ त्यसैले पनि होला संंगीत तथा कला क्षेत्रलाई समाजको ऐना भन्ने गरिएको । हुन सक्छ अहिलेको समाज र परिवेशमा यो गीत सुहाउँदैन मिल्दोेजुल्दो छैन , तर आजपनि हाम्रो आँखाले नदेखेका र दिमागले नसोचेका यस्ता कथा छन् जो चाडपर्व विशेष गीतसँग मेल खान्छ नेपालमा यस्ता थुप्रै नदि नाला छन् जहाँ पुल बनिएकको छैन, र त्यहाँका चेलीहरु माइत जान बाट बञ्चित छन् । तीज र यो गीत भन्ने वितिकै मलाई मेरी आमालाई सम्झन्छु ।

पुख्र्र्यौली घर पाँचथरमा २०४४ सालमा विवाह गर्दा १६ पुगेर १७ मात्रै लाग्नुभएको थियो रे मेरी आमा । विवाह गरेको नयाँ साल आमाकी सानी आमा (मेरी हजुरआमा) लिन आएको र माइत गएको देखि यता खासै खासै तिजमा दर खान माइत गएको संझना छैन आमालाई । बरु माइत जान हातमा चप्पल र पिठ्युँमा मलाई बोकेर झरीमा प्लास्टिकको घुम ओढेर ति धमिला आधा दर्जन खोला तर्दै गरेको धमिलो दृष्य मेरा आँखामा घुमिरहन्छ अझै, आमालाई कहिले भदौरे झरीसँँगै बाढी आएका खोलाले तिजमा माइत जान दिएन त कहिले जिम्मेवारीले जान दिएन, पहाडका वर्खामास बाढी आउने पुल नभएका खोलाहरुले माइत जान भनेर हिँडेका चेलीहरुलाई बगायो रे भनेको सुन्दा र सम्झँदा जिउ नै सिरिङ्ग भएर आउँथ्यो रे, कतै कतै फड्के (खोला तर्न बाँस तेस्र्याएर बनाइएका पुल) हुने भएपनि धेरै जोखिम हुने भएकाले त्यसबाट तर्ने आँट आउँदैन थियो रे, आमा भन्नुहुन्छ आफ्ना तीन तीन जाना भाइहरु त थिए तर स साना भएकाले लिन आउन नै सक्दैन थिए । ठूला भएपछि चैँ तीज मै नभएपनि अरु बेला भााइहरु लिन पुर्याउन आउने जाने गरेको बताउनुहुन्छ आमा । अहिले आमा सम्झनुहुन्छ अब त ति खोला नालामा कमसेकम मान्छे तर्न सक्ने पुलहरु बने होलान् । अब त त्यहाँका चेली माइत जाँदा ति धमिला खोलासँग डराउनु पदैन होला, कसैका चेलीलाई खोलाले बगाउँदैन होला ।

मेरी आमाको पुख्र्यौली गाउँमा त पुल बने होला, तर देशमा तुइनमा झुण्डिएर खोला तर्नु पर्ने समस्या अझै विकराल छन् । तुइनमा झुण्डिएर खोला तर्ने क्रममा भारतीय सिपाहीले डोरी काटिदिएर एक व्यक्ति खोलामा वेपत्ता भएको घटना त सबैको मानस्पटलमा ताजा नै छ । अहिलेको समाज परिर्वतनशिल छ । समाजको परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिनु हुँदैन संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ । समयले काँचुली फेर्यो, मान्छे परिवर्तन भए, सोचाइ परिवर्तन भयो सँगसँगै हाम्रा चाडपर्व मनाउने तरिका पनि परिवर्तन हुँदै आए, चाडपर्वमा गाइने नाच्ने गीत परिवर्तन भए तर यो परिवर्तनले नेपाली चाड पर्वको मौलिकतालाई समेट्न छोड्यो । मौलिकता र बुढापाकाको एक भिन्न सम्बन्ध छ । समयसँगै परिवर्तन भएका चाडपर्व मनाउने तरिकाले हाम्रा आमा हजुरआमाको खुसीलाई समेट्न छोडेको छ । हामीले तिज के हो उहाँहरुबाट थाहा पायौँ, मनाउन उहाँहरुबाट सिक्यौँ तर उहाँहरुलाई भुल्यौँ , आमा हजुरआमा आजपनि आफ्नै संस्कृति अनुसार चाड पर्व मनाउन चाहान्छन् । तीज हामीले बनाएको हैन, हाम्रा पुर्खाहरुबाट नै हस्तान्तरण हुँदै आएको हो, तर हामीले अहिले तिज मनाउने तरिकाले भदौरे भेलको कथा व्यथा बोकेर बाँचेका आमा हजुरआमाहरुको चाडपर्व प्रतिको रौनकलाई विर्साउन थालेको छ । हाम्रो परिवर्तीत तरिकाले पुर्खाहरुमा चाडपर्व प्रति नैराश्यता ल्याएको गुनासो सुनिने गरेको छ । हामीले अंगालेको चाडपर्व मनाउने तरिकाले उनीहरुमा चाडपर्व प्रति नैरास्यता त ल्याएको छैन ? यो विषय अहिले गम्भिर बनेको छ ।

चाड पर्व संस्कृती भनेका एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने कुरा हुन् । यदी हामीले नै हाम्रा आमा हजुरआमा बाट तीज मनाउने तरिका जान्न बुझ्न सकेनौँ भने तेस्रो पुस्ताले त झन् चाडपर्वलाई कुन तरिकाले हेर्लान् ? अचेल भन्ने गरिन्छ तिजमा विक्रिती आएको छ । हुने खाने महिलाहरु महंगा सारी गहना लगाएर तीजमा सजिने गर्छन । त्यसले तीज भनेको गहना देखाउने चाड पो होकि जस्तो देखिन्छ । तर नहुनेहरुका लागि एउटा सामान्य नयाँ लुगा लगाउन पनि धौ धौ हुन्छ । यस्ता विक्रितीले नहुने महिलाहरुको मनमा एउटा नैराश्यता पैदा गर्छ त्यसैले आफ्नो औकात मात्र होइन समाजको पनि औकत हेरेर चाड पर्व मनाउनुपर्छ । हामी सबै वर्गलाई समेट्ने गरी तिज मनाउँ न, जहाँ हुने खानेको भिडमा हुँदा खाने पनि निर्धक्क भएर उभिन सकोस् । नारीहरुको स्वतन्त्रताको पर्व भनेर चिनिने तिज, मौलिकता हराएको पर्वको रुपमा नचिनियोस यसमा सबै सजग हुन आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर