देवकी विष्ट-  हो, म गइनँ पशुपति आर्यघाटमा आँशु चुहाउन । उनको मरेको लासमा माल्यापर्ण गर्न । कति मलामी गएका थिए भनेर श्रीमती ममतालाई सुनाउनु पनि थिएन । उनको मृत शरीर हेर्दै बिचरा धेरै राम्रा पत्रकार थिए भनेर सुनाउन पनि गइनँ । किनभने बाचुञ्जेल उनको छटपटी नदेख्ने, नसुन्ने मरेपछि केही व्यहोर्नु पर्दैन भन्ने सत्य मैले आत्मसाथ गर्न सकिनँ । सधैँलाई निदाएको कर्णका सामू जे भन्दापनि हुन्छ भनेर म प्रस्तुत हुन सकिनँ । मैले बाचुञ्जेल उनका लागि थोरै भएपनि आर्थिक सहयोग गर्न सकिनँ । मरेपछि कर्ण बोहोरा दाइको मृत शरीरलाई हात जोड्ने आँट आएन । त्यो भन्दा ठूलो ममता भाउजुको छटपटी हेर्ने साहास मसँग रहेन ।

मैले भेनस अस्पतालमा ममता भाउजु (कर्ण बोहोराको श्रीमती) हुनुहुन्छ भन्ने सुनेकी थिएँ । ममता भाउजुलाई प्रत्यक्ष भेटेकी थिइनँ । उनका नाममा कर्ण दाइले फेसबुकमा बिरह पोखेको देखेकी थिएँ । पत्रकारको काम पनि नदेखिने, फुर्सद पनि नहुने । जान्छु भन्दा भन्दै जान पाइनँ, म जाँदा कर्ण दाइ सदाका लागि गइसकेका थिए । कर्ण बोहोरा जिवित रहँदा जाने प्रयास गर्दा पनि भेट्न जान सकिनँ ।

कर्णकी आमाले आर्यघाटमा छोराको शव हेरिरहेको यो तस्विर राजेश राईको फेसबुकबाट लिइएको हो ।कर्णकी आमाले आर्यघाटमा छोराको शव हेरिरहेको यो तस्विर राजेश राईको फेसबुकबाट लिइएको हो ।

२०७३ साल मंसिर ११ गते बिहान ६ बजे शिक्षण अस्पतलाको लाश घरमा पुगे‌ । कोही देखिनँ । कर्ण बोहोरा दाइको मृत शरीरलाई अघिल्लो रातदेखि लाश घरले कुरीरहेको थियो । दुबै मृगौला काम नलाग्ने भएकी पत्नी ममता भेनसको ४०१ नम्बर बेडमा कर्ण आउने बाटो हेरिरहेकी थिइन् । कर्णलाई शिक्षण अस्पतालकै मुर्दाघरमा छाडेर भेनसतर्फ हानिएँ ।

कर्ण दाइले फेसबुकवालमा राखेका तस्बिर भाउजुलाई चिनाउन काफी थिए । भाउजुलाई देख्दा बित्तिकै अक्क न बक्क भएँ । भतिजा सुमनसँगै थिए । रेणु (कर्ण र ममताको साथी) थिइन् । अपरिचित म कसरी त्यहाँ आइपुगेँ ? उनीहरु छक्क परे । मैले भने ‘दाइले बताउनु भएको थियो हिजो ।’ ममता भाउजुले टुलुटुलु मेरो मुहारमा हेरिन् । म टिचिङबाट आएको सुनाएँ । कर्ण दाइ बितेको कुरा वहाँलाइ थाहा थिएन । उनले राहतको सास फेरिन । मतिर हेरेर मन्द मुस्कान फर्काइन् ।

परिचय भएपछि ममता भाउजुले कुरा गर्न थालिन् । रेणुसँग कुरा भयो । मृत्युको खवर सुनेर भेनसमा आउनेहरुको क्रम बढिरहेको थियो । तर उनीहरु कर्णको (स्वास्थ्य) अवस्थाका बारेमा बताउँदै फर्कदै गरिरहेका थिए । ममता भाउजुको दिदी–दाइ खटिमा देखी काठमाडांै आउदै थिए । फोनमा उनीहरु रेणुलाइ आग्रह गरिहेका थिए, ‘हामी आउञ्जेल ममतालाइ बचाइदेउ । हामी लग्छौ बहिनीलाई ।’ फोनको घण्टी बज्यो कि ममता हामीतिर हेर्थिन र भन्थिन ‘वहाँ(कर्ण) कतिखेर आउनु हुन्छ ?’

नयाँ आउने मान्छेलाई हामी बाहिरै रोक्थ्यौँ । किनभने ममतासँग कर्ण दाइलाई शिक्षण अस्पतालको लाश घरमा होइन, आइसियूमा राखेको छ भनेका थियौँ । अस्पतालमा आएर आशु चुहाउनेलाई बाहिर रोकेर रेणु र म ‘यस्तो भन्नु’ भनेर सिकाउथ्यौँ । धेरैलाई त भेट्न नजान पनि आग्रह गर्यौँ । ममता प्रिय कर्णलाइ खोजीरहेकी थिइन् । सोधिरहेकी थिइन् । उनको मनको ढुकढुकी बढीरहेको थियो । रेणु बाहिर जाँदै आँशु पुछ्दै भित्र आएर भाउजुलाई सम्झाउँदै थिइन् ।

कर्णले बिहानै चिया लिएर आउने गरेको भाउजुले सुनाइन् । सायद, कर्ण त्यसैगरी चिया लिएर आउने आशामा भाउजु थिइन् । म भेनस अस्पतालको क्यान्टीनमा चिया लिन गएँ । क्यान्टीनको दिदीलाइ भने ‘दिदी ४०१ नम्बर कोठामा ल्याइदिनुस् है चिया ।’ उनले ‘ए ममता आन्टीको हो ?’ भनेर सोधिन् । मैले हो भने ।

उनी एकाएक भावुक भइन् । एकाएक फुङ्ग उढ्यो उनको मुहार । उनले बेलिबिस्तार लगाइन्, ‘बहिनी के गर्नु ? हिजो बिहानै ८ बजे आउनु भाथ्यो । हाँस्दै । दिदी चिया ल्याउनुस् मेरो ममतालाई । सधै झै हँसिलो मुहार लिएर आउनुभाथ्यो । दिउँसो बित्नु भो भनेर सुने । विश्वास लारिहेको छैन । अब आउनु हुन्छ । जस्तो लाग्दैछ ।’ मैले सोधँ ‘कर्णदाइले के के दिनु हुन्थ्यो, ममता भाउजुलाई ?’ ‘सधँ मइरी भात (चामलमा मही राखेर) बनाइदेउ मेरो ममतालाइ भन्नु हुन्थ्यो । चिया लानु हुन्थ्यो । आज आउनु भएन बहिनी । अनि मैले चिया लगेर आफै तल गए । ’ ममता भाउजुप्रति क्यान्टिनवाली दिदीको सहानुभुति बेग्लै थियो ।

ममता भाउजुले अक्सीजन लगाइरहनु भएको थियो । चिया र ३ टुक्रा विस्कुट खानु भो । औषधी पनि खानु भो । ‘थाहा छ, यो औैषधीले पिसाव लाग्छ । मेरो औषधी सबै वहाँलाई थाहा छ । कहाँ जानु भो आउनुपर्ने होइन र ? अहिले सम्म सन्चो हुनुपर्ने हो ।’ भाउजुले कुरुवाका रुपमा कर्ण नै चाहिरहेको बुझ्न गाह्रो थिएन । रेणुले भाउजुको कुरा मोडिदिइन्, ‘ भाउजु हामी दिँउसो अस्पताल दाइलाई भेट्न जाने है । ’ उनले ‘हुन्छ’ जनाउन मुन्टो हल्लाइन् ।

ममता भाउजुलाई दाइले के कपडा लगाएका छन् भन्ने चिन्ता थियो । कर्णले कपडा दराजमै राखेका रहेछन् । भाउजुलाई निकालेर दिएँ । भाउजुले कपडा यसरी मुसार्नु भयो कि कर्ण दाइ छेउमा हुनुहुन्छ र भाउजुले कपाल मुसारिदिएपछि आनन्द मानिरहनु भएको छ ।

भाउजुले पसल खुले नखुलेको हेर्न भनिन् । शनिबारको विहान भएकाले बाहिर सुनसानप्राय थियो । भाउजुलाई खैरो ज्याकेट किन्न मन रहेछ । कर्ण दाइले लगाएको लुगा फोहोर भइसकेकाले फेर्न भन्नुछ भन्दै थिइन् । ‘वहाँ (कर्ण) आएपछि जानुपर्छ । हात सुन्निएर लुगा छिर्दैनन् । काठमाडौँ जाडो छ, नकिनी भएन ।’ भाउजु योजना र व्यथा सुनाउँदै थिइन् । परिस्थिति विल्कुल फरक भएको बारेमा बेखबर भाउजुका साना साना योजना हाम्रा लागि मुटु थिच्ने ढुंगा बनिरहेका थिए ।

उनले कर्णदाइले खाने सुर्ती समेत लुकाएर आफ्नो सिरानी मुनी राखेकी थिइन् । आफु बिरामी हुँदा पनि दाइको ख्याल राख्न उत्तीकै सजक थिइन् । उनीसँग जोडीएका सबै आफ्नो वरपर राखेकी थिइन् । म जति पटक क्यान्टिन गएँ उती पटक क्यान्टीनकी दिदी विरह पोखिरहन्थिन् ‘कस्तो हसिलो मान्छे । आफु खाना नखाने । पैसा थिएन तर पनि अरुलाई खुवाउँदै आफ्नो खातामा लेख्नुस् भन्ने । दिदी बाचुञ्न्जेल त खाने हो भन्थे । ’ फर्कदा भाउजुका आँखा रसाइरहेका थिए । उनी कर्णका कण कण खोजिरहेकी थिइन् । पीडा लुकाएर हामीसँग संवाद गरेपनि उनी हामीसँग थिइनन् ।

डाक्टर राउण्डमा चेक गर्न आए । उनले सोधिन् ‘मेरो स्वामीलाइ कहाँ राखेछ डाक्टर ? मलाइ भेट्न दिनुस न ।’ डाक्टर बोल्न नपाउँदै हामीले भन्यौँ, टिचिङको आइशियुमा राखेको छ । दिउँसो भेट्न जाने ।’ हाम्रो झूटो बोलिको उनीहरुले खण्डन गरेनन् ।

ममता घरीघरी महेन्द्रनगरको घरव्यवहार सम्झन्थिन् । महेन्द्रनगरमा रहेको एफएमको पनि ट्रान्समिटर उड्यो भन्दै थिइन् । ‘एफएम बन्द भयो । केही पैसा लगेकाले पनि दिएनन् । एफएमको भाडा पनि तिर्नु छ । म राम्रो भएपछि सबैको व्यवस्था मिलाउछु । यिनलाइ((कर्ण)लाई धेरै चिन्ता भयो । अब हामी दिल्ली जाने हो । मृर्गौला राख्न । आज डिस्चार्ज हुन्छु । उनी कतिखेर आँउछन् ?’ उनी एकतमासले बोलिरहिन् ।
फोनमा घण्टी बजीरहेको थियो । कर्ण दाइकी आमा ७३ वर्षकी छिन् । ममतालाई भेट्न सासु र दिदी, दाइ आउन लागेको भनिएको थियो । ‘आमालाई बसमा बान्ता हुन्छ । कसरी आउनुहोला ?’ उनले सासूप्रति चिन्ता दर्शाइन् । ‘यो अस्पतालको पैसा तिर्न ५० हजार जति बाँकी छ । महेन्द्रनगरबाट ३० हजार पठादिन्छु भन्यो, अहिलेसम्म पठाइ दिएन ।’ उनलाई सुर्ता कर्ण र ऋणको थियो ।

त्यत्तिकैमा मोवाइलमा घण्टी बज्यो । रेणुले समातिन् । बाहिर गइन् । ‘कतिखेर दाहसंस्कार गर्छन् ?’ रेणुलाई सोधिएछ । फोन मन्त्रीको पिएको थियो । रेणु केहीबेरको संवाद सकेर खुशी भएझैँ भित्र आइन् । ‘मन्त्रीज्यू अस्पताल आउन खोज्नु भाछ ।’ रेणुले कलात्मक नाटक रचिन् ।

उनीसँग नत मेरो नत रेणुको नै कुनै साइनो छ । सायद मेरोजस्तै रेणुको पनि उनीप्रति उस्तै सम्मान छ । आफ्ना हजार पिडा लुकाएर कर्ण सबैका प्रिय बनिरहे । आफ्नी ममताको ममता मुटुमा सजाएर बसीरहे । उनले टेलीभिजनबाट कैयौँ पीडितहरुको लागि सहयोग पनि जुटाइदिए । तर उनको पीडालाई सहयोग जुटाउने को भए ? मनमा निकै घात परिरह्यो । मेरो त्यो आर्दश दाइलाई मैले कहिल्यै सघाउन सकिनँ, अब म रोएर के हुन्छ ? मन अमिलो भएर आयो । उनका दुनियाँ मित्र थिए । उनी मरेपछि फेसबुकका वालमा उनको हसिलो तस्बिर राखेर श्रद्धान्जली व्यक्त गर्ने सयौँ देखिए । तर, कर्ण दाइ एक्लै रक्सी खाएर पीडासँग संवाद गर्थे । आज सहानुभुति देखाउने हामीहरुले हिजो नै केही सक्रियता देखाएको भए कर्ण मृत्युको मुखमा सायदै पुग्थे ।

पत्रकार बाचुञ्जेल र काम गरुन्ञ्जेल सबैले तिमी नै हो भन्छन् । जव उसलाइ पर्छ, सबै पछि सर्छन् । मलामीमा पुगेका हातहरु र समाजिक संजालमा कण बोहोराका लागि पोखिएका विरहमा लाइक र कमेन्ट गर्नेहरुले उनी जिउँदै छँदा सहयोगी हात बढाएको भए, विषय आज जे थियो त्यो हुँदैनथ्यो ।

कर्ण पटक पटक सामाजिक संजालमा विरह पोखिरहेका हुन्थे । सायदै कसैले त्यो अलाप बुझ्न सक्यो । ११ दिनसम्म उनले ममताका लागि मात्र खाना अर्डर गरे । क्यान्टिनकी दिदीका अनुसार सायदै उनले अन्न खाए ।

सुदूरपश्चिमबाट प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सभासद् धेरै भए । उनी पनि चौतारी हुँदै महासंघ सम्म पुगे । मन्त्री, सभासद्, पत्रकार कर्ण बोहोराको मृत शरीरमा माल्याअपर्ण गर्न ओइरिए । तर, मलामी मध्ये बाचुन्जेल कर्णलाई सहयोग गर्ने सायदै कोही थियो । धन्न मलामीसम्म गइदिए । जिउँदो छँदा गरेको सहयोग कस्ले देख्छ र ? मरेपछिको माल्र्यापण टिभीबाट दुनियाँले देख्छ । हे दैब !

कर्णको मृत्युको कारण खोजिदैछ । पोष्टमार्टम पनि गरियो । कारण स्पष्ट छः उनको मृत्यु आर्थिक अभाव र त्यसले पारेको प्रभाव हो । उनी नेता र कर्मचारी भएको भए फाइल सिंहदरबार पुग्थ्यो र लाखौँ बजेट रातारात छुट्टाइन्थ्यो । उनी भन्नलाई राज्यको चौथो अंग थिए तर राज्यसँग जोडिएका थिएनन् । फलतः उनले एकपछि अर्को वियोग खेप्दापनि सुको सहयोग भएन । केही पत्रकारले व्यक्तिगत तवरमा केही सहयोग गर्न नखोजेका होइनन्, तर प्रयाप्त भएन ।

कर्ण मृगौला प्रत्यारोपणका लागि भाउजुलाई दिल्ली लैजान लागेको भनेर धेरैलाई फोनमा सुनाउँथे । सायद, उनी सहयोगको अपेक्षा गरिरहेका थिए । उनी भाउजुलाई हरहालतमा बचाउन चाहन्थे । तर, उपाय देखिरहेका थिएनन् । मृगौला प्रत्यारोपणपछिको सुनौैलो भविश्यका बारेमा ममतासँग कल्पिएपनि उनीसँग सामाथ्र्य थिएन । मृगौला प्रत्यारोपण त के क्यान्टीनको २ हजारसमेत तिर्ने सामाथ्र्य उनीसँग थिएन । भेनसको ५० हजार बिल त परको कुरा । सायद यही सोच्दा सोच्दै उनी मृत्युसँग साक्षात्कार गर्ने अवस्थामा पुगे ।

शब लगेर शिक्षण अस्पताल राखिएको थियो । ममता भाउजुलाई आइसियु भनिएको थियो । दाइ भाउजुको उपचार शिक्षण मै गर्ने भनेर भेनसबाट डिष्चार्ज गर्ने बेलासम्म पुग्दा कर्ण दाइको कारुणिक कथा छरपष्ट भइरहेको थियो । ‘क्यान्टिनको २ हजार कस्ले तिर्ने ?’ कोही अघि सरेको थिएन ।

अस्पतालमा ममता भाउजुको त्यो परिस्थिति देखेपछि मलाई आर्यघाट जान मन लागेन । गइनँ । मनमा लागि रहेको छ, कोही त छ सहयोगका लागि तयार हुने जो कर्णको आत्मा खुशी पार्न तयार हुने । ममता भाउजुलाई बचाउन सकियो भने विरहको श्रृखंला रोकिने थियो । उठौँ न ।

(काठमाडौंमा पत्रकारिता गर्ने देवकी विष्ट कञ्चनपुरकी हुन् । मृतक कर्ण बोहोरा कञ्चनपुरमा रहेर पत्रकारिता गर्दथे।)

नेपालआज बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय